काठमाडौं। कतारकी राजकुमारी आस्मा अल थानीले अन्टार्टिकाको साउथपोलमा अवस्थित सबैभन्दा अग्लो विन्सन हिमाल (४,८९२ मिटर)को सफल आरोहण गरी सगरमाथा आरोहणको लागि नेपाल आएकी छन् ।
उनले अबको केही दिनमा एभरेस्ट बेस क्याम्प जाने तयारी गरेकी छन् । थानीले विन्सन हिमालपछि सगरमाथा आरोहण गर्न लागेको जानकारी दिँदै कीर्तिमानी आरोही मिङ्मा डेविड शेर्पाले केही दिनमा बेसक्यापतर्फ प्रस्थान गर्ने बताए ।
यदि उनको आरोहण सफल भए सगरमाथाको सफल आरोहण गर्ने उनी पहिलो कतारी महिला बन्नेछिन् । थानी विन्सन हिमाल आरोहण गर्ने अरबी पहिलो महिला पनि बनेकी छन् । थानीले यसअघि नेपालको अमा दब्लम, धौलागिरी र गत अक्टोबर २७ तारिख बिहान साढे १० बजे बिना अक्सिजन मनास्लु हिमालको सफल आरोहण गरिसकेकी छन् । उनलाई यी हिमाल चढ्न नेपालका कीर्तिमानी आरोही निर्मल पुर्जाले गाइड गरेका थिए ।
‘एक्स्प्लोरर्स ग्रान्ड स्लाम’ पूरा गर्ने पहिलो कतारी महिला बन्ने यात्रामा रहेकी राजकुमारी थानीले त्यसका लागि संसारका सात उच्च शिखरको आरोहण तथा उत्तर र दक्षिण ध्रुवमा पुग्ने लक्ष्य राखेकी छन् । सगरमाथा आरोहणमा पनि पुर्जाले उनलाई साथ दिँदैछन् ।
सन् २०२१ को वसन्तमा सगरमाथा आरोहणमा आएकी थानी क्याम्प २ सम्म पुगे पनि खराब मौसमका कारण अभियान रद्द गरेर फर्किएकी थिइन् ।
यसअघि उनले दक्षिण अमेरिकाको ६९६९ मिटरको माउन्ट एकोनकागुआ र अफ्रिकाको ५८९५ मिटर अग्लो माउन्ट किलिमन्जारो र युरोपको ५६४२ मिटर अग्लो माउन्ट एल्ब्रस, अन्टार्टिकाको विन्सन हिमाल चढिसकेकी छन् ।