काठमाडौं। नेपाल पर्यटन बोर्डले स्थानीय निर्वाचनको दिन आउने पर्यटकको सुविधाका लागि सटल बस सञ्चालन गर्ने भएको छ । स्थानीय निर्वाचन यही वैशाख ३० गते हुँदैछ ।
निर्वाचनको दिन राजधानी काठमाडौंमा हवाई यात्रुहरूलाई विमानस्थल र होटलबीच हुनसक्ने यातायातको असुविधालाई ध्यानमा राखी पर्यटक प्रहरीको सहयोग तथा नेपाल टुरिस्ट भेहिकल एशोसियशन र टुरिस्ट बस एशोसियशन अफ नेपालको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म आवात–जावतको लागि विभिन्न रुटहरुमा सःशुल्क सटल बस सेवा सञ्चालन गर्न लागेको बोर्डले जानकारी दिएको हो ।
जसअनुसार रुट १ मा एअरपोर्ट–एनएसी–होटल अन्नपूर्ण–होटल याक एण्ड यति–ठमेल चोक–लैनचौर चोक–शंकर होटल–एम्बासडर होटल–एअरपोर्ट, रुट २ मा एअरपोर्ट–होटल र्याडिशन–सांग्रिला होटल–नारायण गोपाल चोक–महाराजगंज चोक–हायात रिजेन्सी–चाबहिल चोक–होटल द्धारिका–एअरपोर्ट, रुट ३ मा एअरपोर्ट–तीनकुने चोक–होटल एभरेष्ट–माइतिघर चोक–होटल हिमालयन–होटल सोल्टी–ग्रान्ड होटल–एअरपोर्ट छ ।
सटल बस सेवावापत प्रतिव्यक्ति तीन सय रुपियाँ शुल्क लाग्ने र उक्त शुल्क सेवा दिंदाका बखतमा सम्बन्धित सेवादाताले नै लिने समेत जनाएको छ ।