चालु आवमा उद्योग सञ्चालनका लागि ५० अर्ब बढिको विदेशी लगानी प्रतिवद्धता, अधिकांश काठमाडौं केन्द्रीत

Advertisement

काठमाडौं । उद्योग विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्ष २०७८–७९ मा २६० उद्योग सञ्चालनका लागि करिब ५० अर्ब १८ करोड रुपियाँ विदेशी लगानी (एफडीआई)को प्रतिवद्धता स्वीकृत भएको छ । 

यस अवधिमा ठूला उद्योग पाँच वटा, मझौला उद्योग ५७ वटा र साना १९८ वटा उद्योगहरु दर्ताका लागि लगानीको प्रतिवद्धता आएको हो । यस अवधिमा दर्ता भएका धेरैजसो उद्योगहरु काठमाडौं उपत्यका केन्द्रित रहेका छन् भने चालू आर्थिक वर्षको जेठमा विदेशी लगानीका सर्वाधिक उद्योग दर्ता भएका छन् । 

Advertisement

जेठमा १० अर्ब २९ करोड ७६ लाख रुपियाँको लगानी प्रस्तावका ७२ वटा उद्योग दर्ता भएका छन् । जसमा सबैभन्दा बढि उपत्यका केन्द्रीत उद्योग छन् । चालू आवको पहिलो महिना (साउन)मा पाँच अर्ब ३८ करोड ८५ लाख रुपियाँ विदेशी लगानी प्रतिवद्धताका ३४ वटा उद्योगहरु दर्ता भएका छन् भने भदौमा ४० वटा उद्योगका लागि छ अर्ब ३२ करोड तीन लाख रुपियाँ विदेशी लगानीको प्रतिवद्धता स्वीकृत भएको छ । 

त्यस्तै, असोजमा १२ अर्ब २१ करोड ४९ लाख रुपियाँ बराबरको विदेशी लगानीका ३४ वटा उद्योग दर्ता भएका छन् भने कात्तिक महिनामा छ वटा उद्योगका लागि ९८ करोड रुपियाँ विदेशी लगानीको प्रतिवद्धता स्वीकृत भएको छ । मंसिरमा पाँच अर्ब १५ करोड रुपियाँ विदेशी लगानीको प्रतिवद्धताका पाँच वटा उद्योग दर्ता भएका छन् । यस महिना दर्ता भएका सबै उद्योग उपत्यकामा मात्र रहेका छन् । 

त्यस्तै, पुसमा ६१ करोड २० लाख रुपियाँ विदेशी लगानीको प्रतिवद्धताका छ वटा उद्योग दर्ता भएका छन् भने माघमा ५३ करोड ९५ लाख रुपियाँ विदेशी लगानीको प्रतिवद्धताका सात वटा उद्योग दर्ता भएका छन् । फागुनमा तीन अर्ब ८८ करोड ४३ लाख रुपियाँका १२ उद्योग, चैतमा एक अर्ब ८० करोड रुपियाँ प्रतिवद्धताको आठ वटा उद्योग, बैशाखमा उक अर्ब ४४ करोड ६१ लाख रुपियाँ प्रतिवद्धताको १४ वटा उद्योग र असारमा दुई अर्ब ३५ करोड रुपियाँ प्रतिवद्धताको १८ उद्योग दर्ता भएका छन् । 

Advertisement

Advertisement