फुखाङ पिकमा पहिलो पटक मानव पाइला राख्न सफल कोरिययन आरोहीलाई पर्यटन मन्त्रालयको सम्मान

Advertisement

काठमाडौं। मनाङको फुखाङ पिकमा पहिलो पटक मानव पाइला राख्न सफल कोरियाका पर्वतारोहीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ । 

उक्त हिमालमा पटक मानव पाइला राख्न सफल भएका कोरियाका छ जना आरोही र दुई जना नेपाली गाइडलाई मन्त्रालयका सचिव  महेश्वर न्यौपानेले सम्मान गरेको हुन् । 

Advertisement

सरकारले पहिचान गरेर आरोहणका लागि खुल्ला गरे पनि वर्षोदेखि आरोहण हुन नसकेको  मनाङको नार्फु क्षेत्रमा रहेको छ हजार ६९४ मिटर अग्लो फुखाङ पिकमा कोरियाका विश्वप्रख्यात आरोही किम मि गोनको नेतृत्वमा छ जना कोरियन आरोही र नेपाली गाइडको टोलीले सफल आरोहण गरेपछि मन्त्रालयले आरोहण टोलीलाई सोमबार सम्मान गरेको हो ।

विश्वका आठ हजार मिटर माथिका १४ हिमाल आरोहण गरिसकेका किम मि सहितको टोलीले गत मे ४ तारिखका दिन बिहान १०ः३० बजे फु खाङ पिकको सफल आरोहण गरेका हुन् । फु खाङ पिक आरोहण कम्पनी ट्रेकिङ क्याम्प नेपालले आयोजना गरेको कार्यक्रममा बोल्नु सचिव न्यौपानेले धेरै भीड हुने र सहज आरोहण हुने हिमालमा मात्र आरोहीको भीड लाग्ने गरेको भन्दै अन्य हिमालको प्रवर्द्धन गर्ने लक्ष्यले आरोहीहरुलाई सम्मान गर्दै आएको बताए । 

आरोहण टिममा किम मि सहित ह्वाङ सुङ मि,  काङ सिङ वाङ,  जाङ दाइ बो,  किम मिन सो,  लि कुन जीन रहेका छन्। उक्त आरोहीहरुलाई नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तवीर लामाले संघका तर्फबाट खादा र प्रमाणपत्रले सम्मान गरेका थिए । 

नेपालको अर्थतन्त्र आधार पर्यटन क्षेत्र र त्यसमा पनि गुणस्तरीय पर्यटनको रुपमा पर्वतारोहण क्षेत्र भएकाले सरकारले यसको प्रवर्द्धनमा कुनै कसुर बाँकी नराख्ने सचिव न्यौपानेले बताए ।

त्यस्तै, अध्यागमन विभागका महानिर्देशक नारायण भट्टराईले पनि नेपाल आगमन हुने पर्यटकको तथ्याङकलाई हेर्दा यसअघि कोरियाका पर्यटन पाँचौ स्थानमा रहेको र वार्षिक ४० हजार जनाको संख्यामा नेपाल भित्रिने गरेको बताए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य ङवाङङिमा शेर्पा, नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने, हिक्मत सिंह ऐर, कोरियन टुर्स एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन नेपालका अध्यक्ष अमरबहादुर शाही लगायतको उपस्थिति थियो ।

Advertisement

Advertisement