काठमाडौं। कीर्तिमानी आरोही माया शेर्पा विश्वका १४ वटै हिमाल आरोहण गर्ने क्रममा पाँचौं अग्लो हिमाल मकालु (८,४८५ मिटर) आरोहण गर्न त्यसतर्फ प्रस्थान गरेकी छन् । उनी मकालु आरोहणका लागि बेस क्यामतर्फ लागेकी हुन् ।
नेपाल पर्वतारोहण संघ (एनएमए)की द्वितीय उपाध्यक्ष तथा सगरमाथा आरोही संघको अध्यक्ष शेर्पाले पदयात्रा गर्दै बेस क्यामतर्फ गएकी हुन् ।
ओखलढुङ्गाको पात्ले– ५, रिपालकी ४३ वर्षीया आरोही शेर्पा विश्वका आठ हजार मिटर माथिका १४ अग्ला हिमाल आरोहण गरेर नयाँ कीर्तिमान बनाउने योजनामा छिन् । यसअघि उनले १४ वटै हिमालमध्ये छ वटा हिमाल सगरमाथा, केटु, कञ्चनजंगा, मनासलु, चो ओयु, अन्नपुर्णको सफल आरोहण गरिसकेकी छन् ।
शेर्पाले भनिन, ‘आमा भएपछि हाम्रो समाजमा हिमाल चढ्न सक्दैन् । महिलाहरु उमेर ढलेपछि चढ्न सक्दैन् । त्यो सोचलाई परिवर्तन गर्नुपर्छ भनेर म १४ वटै हिमाल आरोहण गर्न लागेको हो । आठ हजार मिटरभन्दा अग्लासहित कैयौँ हिमाल आरोहण गर्ने सहासिक महिला माया शेर्पा सन् २००१ देखि ट्रेकिङ गाइड पेशाबाट पर्यटन क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले हिमाल आरोहण भने सन् २००३ देखि सुरु गरेकी हुन्।
समाजमा माहिलाले पनि गर्न सक्छ भन्ने उदाहरण दिन यस क्षेत्रमा निरन्तर लागेको माया शेर्पाले बताइन्। नेपाली समाज तथा घरपरिवारले महिलालाई हिमाल आरोहणमा जान सजिलै अनुमति नदिने अनुभव सुनाउँदै सोही कारण यो कार्य सहज नभएको बताइन् ।
उनले भनिन, ‘महिलामाझ एक असल उदाहरण बन्ने कोशिस गरिरेहेकी छु जसले गर्दा भोलिका दिनमा धेरै नेपाली महिला आरोही जन्मिने छन्। कतिन्जेलसम्म सकिन्छ हेर्दै जाऔँ, शरीर र स्वास्थ्यले साथ दिइन्जेल आरोहणमा निरन्तर लाग्नेछु।’
माया शेर्पाका अनुसार हिमाल चढ्ने काम खतरा र गाह्रो हुन्छ। चिसोमा सुत्नुपर्छ । हिउँमा हिंड्नुपर्छ । कहिले अनुहार घामले डढ्छ त कहिले पाखुरा । पहिरोमा ज्यान गुम्न पनि सक्छ । ‘यी सबै थाहा हुँदाहुँदै पनि हामी आरोहीहरुले हिमाल चढ्न छोड्दैनौं । आरोहीहरुलाई हिमाल चढ्न मन लागिरहन्छ’ उनले भनिन् ।
जीवनमा पहिलो चोटी हिमाल चढ्न सफल भएपछि आत्मविश्वास बढेको अनुभव सुनाउँदै माया शेर्पाले थपिन् ‘मैले प्रयास गरे र सफल भएपछि विश्वास पनि बढ्दै गयो । दोस्रो पटक पुमोरी हिमाल चढेँ । त्यो हिमाल पनि त्यसबेला कुनै नेपाली महिलाहरुले चढे्का थिएनन् । त्यसपछि माउन्ट चोयु अक्सिजन बिना नै चढ्न सफल भएँ ।’
आरोहणको ७१ वर्षमा अन्नपूर्णमा जम्मा १२ जना अन्तर्राष्ट्रिय र राष्ट्रिय महिलाहरुले आरोहण गरेका छन् । जसमा विदेशी छ जना र नेपाली छ जना छन् । मायाको टोली सन् २०२१ मा चढेपछि उनीहरु पहिलो नेपाली महिला बनेका थिए । त्यसबेला चीन र अष्ट्रेलियाको महिलाहरु पनि सहभागी थिए । सबैले सफलतापूर्वक आरोहण गरेका थिए ।
उनले अन्नपूर्ण आरोहणबारे भनिन्, ‘एक वर्षमै १२ जना महिलाले सफल आरोहण गरेकोमा हामी अत्यन्तै हर्षित भयौं। ७१ वर्षको रेकर्ड एक वर्षमै तोड्यौं । हालसम्म १२ जनासहित कूल २४ जना महिलाहरुले अन्नपूर्ण आरोहण गरिसकेका छन्।’
मायाले पहिलोपल्ट सन २००३ मा आमाडाब्लम हिमाल आरोहण गरिन्। त्यसबेला हिमाल चढ्न राम्रा आरोहण उपकरणहरु थिएनन्। त्यसपछि संकल्पका साथ अरु हिमाल आरोहणको प्रयास गरिन् । संसारकै सबैभन्दा कठिन मानिने माउण्ट केटु चढ्न सफल पनि भइन् ।
तालिम नलिइकनै केटु हिमाल चढ्न गएको उनले बताइन्। त्यो समयमा केटु चढ्दा निकै गाह्रो भएको मायाले बताइन्। सन २०१४ मा विश्वको दोस्रो अग्लो माउन्ट केटु चढेर उनले आरोहणमा सानदार कम्ब्याक गरिन्।
हुनत उनको सन् २००८ र २००९ भित्रमै १४ वटा पिकहरु ओरोहण गरिसक्ने योजना बनाएकी थिइन् । तर २०१० मा मकालु जाने बेलामा गर्भवती भएपछि उनको योजनामा ब्रेक लागेको थियो।
ओखलढुंगाको दुर्गम गाउँमा जन्मेकी माया शेर्पा विभिन्न हिमाल चढेर समाजमा प्रेरणाको स्रोत बन्न चाहान्छिन् ।