नयाँ हिमाल खुला गर्ने सरकारको योजनापछि आरोहण कम्पनी र आरोहीको सुझाव– पहिल्यै गर्नुपर्थ्यो

Advertisement

काठमाडौँ । सरकारले हिमाल आरोहणका लागि नयाँ हिमचुली खुला गर्ने कार्ययोजना तयार पारेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँच हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका थप हिमाल आरोहण खुला गर्न लागेको हो । 

मन्त्रालयले पर्यटकीय गतिविधि बढाउन र कोभिड महामारीले निकै प्रभावित भएको पर्यटन क्षेत्रलाई लयमा फर्काउने कार्ययोजना तयार गर्ने क्रममा नयाँ हिमालयहरु पनि आरोहणका लागि खुल्ला गर्ने भनिएको हो । योजनाअनुसार आगामी ६ महिनाभित्र थप नयाँ हिमाल आरोहणका लागि खुला गरिने छ । 

Advertisement

कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पाले नयाँ हिमचुली आरोहणको लागि पहिले नै खुला गर्नुपर्नेमा सरकारले ढिलाई गरेको बताए । उनले नेपालमा धेरै पिकहरु रहेको र खुला गरे एकदम राम्रो हुन्छ भन्दै आरोहणको लागि खुला गरेर मात्र नहुने, आरोहीहरुलाई पनि सरकारले हेर्नुपर्ने बताए । आरोहीहरुलाई सरकारले रोयल्टी निःशुल्क गर्नुपर्ने वा ५० प्रतिशत जति भए पनि प्रायोजन गर्नुपर्ने उनले   बताए । 

त्यस्तै, एक्स्ट्रिम क्लाइम्बर्स ट्रेक्स एण्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक पेम्बा शेर्पाले पर्यटन विभाग र नेपाल पर्वतारोहण संघबीचमा आरोहण अनुमतिका बिषयमा विवाद रहेको बताए । उनका अनुसार छ हजार पाँच सय मिटर भन्दा मुनीका पिकलाई ट्रेकिङ पिक पनि भनिन्छ । पर्वतारोहण संघबाट पनि आरोहण पनि अनुमति लिर्नुपर्छ । आरोहण गर्दा लिजट अफिसर चाहिन्छ ।’ 

शेर्पाले गत वर्ष ५,७२६ मिटर अग्लो शिखर लुजा पिकलाई फुल प्रायोजन गरेको सुनाउँदै उनले भने, ‘त्यो बेला हामीले पूरा रोयल्टी तिरेर आठ हजार मिटरको आवश्यकताहरु पूरा गरी आरोहणको लागि खुला गरेका थियौं  । पर्वतारोहण संघलाई अधिकार दिइसकेका हिमालहरुलाई त्यस्तो गर्नु नपर्ने हो । तर, पाँच हजार मिटरको हिमाललाई पनि हामीले आठ हजार मिटरको आवश्कता पूरा गरेर बीमा गरेर विदेशी भएको खण्डमा लिजन अफिसरलाई लिएर जानुपर्छ ।’ 

यस्ता किसिमको कुरामा सरकारले ध्यान दिए सहज हुने शेर्पाको भनाई छ । उनले पाँच हजार दुई–तीन सय मिटरको हिमाल चढ्नको लागि आठ हजार मिटर अग्लो हिमाल चढ्दाको जस्तो शर्तहरु पूरा गरेर कहाँ सकिन्छ ? भन्दै ट्रेकिङ पिकहरुको अनुमति संघबाट मात्र अनुमति लिने व्यवस्था मिलाइदिए सजिलो हुने बताए । 

पर्वतारोहण संघमा वसन्त ऋतु, शरद ऋतु, जाडो याममा आरोहण गर्दा फरक–फरक रोयल्टी तिर्नुपर्छ । तर त्यही पिक आरोहण गर्नुपर्दा पर्यटन विभागले १२५ डलर रोयल्टी तिर्नुपर्ने र फोहोरवापत पाँच सय डलर जम्मा गर्नुपर्छ । पुनः एक्स्पडिशनको अनुमति लिर्नुपर्दा त्यो थप महँगो पर्न जाने र आठ हजार मिटरका हिमालको एक्स्पडिशनको आवश्यकता पूरा गर्नु पर्दा एक्स्पडिशन कम्पनीहरुलाई धेरै महँगो पर्ने उनले  बताए । 

एट–के एक्सपिडिसनका संस्थापक पेम्बा शेर्पाले नयाँ हिमचुली खुला गर्ने योजना सकारात्मक भए पनि उचाईका आधारमा अनुमति कस्ले लिने भन्ने कुराको वर्गीकरण हुनुपर्ने र कुनै हिमालमा लिजन अफिसर चाहिने कुनैमा नचाहिने अन्योलता हटाउनुपर्ने बताए । 

जति नयाँ पिकहरु खुला गर्यो त्यति बढी विदेशी आरोही आउने उनको विश्वास छ । शेर्पाले विदेशी आरोहीले नयाँ नयाँ पिकमा आरोहण गर्न रुचाउने बताए । एउटै हिमाल दोहोर्याएर आरोहण गर्दा उनीहरुले निराशा महशुस गर्ने उनले बताए । साथै, उनले एउटै हिमालहरुको मात्र प्रवर्द्धन भइरहेको भन्दै पर्यटकहरुले नयाँ ठाउँको आरोहण गर्दा त्यो ठाउँको विकास हुने बताए । 

सरकारले खुला गरेका ४१४ हिमाल छन् जसमध्ये पर्वतारोहण संघबाट २७ वाट हिमालहरुको अनुमति जारी हुन्छ भने ३८७ को विभागबाट जारी हुने गरेको छ । संघका अध्यक्ष निमा निरू शेर्पाले पर्यटक बढाउन नयाँ ट्रेकिङ पिक खुलाउनु जरुरी रहेको बताए । त्यसका लागि १७३ वटा ट्रेकिङ पिक खुला गर्न सरकारलाई सुझाव दिएको उनले जानकारी दिए ।

शेर्पाले भने, ‘पूर्वदेखि पश्चिमसम्म हिमाली भेगमा रहेको पिक खुला गर्नुपर्छ । त्यसो भयो भने छोटो समयमै ट्रेकिङ जाँदाजाँदै पिक चढ्न सकिन्छ । नयाँ पिक खुलेपछि पर्यटकले नयाँ गन्तव्य हुँदै हिमाल आरोहणमा जान सक्नेछन् । अहिले सगरमाथा, अन्नपूर्ण, लाङटाङ लगायत हिमाल र त्यस आसपासका क्षेत्र लोकप्रिय छन् । नयाँ पिक खुला गरे अन्य हिमाल र पदमार्गको पनि प्रचार हुन्छ । यसले देशको आर्थिकमा पनि सहयोग पुग्छ । पर्यटन क्षेत्रमा आवद्ध आरोही, कामदारले पनि रोजगार पाउँछन् ।’

Advertisement

Advertisement