काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चार महिनामा पटकपटक गरी १० खर्ब ७७ अर्ब तरलता प्रशोचन गरेको छ । निक्षेप बढ्ने तर कर्जाको खासै माग नहुँने हुँदा बैंकहरुले लगानी बढाउन सकेका छैनन् । बजारको तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले कात्तिक २८ गतेसम्म पटकपटक गरी १० खर्ब ७७ अर्ब ६५ करोड रुपियाँ प्रशोचन गरेको हो ।
केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा २३ पटक तरलता प्रशोचन गरिएको छ । आर्थिक वर्षको सुरुवातमा साउन २ गते ३४ अर्ब २५ करोड रुपियाँबाट सुरु भएको तरलता प्रशोचन ठिक एक महिनापछि भदौ २ गते केन्द्रीय बैंकले एकै दिन एक खर्ब ९६ अर्ब २५ करोड तरलता प्रशोचन गरेको थियो । निक्षेप संकलन उपकरणमार्फत एक खर्बका लागि आह्वान गरिएकोमा बैंकहरुले बढी निक्षेप दिन तयार भएका हुन् ।
यसैगरी भदौ ३० गते ११ औं पटक निक्षेप संकलन उपकरण जारी गरेको केन्द्रीय बैंकले एक खर्ब माग गरेकोमा बैंकहरुले ९० अर्ब ८५ करोड दिन तयार भएका थिए ।
यसैगरी कात्तिक १ गते फेरि एक खर्बका लागि आह्वान गरेकोमा बैंकहरले ३२ अर्ब ५ करोड रुपियाँ मात्र दिन तयार भएका थिए । तथापि, कात्तिक २१ गते माग गरिएको एक खर्बमा भने दोब्बर भन्दा बढी २ खर्ब ७ अर्ब १० करोड रुपियाँ लिइएको केन्द्रीय बैंकले जनाएको छ ।
बैंकहरुले २.७५ प्रतिशतदेखि २.९९३ प्रतिशतसम्ममा नै तरलता राख्न तयार भएको बैंकले जनाएको छ ।