लक्ष्मी सनराइजको अगुवाईमा अपर बलेफीमा सात अर्बभन्दा बढी ऋण लगानी गर्ने सम्झौता

Advertisement

काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाईमा ४६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत आयोजना निर्माणका लागि सात अर्ब सात करोड ऋण लगानी गरिने भएको छ । 

सह–वित्तीयकरणमा सहभागी बैंकहरु र अपर बलेफी हाइड्रोपावर लिमिटेडबीच यससम्वन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा अपर बलेफीका निर्देशक सञ्जयकुमार साह र लक्ष्मी सनराइज बैंकका प्रमुख व्यापार अधिकृत मनिषराज कुँवरलगायतले हस्ताक्षर गरे । कुल नौ अर्ब ४३ करोड रुपियाँ लागत अनुमान गरिएको यो आयोजनाको बाँकी लागत कम्पनीका प्रवर्द्धक तथा सञ्चालकहरुले लगानी गर्नेछन् । 

Advertisement

सिन्धुपाल्चोकको जुगल गाँउपालिकास्थित बलेफी नदीमा नदी प्रवाहमा आधारित यो आयोजनाको प्रवर्द्धक कम्पनीले २०७८ साउन ३२ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै २०८० मंसिर ५ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरीद बिक्री (पीपीए) सम्झौता समेत गरिसकेकोे छ । 

 अपर बलेफी हाइड्रोपावरको प्रवद्र्धकको रुपमा गोल्यान ग्रुप, एचआर गोयल ग्रुप, सिद्धार्थ ग्रुप र उमेश कसजुलगायत रहेका छन् । आयोजना निर्माणका लागि लक्ष्मी सनराइजले चार अर्ब सात करोड ऋण लगानी गर्नेछ भने कृषि विकास बैंकले एक अर्ब ५० करोड, नेपाल एसविआई बैंकले एक अर्ब तथा माछापुच्छ्रे बैंकले ५० करोड रुपियाँ ऋण लगानी गर्नेछन् । 

सो आयोजना बनेपछि वार्षिक करिव २७४.८९ गिगावाट आवर उर्जा विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनेछ । गोल्यान समूह प्रमुख योजनाकार रहेको यो आयोजनाले नवीकरणीय उर्जाका क्षेत्रमा योगदान पुग्ने आशा लिइएको छ । 

गोल्यान समूहले १४ वटा परियोजनाहरूको योजना बनाएको पनि जनाएको छ, जसमा सन्  २०३० सम्म नौ सय मेगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ । यस प्रयासमा आठ वटा जलविद्युत परियोजना रहेका छन् । त्यसमा एउटा अपर बलेफी हाइड्रोपावर पनि हो । त्यसैगरि ६ वटा सौर्य ऊर्जा परियोजना रहेका छन् ।  यसले नेपालको नवीकरणीय ऊर्जा पोर्टफोलियोमा विविधता ल्याउने गोल्यान समूहको विश्वास छ । 

Advertisement

Advertisement