नेपाल टेलिकमले अब ई–सिम कार्ड पनि उपलब्ध गराउने, नयाँ–पूराना दुवै कार्डमा चलाउन मिल्ने

Advertisement

काठमाडौं । नेपाल टेलिकमले निकट भविष्यमा ई–सिम (ईलेक्ट्रोनिक सिम कार्ड) उपलब्ध गराउने भएको छ । टेलिकमले उक्त कार्डसम्बन्धि सम्झौता पत्रमा आइतबार सम्झौता गरेको छ । 

टेलिकम प्रमुख व्यवसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत  आदित्य आनन्दले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

Advertisement

सम्झौताअनुसार मोन्टी युके ग्लोबलले नेपाल टेलिकमका ग्राहकहरुलाई ई–सिम सेवा उपलब्ध गराउनका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउने छ । उक्त अवसरमा टेलिकमकी प्रमुख व्यवसायिक अधिकृत पहाडीले नेपाल टेलिकमले नयाँ नयाँ प्रविधि भित्र्याउने क्रममा ई–सिम समेत उपलब्ध गराउने भएको र यसका लागि आवश्यक कार्य छिट्टै प्रारम्भ हुने बताईन ।

अल्टिमेट होराइजन टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दले ई–सिमका लागि आवश्यक सम्पूर्ण प्राविधिक कार्य समयमै सम्पन्न गरी कम्पनीलाई उपलब्ध गराउने बताए । ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसकालागि ई सिम सर्पोट गर्ने मोवाइलफोन आवश्यक हुन्छ ।

यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न मिल्ने नेपाल टेलिकमले जनाएको छ । ई–सिम प्रयोगमा आएपछि सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुको समेत प्रयोग गर्न सकिन्छ । अहिले अन्य सिम कार्ड लिएका र नलिएका दुवै किसिमका ग्राहकले ई–सिम कार्ड प्रयोग गर्न सक्ने टेलिकमका सह–प्रवक्ता रंजित लोहियाले जानकारी दिए । 

Advertisement

Advertisement