दशौं पटक सगरमाथा आरोहण गर्दै कीर्तिमानी आरोही लाक्पा शेर्पा

Advertisement

काठमाडौं। विश्व कीर्तिमानी आरोही लाक्पा शेर्पा १०औँ पटक सगरमाथा आरोहण गर्ने भएकी छन् । सगरमाथा आरोहणका लागि उनी अप्रिल १५ मा कीर्तिमानी आरोहीद्धय एडमन हिलारी र तेन्जिङ शेर्पाले सुरु गरेको बाटो हुर्दै सगरमाथाको चुचुरोमा पुग्ने आरोही लाक्पाले बताइन्।

सोमबार काठमाडौंस्थित नेपाल पर्वतारोही संघले शेर्पालाई झण्डा हस्तान्तरण गर्दै आरोहणका लागि शुभकामनासहित विदाई गर्यो । उनले यस पटक नेपाली महिला कुनै पनि कामका लागि पछि हट्दैनन्, जुनै काम गर्न सक्छन् भन्ने सन्देश दिन्न आरोहण गर्न जान लागेको बताइन् । 

Advertisement

उनले भनिन्, ‘म युवायुवती र महिलालाई प्रेरित गर्न चाहन्छु र नेपाली महिलाहरु मेहनती छन् र आफूले चाहे जे पनि गर्न सक्छन् भन्ने सन्देश दिन चाहान्छु ।’ कीर्तिमानी आरोही शेर्पाका अनुसार १०औँ पटक सगरमाथा हिमाल आरोहण सफलपछि नेपाल र विदेशमा नेपालको मानसम्मान र प्रतिष्ठा बढ्ने बताइन् । 

उनले हिमालमा रहेको फोहोरहरु कम गरी स्वच्छ हिमाल बनाउने काममा आरोहीहरुले पनि भूमिका खेल्न आवश्यक रहेको बताइन् । शेर्पाले १५ जना अमेरिकी आरोहीसहित ३९ जनाको टोली लिएर गाइडको भूमिकामा सगरमाथा आरोहण गर्न जान लागेकी हुन् । 

उनले भनिन, ‘म कीर्तिमानी आरोही तेन्जिङ नोर्गे  शेर्पा र कीर्तिमानी आरोही एडमन्ड हिलारीले पहिलो पटक विश्वको शिखरमा पाइला टेकेको पुरानो आरोहण शैलीलाई पछ्याइ सगरमाथासम्म पुग्ने छु ।’ 

नेपाल पर्वतारोही संघका अध्यक्ष सान्तवीर लामाले शेर्पाको आरोहणको सफलताको कामना गरेका थिए । नवौं पटक सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान बनाउनु सफल सङ्खुवासभा मकालुकी ४८ वर्षीया आरोही शेर्पाको आरोहण सफल भए धेरै पटक सगरमाथा आरोहण गर्ने महिलाको कीर्तिमान तोडिने छ । 

उनले यसअघि एक पटक नेपालतर्फको बाटोबाट र आठ पटक तिब्बततर्फको बाटोबाट सगरमाथाको आरोहण गरिसकेकी छन् । उनी यो पटक नेपालतर्फबाट सगरमाथा चढ्न लागेकी हुन् । 

Advertisement

Advertisement