काठमाडौं। धवलागिरीको सफल आरोहणपछि पूर्णिका श्रेष्ठले विश्वको तेस्रो अग्लो तथा ८,५८६ मिटर अग्लो कञ्चनजंगा हिमालको आरोहण गर्ने भएकी छन् । फोटो पत्रकारसमेत रहेकी उनले यही वसन्त ऋतुमा कञ्चनजंगा हिमालको आरोहण गर्न लागेकी हुन् ।
विश्वको सातौं अग्लो तथा ८,१६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलो पटक नेपाली महिला पासाङ ल्हामू शेर्पा, अकितासँगै पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेका छन् । श्रेष्ठका अनुसार यही अप्रिल ७ तारिख पैदलमार्ग भएर कञ्चनजङ्घाको आरोहण गर्ने जानकारी दिइन् ।
कञ्चनजङ्घा हिमाल आरोहण गर्ने मेरो सपना पूरा भएको थिएन भन्दै उनले भनिन्, ‘जब एउटा आठ हजारभन्दा माथिका हिमाल आरोहण गछौं, त्यसपछि अर्को आठ हजार मिटरभन्दा अग्लो अर्को हिमाल आरोहण गर्ने उर्जा मिल्ने रहेछ ।’
अन्नपूर्ण र धवलागिरीको सफलतापूर्वक आरोहणपछि आफू अहिले विश्वको तेस्रो अग्लो हिमाल ८,५८६ मिटरको लागि तयारीमा रहेको भन्दै श्रेष्ठले भनिन, ‘म शारीरिक र मानसिक रूपमा तयार छु ।’
उनले आर्थिकरुपमा अप्ठ्यारो नै रहे पनि आफूले हिम्मत नहारेको बताइन् । श्रेष्ठले भनिन, ‘म अझै प्रायोजकहरू खोज्दै छु । मलाई यो पनि थाहा छ आर्थिकरुपमा समस्या भए पनि मैले देखेको सपनाबाट रोक्न सक्दैन् ।’ उनले अझै आफूले नेपालमा रहेका आरोहण गर्न बाँकी हिमाल दुई हिमाल मकालु र ल्होत्से पनि आरोहणको योजनामा रहेको बताइन् । तर त्यसअघि कञ्चनजंघा मिसन जारी रहेको श्रेष्ठले बताइन्।
उनले थपिन, ‘सपना पूरा गर्न कुनै पनि कुराले रोकिदैन। हिमालप्रति मेरो माया, सम्मान र समर्पण यति ठूलो छ जुन म आफ्नो सतप्रतिशत आरोहणका लागि दिन तयार छु । गोरखा आरुघाट निवासी श्रेष्ठले यसअघि गत असोज १५ मा धवलागिरि हिमालको आरोहण गरेकी थिइन्।
उनले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा अमादब्लम हिमाल, २०२१ मा धवलागिरि, अन्नपूर्ण पनि आरोहण गरेकी थिइन् ।