काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच सोमबार भेटघाट भएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले कोभिड–१९ महामारीबाट अति प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने मन्त्रालयको कार्ययोजनामा महानगरपालिकासँग सहकार्य गरिने बताए ।
उनी र बालेनबीच काठमाडौं महानगरपालिकाले अघि बढाएको सम्पदा निर्माण–पुनर्निर्माणको अवस्थाबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालिन सम्पदा यात्रा सुरुवात गर्ने योजना रहेको बताउँदै श्रेष्ठले काठमाडौंका स्थानीय तहको सहयोग आवश्यक रहेको बताए । विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भुनाथ मन्दिर र हनुमानढोका दरवार क्षेत्रलाई सम्पदा पदयात्रामा जोड्ने योजनामा पनि महानगरपालिकाको सहयोग आवश्यक रहेको उनको भनाई थियो ।
पर्यटकीय यातायातलाई सहज बनाउन निजी क्षेत्रको सहकार्यमा ‘होप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याउने योजना अघि बढाइएको र महानगरपालिकाले खुलापार्क निर्माण तथा सम्पदा संरक्षण र सम्वर्द्धन गरी ऐतिहासिक शहरको पहिचानलाई थप बलियो बताउनु जरुरी रहेको श्रेष्ठको भनाई छ । स्थानीय साँस्कृतिक सम्पदाहरुको प्रवर्द्धनले आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन हुनुका साथै जनताको आर्थिक विकासमा टेवा पुग्ने उनले बताए ।
बालेन शाहले आगामी इन्द्रजात्राको अवसरमा विदेशका विभिन्न शहरका मेयर र पाहुनाहरू काठमाडौं आउने जानकारी दिए । इन्द्रजात्रा व्यवस्थापनमा विभिन्न निकायबाट हुनसक्ने सहयोगबारे उनले चासो राखेका थिए । बालेनले इन्द्रजात्रालाई पर्यटन क्षेत्रको विकाससँग जोडेर अघि बढाउन विश्वका विभिन्न मुलुकका मेयरसहित पाहुनाहरुलाई सहभागी गराउने योजना बनाएको बताए ।
परम्परागत जात्रा, चाडपर्व, संस्कृति र सभ्यताले पर्यटकीय आकर्षण बढाउने बालेनले बताए । मन्त्री श्रेष्ठले मूर्त–अमूर्त सम्पदा संरक्षण–सम्वर्द्धन गरी महानगरले सांस्कृतिक शहरको पहिचानलाई जीवन्त राख्नुपर्ने बताए ।