श्रीमद्भागवत् गीताबारे पूर्वीय र पाश्चात्य विव्दान्हरुको कस्तो छ बुझाई ?

Advertisement

शिरीषवल्लभ प्रधान
श्रीमद्भागवत् गीता, जसमा भगवान् श्रीकृष्णले अर्जुनलाई कुरुक्षेत्रमा धर्म, अधर्म, कर्म, अकर्म, भक्तियोग, ज्ञानयोग, कर्मयोग आदि बारे ज्ञान दिनुभएको छ, मानवजातीकै निम्ति अति उपयोगी तथा महत्वपूर्ण पुस्तक मानिन्छ । कुल अठार अध्यायमा विभाजित ७०० श्लोकको यो ग्रन्थ आध्यात्मिक ज्ञानको दृष्टिले मात्र उपयुक्त नभै यसमा मानव जीवनका अत्यन्त उच्चस्तरका सैध्दान्तिक एवं व्यावारिहक पक्षहरुबारे प्रकाश पारिएको छ । 

गीताको महत्बारे महात्मा गान्थीले लेखेका छन्, जब कुनै बखत मलाई जीवनमा संशय हुन्छ, जब मेरा अनुहारमा चिन्ताका रेखाहरु देखिन्छन् र जब म आशाको एउटा किरण पनि देख्दिन, त्यसबखत म भग्वद्गीता पल्टाउँछु र त्यहाँ एउटा त्यस्तो श्लोक फेला पर्छ, जसले मलाई दुःखको क्षणमा पनि हर्षित तुल्याइदिन्छ र मेरो अनुहारमा तत्क्षण मुस्कानका रेखाहरु देखापर्न थाल्छन् । पाश्चात्य दार्शनिक एल्डोस हक्स्लेले भनेका छन्, ‘गीता उच्चतम् मानवीय मूल्यमा आधारित आध्यात्मिक विकासको सबैभन्दा व्यवस्थित वक्तव्य हो ।’ 

Advertisement

उनका अनुसार ‘गीता आध्यात्मिक ज्ञानको सबैभन्दा स्पष्ट तथा व्यापक सार हो, जसका मूल्य तथा मान्यताहरुले भारतवर्षमा मात्र नभै सारा मानव समुदायका समस्यालाईलाई सम्बोधन गर्छ ।’ त्यसैगरी स्पेनिस लेखक जोन मास्कारोले गीताबारे यस्तो वक्तव्य दिएका छन्ः ‘भागवत् गीता ब्रह्माण्ड जत्तिकै व्यापक छ । जसरी आकाशका सुन्दर ताराहरु रातको मौनतामा मात्र प्रकाशित हुन्छन्, त्यसैगरी गीताको रहस्य पनि आत्माको मौनतामा मात्र प्रकाशित हुन्छ ।’

गीता वेद, उपनिषद्का ज्ञानका सुन्दर मोतीहरुले सजिएको एक उत्कृष्ट माला हो । आज भन्दा करीव ५ हजार वर्ष अगाडि रचिएको गीता अहिले २१ औं शताव्दिमा पनि त्यत्तिकै सान्दर्भिक, सार्थक, उपयोगी एवं महत्वपूर्ण मानिन्छ । गीता प्रस्थानत्रयी अर्थात् वैदिक सनातम धर्म अनुसार आध्यात्मिक यात्रातर्फ प्रस्थान गर्नु अघि पढ्नपर्ने तीन महत्वपूर्ण ग्रन्थहरु मध्ये एक मानिन्छ । प्रस्थानत्रयीका अन्य दुई ग्रन्थहरु हुन् वेदान्त सूत्र र ११ प्रमुख उपनिषद्हरु । गीता वास्तवमा चारै वेदको सार हो । विव्दान्हरु भन्छन्, गीता कृष्णरुपी ग्वालाले अर्जुनरुपी बाछोलाई पात्र बनाई चारवेदरुपी चौपाया गाईलाई दुहेको अमृतरुपी दूध हो, जसलाई पिउनाले मानव मात्रको कल्याण हु्न्छ ।

कौरवहरुव्दारा अनेकौं जाल, झेल, षड्यन्त्रव्दारा खोसिएको हस्तिनापुरको आफ्नो गुमेको राज्य युध्दमा जितेर फर्काउने उद्येश्यले कुरुक्षेत्रको रणभूमिमा गाण्डिव धनुष लिएर उपस्थित विश्वकै सर्वश्रेष्ठ धनुर्धारी अर्जुन रणभूमिमा आफ्ना मामा, काका, दाजु, भाई, हजुरवा, गुरु आदि स्वजनहरुलाई देखेर मोह र आशक्तिका कारण युध्दबाट विमुख भै गाण्डिव धनुषलाई विसाउंदै युध्दबाट भाग्न खोज्दा उनका सारथी एवं पथप्रदर्शक भगवान् श्रीकृष्णले कसरी उनलाई सम्झाई, बुझाई गरी स्वधर्म र कर्तव्य पालना गर्न लगाउंछन् भन्ने कुरा गीतामा विभिन्न उपदेश तथा उदाहरणहरु मार्फत दर्शाइएको छ ।

