एक बर्षमा ८१.६७ अर्ब वैदेशिक लगानी प्रस्ताव, लाभांशमार्फत बाहिरिने रकममा भारी गिरावट

Advertisement

काठमाडौं । शेयर खरिद र सदस्यता सम्झौता सहित गत आर्थिक बर्ष २०८०–८१ मा ८१ अर्ब ६७ करोड ७६ लाख रुपियाँ विदेशी लगानी प्रतिवद्धता आएको छ । उद्योग बिभागले सार्वजनिक गरेको गत आवको बैदेशिक लगानी प्रतिवद्धतासम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । 

यो अघिल्लो आव २०७९–८० को तुलनामा ४९.४३ प्रतिशतले बढी हो । उक्त आवमा ३८ अर्ब ४० करोड ७५ लाख रुपियाँ प्रत्यक्ष बैदेशिक लगानी प्रतिवद्धता र शेयर खरीद तथा सदस्यता सम्झौता बापत १६ अर्ब २४ करोड ९३ लाख रुपियाँ गरेर कुल ५४ अर्ब ६५ करोड ६९ लाख रुपियाँ विदेशी लगानी प्रस्ताव आएको थियो । 

Advertisement

तर, गत आवमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता मात्रै ६१ अर्ब ९० करोड ४५ लाख रुपियाँ देखिएको छ । यसैगरि लगानी सम्मेलन (बैशााख १६ र १७ गते)देखि कार्यान्वयनमा आएको अटोमेटिक रुटबाट थप आठ अर्ब ११ करोड ६२ लाख रुपियाँ लगानी प्रस्ताव आएको देखिन्छ । 

योबाहेक शेयर खरीद तथा सदस्यता सम्झौताबाट ११ अर्ब ६५ करोड ६८ लाख रुपियाँ लगानी प्रस्ताव आएको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार समीक्षा बर्षमा ५४६ वटा परियोजनामा विदेशी लगानी प्रतिवद्धता आएको छ । 

असार महिनामा मात्रै ४८ परियोजनामा १७ अर्ब ४८ करोड ४७ लाख रुपियाँ लगानी प्रतिवद्धता आएको छ । असारमा अटोमेटिक रुटबाट थप दुई अर्ब ४६ करोड ८४ लाख रुपियाँ लगानी प्रस्ताव आएको तथ्यांकमा उल्लेख छ । 

अटोमेटिक रुट र शेयर खरीद सम्झौता बाहेकका परियोजनामध्ये ३८६ वटा साना परियोजना छन् । यसैगरि मझौला १५ र ठूला छ वटा परियोजनामा पनि लगानी प्रतिवद्धता आएको बिभागको भनाइ छ । 

यो उद्योग बिभागमा दर्ता भएको वैदेशिक लगानी प्रतिवद्धता मात्रै हो । लगानी बोर्डमा आउने प्रतिवद्धता यसमा समावेश छैन । 

सरकारले गत बैशाखमा आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा लगानी प्रस्ताव करिब शुन्य थियो । सम्मेलनमा निजी क्षेत्रका परियोजनामा मात्रै लगानी सम्झौता भएका थिए । सरकारले सोकेस गरेको १५४ परियोजना तत्काल लगानी प्रस्ताव आएन । त्यस भित्रबाटै आयशपत्र आह्वान गरिएको १९ परियोजनामध्ये दुईमा मात्रै स्वदेशी लगानी प्रस्ताव आएको थियो । यसले नेपालमा लगानी आर्कषण नभएको देखाएको थियो । तर, उद्योग बिभाग मार्फत आउने लगानी प्रतिवद्धता भने उच्च दरमा बढेको देखिएको छ । 

घट्यो विदेशी लगानीकर्ताले लैजाने लाभांश 
नेपालमा लगानी गरेबापत विदेशी लगानीकर्ताले लैजाने नाफा अर्थात् लाभांश गत आवमा भने घटेको छ । उनीहरुले समीक्षा बर्षमा १० अर्ब सात करोड ८२ लाख रुपियाँ लाभांश लगेका छन् । त्यो अघिल्लो आवको तुलनामा २७.२० प्रतिशतले कम हो । गत आवमा उनीहरुले १३ अर्ब ८४ करोड ४८ लाख २२ हजार रुपियाँ लाभांश लगेका थिए । पछिल्लो समय देखिएको आर्थिक शिथिलताले नेपालका अधिकांश व्यापार व्यावसाय प्रभावित भएका छन् । 

रोयल्टीमार्फत कति बाहिरियो ? 
विदेशी लगानीकर्ताले रोयल्टीबापत नेपाली रुपियाँमा दुई अर्ब ७९ करोड पाँच लाख १६ हजार लगेका छन् । यसैगरि डलरमा एक करोड नौ लाख ३७ हजार, भारुमा ७६ करोड २७ लाख ९६ हजार र युरोमा २३ हजार ८०० थप रोयल्टी लगेको तथ्यांकमा उल्लेख छ । आजको बिनिमयदरअनुसार उनीहरुले नेपाली रुपियाँमा कुल पाँच अर्ब ४८ करोड ५१ भन्दा बढी रोयल्टी लगेको देखिन्छ । 

Advertisement