विश्वका १४ चुचुरोको दुई–दुई पटक आरोहण गरी सानु शेर्पाले बनाए कीर्तिमान

Advertisement

काठमाडौं । कीर्तिमानी पर्वतारोही सानु शेर्पा विश्वमै दोहोर्याएर १४ वटा अग्ला हिमाल चढ्ने पहिलो आरोही बनेका छन्  ।

उनले आज (जुलाई २१) को बिहान पाकिस्तान समय अनुसार ८ बजेर १७ मिनेटमा विश्वको तेह्रौं अग्लो तथा ८,०३५ मिटर अग्लो गसेरब्रुम–२ हिमालको सफल आरोहण गरेको पायोनियर एडभेन्चर ट्रेक्सका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिए ।

Advertisement

संखुवासभाको मकालु गाउँपालिका–१ स्थायी घर भएका ४७ वर्षीय सानु शेर्पाले १४ वटै अग्ला हिमालहरु दुई पटक आरोहण गर्ने लक्ष्य सहित गसेरब्रुम–२ हिमालको दुई पटक आरोहण गरी कीर्तिमानी कायम गरेका छन् । 

पायोनियर एडभेन्चर ट्रेक्सका अध्यक्ष पासाङ शेर्पाका अनुसार उनले सोभन्दा अघि मकालु हिमालको दोस्रो पटक सफल आरोहण गरेका थिए । केही वर्षअघि स्पेनका आरोही होनेटोले दोहोरो पटक अग्ला १४ हिमालको आरोहण प्रयास गरेका थिए । तर सफल हुन सकेका थिएनन् । सानु शेर्पाले सन् २००६ मा पहिलो पटक चो ओयु हिमालबाट आठ हजार मिटर अग्ला हिमालको आरोहण शुरु गरेका थिए । 

शेर्पाले सन् २००६ मा चो ओयु, २००७ मा सगरमाथा, २००८ मा ल्होत्से, २०१० मा मनास्लु, २००६ सिसापाङमा, २०१२ मा केटु, २०१३ मा गसेरब्रुम–१, २०१४ मा कञ्चनजंगा र २०१४ ब्रोडपिक, २०१६ मा अन्नपूर्ण, २०१७ मा नाङगापर्वत, २०१९ मा गसेरब्रुम–२, मकालु र धौलागिरीको आरोहण गरेका थिए । 

सन् २०१९ मै अग्ला सात वटा हिमालको दोस्रो पटक आरोहण सम्पन्न गरेका उनले सन् २०२१ मा अन्नपूर्ण, ल्होत्से र केटु हिमालको आरोहण गरेका थिए । उनी चौध वटा हिमाल आरोहण गर्ने तेस्रो नेपाली हुन् । 

शेर्पाले दोस्रो पटक आरोहण गरेका हिमालहरु चो ओयु, सिसापाङमा, सगरमाथा, ल्होत्से, मनास्लु, अन्नपूर्ण, कञ्चनजंगा, धौलागिरी, केटु, नाङगापर्वत, ब्रोडपिक, गसेरब्रुम–१, मकालु र गसेरब्रुम–२ आरोहण गरेका हुन् ।

Advertisement

Advertisement