गीतामा भगवान् श्रीकृष्ण अर्जुनलाई निष्काम कर्मबारे उपदेश दिँदै भन्नुहुन्छः 
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन
मा कर्मफलहेतुर्भूर्मा  ते संगोस्त्वकर्मणि ।।२.४७।।

हे अर्जुन, तिम्रो कर्म गर्नमा मात्र अधिकार छ, फल प्राप्तिमा छैन । तसर्थ तिमी कर्मफलको कारण नबन र कर्म नगर्नुमा पनि आशक्ति नलेऊ ।

यो गीताको सबैभन्दा बढी चर्चा गरिएको र सबैभन्दा कम बुझिएको श्लोक हो । यसमा भगवान् भन्नुहुन्छ, तिमी कर्ममा मात्र ध्यान देऊ, त्यसको फल प्राप्तिको चिन्ता नलेऊ । किनभने कर्म गरेपछि फल अवश्य मिल्छ, तर त्यस फल प्राप्तिको कारण तिमी नबन । साथै भगवान् यो पनि भन्नु हुन्छ कि कर्म गर्दा राम्रो, नराम्रो फल मिल्ला र त्यसको जस, अपजस लिनपर्ला भनेर म कर्म नै गर्दिन भनेर हातखुट्टा बांधेर पनि नबस । अर्थात् कर्मको दोषबाट मुक्त हुन म शारीरिक कर्म म गर्दिन भनेर कर्म नगर्नमा पनि आशक्ति नलेऊ ।

यस श्लोकका व्यावहारिक, मनोवैज्ञानिक तथा आध्यात्मिक धेरै पक्षहरु छन् जसबारे यहां विचारविमर्श गरिन्छ । कर्म कारण (कज) हो भने फल कार्य (इफेक्ट) । यसरी कर्म र कर्मफलवीच कार्यकारणको सम्बन्ध छ । जब कारण हुन्छ भने कार्य पनि अवश्य हुन्छ । तसर्थ कर्म पछि फल अवश्यंभावी छ । त्यसरी अवश्यंभावी हुने कुराबारे तिमी किन चिन्ता गर्छौ भन्ने भगवान्को आग्रह हो । फेरि हामीले कर्म अर्थात् कारणमा ध्यान दिने हो, फल अर्थात् कार्यमा हैन । हामीले परीक्षा पास गर्नु क्ष भने परीक्षाफलमा ध्यान दिने हैन, अध्ययनमा ध्यान दिने हो । कर्मचारीले कार्यालयमा काम गर्दा महिनाको अन्त्यमा प्राप्त हुने फल अर्थात् तलवमा ध्यान दिने हैन, दिनदिनैको काम, कर्तव्यमा ध्यान दिएपछि तलव अर्थात् फल आफै पाक्छ । तर हामीले कर्मलाई विर्सेर फलमा मात्र ध्यान दिन थाल्यौं भने कर्मबाट हाम्रो ध्यान विमुख भै कर्म अधूरो हुनजान्छ, जसले गर्दा हामी उत्कृष्ट फल प्राप्त गर्न सक्दैनौं ।  

‘साधन ठीक नभइकन साध्य ठीक हुँदैन । त्यसैले कर्ममा ध्यान नदिइकन फलमा मात्र ध्यान दिन थालियो भने कार्य सफल हुँदैन’, स्वामी विवेकानन्द भन्नुहुन्छ । हामीले केवल नतीजामा ध्यान दियौं र कर्ममा ध्यान दिएनौं भने नतीजा हाम्रो अनुकुल हुँदैन्, उहाँ औंल्याउनुहुन्छ– यो नबिर्सौं कि कारणले नै नतीजा ल्याउने हो । ‘जस्तो कार्य गरिन्छ नतिजा पनि त्यस्तै हुन्छ । त्यसैले फलमा ध्यान नदिई कार्यमा ध्यान दिन गीताले भनेको हो ।’

अर्को कुरा, हामीले फलप्रति धेरै आशक्ति देखायौं भने यदि फल हाम्रो अनुकुल भएन अथवा अपेक्षाअनुरुप भएन भने हाम्रो मन खिन्न हुन्छ र हामी चिन्ताले ग्रस्त हुन्छौं, त्यसले हामीलाई मानसिक पीडा हुन्छ । तसर्थ फलको धेरै चिन्ता नगरी कर्ममामात्र ध्यान दिएको खण्डमा हाम्रो मन शान्त हुन्छ । फेरि आजभोलि मानिसहरु यति स्वार्थी भएका छन् कि विना मतलवको र विना स्वार्थको एउटा सिन्का पनि भाँच्दैनन् । गीताले हामीलाई सधैं र सबै कार्य आफ्नो निम्तिमात्र नगरी अरुको भलाइको लागि, देश र समाजको लागि पनि केही गर्ने प्रेरणा दिन्छ । अरुको भलाइको निम्तिन गरिने कार्यले जति आनन्द र शान्ति प्राप्त हुन्छ, त्यो आफ्नो स्वार्थको निम्ति गरिने कार्यबाट मिल्दैन । त्यसैले त महाकवि देवकोटा भन्नुहुन्छ, खोज्छन् सुख भनी सुख त्यो कहां छ, आफू मिटाई अरुलाई दिनु जहां छ ।

