जनकपुर । नेपाल भ्रमणमा रहेका बीबीसी मास्टरशेफहरु निर्णायक मण्डल रहेर जनकपुरधाममा ‘मिथिला कुजिन एण्ड रेसिपिज’ शीर्षकमा व्यवसायिक शेफ प्रतियोगिता आयोजना गरिएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले आइतबार ‘पाटा युवा पर्यटन प्रोफेशनल शेफ प्रतियोगिता’ आयोजना गरेको हो ।
प्रतियोगितामा पूर्वी नेपालका पाटा नेपाल च्याप्टरका सदस्य कलेजहरू– धरान इन्टरनेशनल कलेज अफ हस्पिटालिटी म्यानेजमेन्ट, एलायन्स फर इनोभेसन म्यानेजमेन्ट एन्ड सोसल स्टडिज, सनसाइन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट, प्रिमियर होटल स्कुल,,प्रिमियर कलेज अफ हस्पिटालिटी म्यानेजमेन्ट र आदर्श स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत २१ युवा होटेल व्यवस्थापनका विद्यार्थीहरूको सहभागिता रहेको थियो । विद्यार्थीहरुले मिथिलाको १५६ परिकारहरु बनाएर निर्णायक मण्डलसमक्ष प्रस्तुत गरेका थिए ।
प्रतियोगिताको निर्णायक मण्डलको भूमिकामा रहेका बीबीसी मास्टरशेफहरु सन्तोष शाह, एलेक्स वेब, बार्ट भान डर ली, फिलिपा आर्मिटेज र टेष्ट अफ मिथिया फुड’का शेफ महेश साहसमक्ष विद्यार्थीहरुले मौलिक मिथिला खानाहरूको प्रस्तुतीकरण गरेका थिए ।
मास्टर शेफहरुले विद्यार्थीहरूले प्रदर्शन गरेको पाककला, मिथिला खाना र प्रस्तुतीकरण सीपहरूको मूल्याङ्कन गर्दै प्रशंसा समेत गरे । प्रिमियर कलेज अफ हस्पिटालिटी म्यानेजमेन्टबाट समीक्षा कार्की, विशाल फुयाँल र हिमानी धिमाल पाटा युवा पर्यटन प्रोफेशनल शेफ प्रतियोगिताको विजेता घोषित भए ।
त्यसैगरी, प्रिमियर होटल स्कूलका राहुल धमला, सन्देश चौलागाई, सुमी गुर्मचन मगर र लक्ष्मी मगरको टोली प्रथम उपविजेता र सनसाइन स्कूल अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्टबाट अस्मिता शेर्पा, राजिन प्रधान र सागर लामाको टोली प्रतियोगिताको दोस्रो उपविजेता घोषित भए ।
पुरस्कार वितरण कार्यक्रममा शेफ सन्तोस शाहले युवा विद्यार्थीहरूले देखाएको जोशी, तयारी र नवीन सोचबाट आफू निकै प्रभावित भएको बताए र पर्यटन तथा आतिथ्यता उद्योगको भावी शेफ बन्न चाहने सहभागी विद्यार्थीहरूलाई आफ्नै संघर्ष र सफलताको कथा मार्फत प्रेरित समेत गर्नुभयो।
कार्यक्रमको समापन गर्दै पाटा नेपाल च्याप्टरका कार्यकारी समिति सदस्य सुनिल भुसालले कार्यक्रमलाई सफल बनाउन जनकपुरधामका सबै सहभागी कलेज, प्रायोजक र स्थानीयलाई धन्यवाद दिए ।