म मन्त्री हुनुअघि घाम तापेर बसेका जहाज अहिले आकाशमा उड्न थालेका छन्ः मन्त्री आले

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आफू मन्त्री हुनुअघि घाम तापेर बसेका जहाजहरु अहिले आकाशमा उड्न थालेको तर्क गरेका छन् । बुधबार ट्रेकिङ एजेन्सीहरुको संस्था नाट्टाको कार्यक्रममा उनले त्यस्तो तर्क गरेका हुन् । 

आलेले भने, ‘म मन्त्री हुनुभन्दा पहिले घाम तापेर बसेका जहाजलाई अहिले आकाशमा उडाउने काम गरको छु, नागरिकलाई सेवा दिनु मेरो कर्तव्य हो ।’ आफूले मन्त्रालय सम्हालेदेखि ग्राउन्डेड भएर बसेका जहाजहरुलाई अधिकतम समय आकाशमा उडाउने काम भएको उनको भनाई छ । 

Advertisement

उनले अब नयाँ दिल्लीमा नेपाल वायुसेवा निगमको हरेक दिन दुईवटा उडान हुने जानकारी दिए । दिल्लीमा यसअघि दिनमा एउटा मात्रै उडान हुँदै आएको थियो । 

बैंककमा हप्तामा दुई वटा र साउदी अरेबियाको रियादमा हप्तामा तिनवटा उडान भर्ने गरी अगाडी बढेको जानकारी दिँदै आलेले मार्च २१ गतेदेखि मुम्बईमा हप्ताको तीन वटा र मार्च २५ देखि बैङ्लोरमा पनि हप्तामा तीन वटा उडान भरिएको बताए । 

आलेले भने, ‘हामीले २१ मार्च देखि मुम्बईमा ३ वटा उडान हप्तामा हामी गर्दैछौँ नेपाल एयरलाइन्सको जहाजले । त्यस्तै २५ मार्च देखि हामी बैङ्लोरमा हप्तामा ३ वटा फ्लाइट हामी गर्दैछौँ । १ अप्रिलबाट जापानको नारितामा दुईवटा उडान भर्दैछौँ । दिल्लीमा हरेक दिन दुईवटा फ्लाइट हुनेगरी हामी हप्तामा १४ वटा फ्लाइट गर्दैछौँ । त्यस्तै बैंकक हप्तामा दुईवटा गर्दैछौँ । अनि दुबई, दोहा, हङकङ नियमित उडान भइरहेको छ । म यहाँहरुलाई जानकारी गराउन चाहान्छु । र यही १५ अप्रिल साउदी अरेबियाको रियादमा पनि हप्तामा तिनवटा उडान भर्नेगरी हामी अगाडी बढाउँदै छौँ ।’

पहिले ४ देखि ५ घण्टा उडान भर्ने जहाजले हाल १० देखि १३ घण्टासम्म उडान भर्ने गरेको बताउँदै उनले खतरायुक्त सामग्रीहरु ल्याउने सर्टिफिकेट पनि नेपाल एयरलाइन्सले प्राप्त गरेको बताए ।  

आलेले थपे, ‘जहाजहरु अहिले ग्राउन्डेड होइन अधिकतम समय आकाशमा उडाउने कामहरु भएको छ । विगतमा नेपाल एयरलाइन्सका जहाजलाई घाममा सुकाउने अवस्थामा थियो । तर अहिले अधिकांश पहिला ४ देखि ५ घण्टा उडान गर्ने जहाज अहिले करिब १० देखि १३ घण्टा हामीले उडाइ राखेका छौँ । ६३ वर्षको इतिहासमा डेन्जरस् गुड क्यारी गर्ने सर्टिफिकेट नेपाल एयरलाइन्सले प्राप्त गरेको छ । वायुसेवा निगमले विश्वका १४ वटा अन्तर्राष्ट्रिय एयरलाइन्ससित एसपीएबाट संसारको ३१ वटा प्रसिद्ध शहरहरुमा नेपाल वायु सेवा निगमका टिकटहरुबाट यात्रुहरुको उडान सकिने व्यवस्था मिलाएको कुरा पनि म यहाँहरुलाई जानकारी गराउन चाहान्छु ।’

Advertisement

Advertisement