ऋण दिनका लागि बैंकले अनैतिक काम गर्छन्ः गोल्छा, लगानीकर्ताले धेरै गुमाए, नीति पुर्नविचार गरियोस्’

Advertisement

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना उद्योग व्यवसायीलाई राहत पुग्नेखालको मौद्रिक नीति ल्याउनुपर्ने बताएका छन् । 

नेपाल राष्ट्र बैंकले आउँदो  आर्थिक बर्षका लागि  जारी गर्न लागेको मौद्रिक नीति सम्बन्धमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमेतलाई बोलाएर आइतबार गरेको छलफल कार्यक्रममा गोल्छाले साना उद्योगीहरुलाई राहत पुग्ने मौद्रिक नीति ल्याउन सुझाव दिएका हुन् । 

Advertisement

तरलता अभावले ऋण प्रवाह नहुँदा अर्थतन्त्र ठप्प अवस्थामा रहनुको साथै तरलताको चुनौतीका कारण साना व्यवसायी अप्ठ्यारोमा रहेको भन्दै उनले व्यवसायीलाई राहत पुग्ने खालको मौद्रिक नीति ल्याउनुपर्ने बताए । 

ब्याजदर निकै माथि पुगेर धान्न नसक्ने खालको भएको गोल्छाको भनाई थियो । ब्याजदरमा बेलैमा हस्तक्षेप भएको भए हाल अवस्था नबिग्रने थियो भन्दै उनले शोधनान्तर घाटा उच्च भएकोले त्यसलाई सुधार गर्नुपर्ने बताए । भएको पूँजीलाई परिचालन गर्न केन्द्रीय बैंक अग्रसर हुनुपर्ने गोल्छाले बताए । 

उनले बैंकहरूले कायम गर्नुपर्ने तरलता अनुपात घटाउन सुझाव दिए । अध्यक्ष गोल्छाले अनुत्पादक क्षेत्रमा जाने ऋणलाई रोक्दा राजश्व प्रभावित हुने भन्दै सन्तुलित नीति लिन आग्रह गरे । 

शेयर लगानीकर्ताले धेरै गुमाईसकेकोले अब उनीहरूलाई राहत पुग्ने नीति लिन पनि उनको आग्रह थियो । अहिलेको समस्या आउनुमा बैंक पनि कारक रहेको गोल्छाले बताए । उनले ऋण दिनका लागि बैंकले अनैतिक काम गरिरहेको भन्दै कडाई गर्नुपर्ने बताए ।  

सतप्रतिशत मार्जिनबाट बैंकहरू मात्र लाभान्वित हुने भएकाले यसलाई पुनर्विचार गर्न र सोको निर्णय वाणिज्य मन्त्रालयलाई गर्न दिनुपर्ने गोल्छाको भनाई थियो । 

Advertisement

Advertisement