Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई मत दिनु देशलाई बर्बाद बनाउनु भएको बताएका छन् । शुक्रवार राप्रपाले काठमाडौंमा आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै उनले आगामी स्थानीय तह निर्वाचनमा देशका प्रमुख पार्टीहरु कांग्रेस, एमाले र माओवादी केन्द्रलाई मत दिनु गल्ती काम हुने बताए । 

ती पार्टीहरुलाई मत दिनु भनेको देश बिगार्ने काममा आफू पनि सहभागी हुनु भएको लिङदेनले प्रमुख पार्टीहरुले पटक–पटक मौका पाउँदा पनि जनताले सम्झनेगरी केही काम गर्न नसकेको बताए । उनले ती पार्टीहरुलाई मत दिएर देश बर्बाद पार्ने काममा सहभागी नहुन जनताहरुलाई आग्रह गरे । 

Advertisement

लिङदेनले भने,  ‘हामीलाई अब समय छैन । हामीलाई पर्खने समय छैन । कुनै पनि पार्टी, कुनै पनि नेताले पटक–पटक मौका पाउँदाखेरी पनि जनताले सम्झनेगरी एउटा कुरा छोडेर जान सक्दैन । जनतामा आशा जगाउँदैन भने त्यसैलाई फेरि साथ दिइराख्नु भनेको त्यो गल्ती काममा आफू पनि सहभागी हुनु हो । देश बिगार्ने काममा आफू पनि सहभागी हुनु हो । म कांग्रेस, एमाले, माओवादीको आलोचना गर्न चाहान्न । तपाईंहरुलाई बुझाउनका लागि मात्रै ती पार्टीहरुको नाम लिन चाहान्छु । अब कांग्रेस, एमाले माओवादीलाई कति हेरेपछि यो देश बन्छ होला त ? तिनका पार्टीका प्रधानमन्त्रीलाई कतिपटक प्रधानमन्त्री र कति पटक म्याद थप गरिदियो भने यो देश बन्छ होला त ? अब यिनै पार्टी र यिनै नेतालाई भोट दिएर देश बन्छ भन्नु भनेको यो देश बर्बाद गर्ने काममा सहभागी हुनु हो । यत्रो मौका पाउँदाखेरी देखाएनन् । अब फेरि देखाउँछन् कि भन्ने भुल गर्नु हुँदैन ।’

अध्यक्ष लिङ्देनले देश प्रमुख राजनीतिक दलको अघोषित गठबन्धनको शिकार भएको बताए । उनले २०४६ सालपछिको देश पूर्ण रुपले बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको उल्लेख गरे । उनले भने, ‘२०४६ को राजनीतिक परिवर्तनपछि निरन्तर रुपमा यो देश केही सिमित राजनीति दल र तिनका पनि केही सिमित नेताको मुट्ठीमा कैद भएको छ । देश हामीले बुझ्ने गरी भन्ने हो भने कांग्रेस, एमाले, माओवादीको अघोषित गठबन्धनको शिकार भएको छ । यो ३१–३२ वर्षमा देश पूर्णरुपले बरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको छ ।’

अध्यक्ष लिङ्देनले बैंकमा पैसाको अभाव भएको उल्लेख गर्दै पैसा काला व्यापारीहरु र विगत ३१ वर्षदेखि देशमा शासन गर्ने नेताहरुको घरमा थन्किएको आरोप लगाए । उनले जनतालाई प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा कैद गरेर र झुक्याएर शासन गरिएको बताए । लिङदेनले भने, ‘आज बैंकमा पैसा छैन भनिन्छ । बैंकले लगानी बन्द गरेको छ । ठूल्ठूला चेकहरु साटिदैन भनिन्छ । के हो यो ? के कुराको संकेत हो ? नोट कहाँ गयो होला ? नोट बैंकमा नहुनुको अर्थ कहाँ गयो होला ? मान्छेहरु भन्छन्, जान्नेहरु भन्छन्, नोट काला व्यापारीहरु र ३१ वर्षदेखि यो देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाममा जनतालाई कैद गरेर, झुक्याएर, शासन गर्ने नेताहरुको घरमा थन्किएको छ भनेर भन्छन् । नत्रभने कहाँ गयो नोट र बैंकमा छैन ? किन बैंकले लगानी गर्न सक्दैन ? यो सामान्य स्थिति होइन ।’

लिङदेनले विद्यमान पार्टीहरुलाई मत दिएर यो देश बन्छ भन्नु र साढेको टाङ मुनि बाल्टी थापेर दुधको आशा गर्नु उस्तै भएको टिप्पणी गरे । उनले तिनै तहको निर्वाचनमा प्रमुख पार्टीको बाकस खाली गरिदिन आव्हान समेत गरे । अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले निर्वाचन जितेमा १२ कक्षा सम्मको अध्ययनलाई पूर्ण रुपमा निशुल्क बनाउने र भ्रष्ट्राचारमुक्त नेपाल बनाउने पनि बताए । 

Advertisement

Advertisement