काठमाडौ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रराज ओझाले बीमा समितिले दिएको पुँजी वृद्धिको योजना पालन गर्न सहज नरहेको बताएका छन्।
उनले विभिन्न चुनौतीका बीच राष्ट्रिय बीमा कम्पनी गुज्रिरहेकाले तत्काल पुँजी वृद्धि आफ्ना लागि सहज नरहेको बताए । ओझाले अर्थ मन्त्रालयसँग आवश्वयक समन्वय गर्ने तयारीमा आफूहरु पुगेको भन्दै बीमा क्षेत्रको सुधारका लागि नै आफू यस ठाउँमा उभिएको र आफ्ना पालामा केही अप्ठ्यारो परिस्थिति समेत सिर्जना भएको अनुभव सुनाए ।
तर, ती चुनौतिको समाधान लागि आफू जिम्मेवार भएर लागिपर्ने उनको भनाई थियो । ओझाले आफू तलवका लागि नभई बीमा क्षेत्रको सुधार लागि बीमा कम्पनीमा आएको बताए ।
उनले भने, ‘अहिले यही समयमा बीमा समितिले पुँजीको योजना दिएको छ । नयाँ पुँजी वृद्धिको योजना समितिले ल्याएको र त्यस्तो योजना अन्य कम्पनीका लागि सामान्य जस्तो देखिए पनि सरकारी कम्पनीको हकमा भने केही जटिल नै छ । विगतबाट बीमा कम्पनी बीमा ऐनबाट भन्दा पनि संस्थान ऐनबाट चलेकाले यस्तो परिस्थिति सिर्जना भएको हो ।’
बीमा समितिको तर्फबाट नयाँ योजना ल्याउनु राम्रो कुरा भए पनि सरकारी स्वामित्वका कम्पनीको समस्यालाई समितिले पनि बुझेको ओझाले बताए । उनले भने, ‘हामीले हाम्रो नियाकको रुपमा बीमा समितिले ल्याएका नयाँ योजना पूरा गर्न लागि पनि पर्छौ । तर, एकै पटक त्यति धेरै पुँजी वृद्धि गर्न अहिलेको समयमा हामीलाई ठूलो चुनौती नै छ ।’
राष्ट्रिय बीमा कम्पनीमा पूरानो हिसाब फरफारक गर्ने लगायतका कुराहरु बाँकी रहेको अवस्थामा त्यो समस्या नसल्टाईकन पुँजी वृद्धिको योजनामा जान कठिनाई हुने भन्दै ओझोले भने, ‘पहिले नै यहाँ समस्या रहेकाले नयाँ योजना सिधै कार्यान्वयन गर्न सकिदैन । विगतका समस्या पनि एकै पटक वा छिटो छरितो रुपमा समाधान हुने खालका समस्या छैनन् । त्यसका लागि एकतर्फ हामीले बीमा कम्पनीलाई बलियो बनाउनु छ भने अर्कोतर्फ समितिले तोकेको समयमा आफ्नो पुँजी बढाउनुपर्ने पनि छ ।’
सबै समस्या क्रमसः समाधान गर्दै जाँदा सहज हुने बताउँदै उनले सबै कुरा एकै पटक समाधान गर्नुपर्ने भएकाले चुनौतीपूर्ण देखिएको बताए ।। ओझाले भने, ‘चुनौतीपूर्ण त छँदैछ । त्यस्तो भन्दैमा हामीले अब केही पनि नगरी बस्ने भन्ने कुरा त हुँदैन । अब म यहाँको समस्या समाधान गर्नका लागि आफूले खेल्नुपर्ने भूमिकामा जिम्मेवार भएर लाग्ने छु ।
आफू अर्थ मन्त्रालय छिर्दा अर्थमन्त्रालयको कर्मचारीको रुपमा काम गर्ने तर राष्ट्रिय बीमा कम्पनी छिर्दा यहाँको सीईओको रुपमा काम गर्नेछु भन्दै उनले आफू चुपचाप बसे कम्पनीको समस्या समाधान नहुने बताए ।
ओझाले भने, ‘म बीमा समिति पनि जान तयार छु । अर्थ मन्त्रालय पनि जान तयार छु । यहाँ म आएको धेरै समय भएको छैन । यसको मतलब भनेको त यहाँको समस्या समाधान गर्न म तत्पर छु भन्ने नै हो । हेरौं, अब कति गर्न सकिन्छ ? त्यो आफ्नो ठाउँमा होला । तर म आफ्नो प्रयास भने निरन्तर जारी राख्नेछु ।’
बीमा कम्पनीहरुले आफ्नो पुँजी वृद्धि गर्न खोज्दा त्यसले कम्पनीहरुमा व्यवसायिक सुसंस्कार (कर्पोरेट कल्चर)को विकास हुने उनको भनाई छ । तर, राष्ट्रिय बीमा कम्पनीको हकमा नै कुरा गर्दा तत्कालका लागि पुँजी वृद्धिका लागि यति समयमा नै पुर्याउँछौं भनेर तोक्ने अवस्था नरहेको उनले बताए ।
राष्ट्रिय बीमा कम्पनीको समस्या सधामानका लागि नियामक निकाय बीमा समिति र अर्थ मन्त्रालयले सहयोगी भूमिका खेल्ने ओझाको आशा छ । उनका अनुसार विगत लामो समयदेखि बीमा समितिले समेत स्वीकृत नगरेको आर्थिक वर्ष २०७१–७२ सालको वित्तीय विवरण समेत बीमा समितिले हालसालै स्वीकृत गरेको छ ।
ओझाले यसबाट कम्पनी आर्थिक वर्ष २०७१–७२ सालको साधारण सभा गर्न समेत योग्य भइसकेको, तर आर्थिक वर्ष २०७२–७३ सालको वित्तीय विवरण भने समितिले स्वीकृत गर्न बाँकी रहेको बताए । स्थानीय चुनावका कारण त्यो स्वीकृतिमा ढिलो भएको हुनसक्ने उनको बुझाई छ ।
सीईओ ओझाले छिट्टै नै राष्ट्रिय बीमा कम्पनीले दुई वटा साधारणसभाका लागि तयार हुने बताए । बाँकी रहेका अन्य आर्थिक वर्षका वित्तीय विवरणहरु स्वीकृत भएसँगै आफूहरुले साधारणसभा गरेर विगतका समस्या सल्टाउने बताए ।
यता, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आफूहरुले सबै कम्पनीहरुलाई सहजीकरण गर्ने बताए । उनले राष्ट्रिय बीमा कम्पनीले पनि आफ्नो हिसाब किताब मिलाएर ल्याए स्वीकृत गर्ने बताए ।