काठमाडौं । सगरमाथा आरोहणका लागि यस बर्ष १६ समूहका १३८ जनाले अनुमति लिएका छन् । पर्यटन विभागले अप्रिल ५ सम्मको तथ्याड़क अनुसार १३८ जनाले सगरमाथा आरोहणको अनुमति लिएको जनाएको छ । अनुमति लिनेमध्ये ३३ महिला र १०५ जना पुरुष छन् ।
अनुमति लिएका आरोहीहरुबाट सरकारले १७ करोड १९ लाख ६४ हजार ८५० रुपियाँ रोयल्टी संकलन गरेको विभागले जनाएको छ ।
सगरमाथापछि वसन्त ऋतुमा अमादब्लम हिमाल आरोहणका लागि बढी आरोहीले अनुमति लिएका छन् । उक्त हिमाल चढ्न मंगलबारसम्म ३९ जनाले अनुमति लिएका हुन् जसमा १४ पुरुष र ७ जना महिला छन्।
अहिलेसम्म १५ हिमाल आरोहणका लागि अनुमति जारी भइसकेको छ । ल्होत्सेका लागि ३३, अन्नपूर्ण १ का लागि २६, नुप्त्सेका लागि २३, धौलागिरिका लागि २१ र मकालुका लागि १५ जनाले अनुमति लिएका छन्। सो हिमालका लागि कुल ३ सय ६६ जना आरोहीले अनुमति लिएका छन्।
हिमाल आरोहण अनुमतिवापत यस ऋतुमा अप्रिल ५ सम्म करिब २० करोड रोयल्टी संकलन भइसकेको विभागले जानकारी दिएको छ । अहिले आरोहीहरु विभिन्न हिमालको आधार शिविरतर्फ लाग्न सुरु गरिसकेका छन् ।