सेञ्चुरी बैंकले एकै दिन बिस्तार गर्यो नयाँ तीन शाखा

Advertisement

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा विहीबारदेखि थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठज्यूले छुट्टाछुटै कार्यक्रमहरुका बीच उक्त शाखाहरुको उद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् ।  

बैंकले एकै दिन कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको वडा नं. ४ को महेन्द्रनगर बजारमा महेन्द्रनगर शाखा, कैलाली जिल्लाको लम्की नगरपालिका वडा नं. १ लम्की बजारमा लम्की शाखा र बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नंं. ७ को गुलरिया बजारमा गुलरिया शाखाबाट सेवा प्रारम्भ गरेको हो । 

Advertisement

बैंकको शाखा उद्घाटन कार्यक्रमहरुमा विभिन्न संघसंस्था एवं निकायका विशिष्ट व्यक्तिहरु, उद्यमी व्यवसायीहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख संचालन अधिकृत अनिल रेग्मीलगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

२०७८ चैत मसान्तसम्ममा बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो । बैंक पहिलो पटक खुद मुनाफा रु. १ अर्ब कटाउन सफल भएको छ ।    

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । थप तीन शाखा संचालनमा आएपछि बैंकको कुल शाखा संख्या १३३ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  


 

Advertisement

Advertisement