काठमाडौं। विश्वको तेस्रो अग्लो तथा ८,५८६ मिटर अग्लो कञ्चनजंगा हिमालको सफल आरोहणपछि पाकिस्तानका १९ वर्षीय शेरोज काशिफ र फोटो पत्रकार पूर्णिमा श्रेष्ठले ल्होत्से हिमालको सफल आरोहण गरेका छन् ।
विश्वको चौथो अग्लो तथा ८,५१६ मिटर अग्लो ल्होत्सेको काशिफले सोमबार बिहान ६ बजेर ५ मिनेटमा तथा श्रेष्ठले पनि आजै बिहान ८ बजे सफल आरोहण गरेका हुन् ।
उनीहरुले ११ दिनभित्र अग्लो हिमालको सफल आरोहण गरेका छन् । यसअघि दुई जनाले नेपालको कञ्चनजंगा हिमाल आरोहण गरेका थिए । पाकिस्तानका काशिफले सेभेन समिट ट्रेक्सबाट आरोहण गरेका हुन् भने श्रेष्ठले एट्के एक्स्पडिशन कम्पनीबाट ल्होत्से हिमालको सफल आरोहण गरेकी हुन् ।
कलिलो उमेरदेखि नै हिमाल चढ्न सुरु गरेका काशिफले गत जुलाई २८ मा माउन्ट केटु चढेका थिए । उनले १२ वटा अन्य अग्ला हिमालसमेत आरोहण गरिसकेका छन् । यसअघि शेरेजले आठ प्रमुख पर्वतारोहण गरी इतिहास हासिल गरिसकेका छन्।
त्यस्तै, श्रेष्ठले यसअघि गत असोज १५ मा धवलागिरि हिमालको आरोहण गरेकी थिइन्। विश्वको सातौं अग्लो धवलागिरिमा पहिलो पटक नेपाली महिला पासाङ ल्हामू शेर्पा, अकितासँगै पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन् । श्रेष्ठले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा अमादब्लम हिमाल, २०२१ मा धवलागिरि, अन्नपूर्ण पनि आरोहण गरेकी थिइन् ।