गान्धीले कर्मफल त्याग गर्ने गीताको उपदेशबारे आफ्नो दृष्टिकोण राख्दै भन्नुभएको छ, कर्मफलको त्याग गर्ने भन्नाले यहाँ फलप्रति तटस्थ भाव राख्ने भनिएको हैन्, फल त्यागको अर्थ फलको धेरै चिन्तन नगर्ने भनिएको हो, किनभने फलप्रतिको आशक्ति, चिन्ता र फल प्राप्त गर्ने हतारले गर्दा हाम्रो स्नायुप्रणालीलाई असर गर्छ, जसको कारण हामीे मानसिक सन्तुलन गुमाउन पुग्छौं । कर्मलाई उत्कृष्ट बनाउनेतिर ध्यान दिनु भन्दा नतीजा हासिल गर्न भन्ने कुरामा मात्र हामीले आफ्नो सम्पूर्ण उर्जा र भावना खर्च गर्न थाल्यौं भने त्यो समयको वर्वादी मात्र हुनजान्छ, गान्धी औंल्याउनुहुन्छ । 

यसबारे आदि शंकराचार्यको आध्यात्मिक टिप्पणी अत्यन्त मननीय तथा उल्लेख्य भएकोले त्यससम्बन्धमा पनि चर्चा यहां विशेष चर्चा गरिन्छ । यदि कर्म फलमा तिम्रो आशक्ति भएमा तिमी कर्मफल प्राप्तिको कारण बन्ने छौ, जुन तिम्रो मुक्तिको मार्गमा बाधा बन्नेछ । जब मानिस कर्मफलको कामनाले प्रेरित भै कर्ममा प्रवृत्त हुन्छ भने ऊ कर्मफल हेतु भै जन्म, मृत्युको चक्रमा फसिरहन्छ ।  किनभने हाम्रो मनमा रहेको अतृप्त कामना नै पुनर्जन्मको हेतु हुन्छ । अध्यात्ममार्गको उद्येश्य जीवन, मृत्युको चक्रबाट सदाकोनिम्ति मुक्त हुने हो, सदा आनन्दित रहने हो । जबसम्म मानिसको मनमा कामनाको वीज बाकि रहन्छ, ऊ अशान्त बनिरहन्छ, उसले जन्म, मृत्युरुपी संसारचक्रमा सदा फसिरहनुपर्ने हुन्छ । त्यसो भनेर कर्म नै नर्गु पनि ठीक हैन, किनभने दुःख स्वरुप कर्म किन गर्ने भनी कर्म नै नगरौं भनी कर्म नगर्नुमा पनि आशक्तिन हुनु उपयुक्त हैन, शंकराचार्य भन्नुहुन्छ । 

यसलाई गीताकै अर्को श्लोकमा स्पष्ट पारिएको छः
कर्मण्यकर्म यः पश्येदकर्माणि च कर्म यः।
स बुध्दिमान्मनुष्येषु स युक्तः कृत्स्नकर्मकृत ।। ४.१८।।

अर्थात, जसले कर्ममा अकर्म र अकर्ममा कर्म देख्छ, त्यो मनुष्यहरुमा बुध्दिमान् हो र त्यस्तो योगीले अनाशक्त भै समस्त कर्महरु पनि गर्दै रहन्छ । 

यहाँ कर्म भन्नाले हात, खुट्टा चलाउने शारीरिक कार्य मात्र बुझिन्न । जसले निष्काम भावले कर्म गर्छ अर्थात् फलको आश नराखी कर्म गर्छ वास्तवमा उसले शारीरिक चेष्टाका बावजुद पनि कर्म गरेको ठहरिंदैन् । अर्थात् ऊ कर्मफलबाट बाँदिदैन । तर बुध्दिमान् मानिसले सामान्य मानिसमा शरीर आदिको चेष्टाको अभावमा पनि कर्म देख्छ । किनभने कर्मको त्याग गर्नु पनि कर्म नै हो । कर्म शारीरिक चेष्टामा सीमित छैन, मनमनैले कसैले कुनै कुराको कामना गर्छ भने त्यो पनि कर्म नै ठहर्छ । यसरी बुध्दिमान् मनुष्य फलको आश नलिइकन अर्थात् फलप्रति कुनै आशक्ति नलिइकन कर्म गरिरहन्छ र त्यस्तो व्यक्ति कर्ममा अकर्म देख्छन् । तर जसको शरीरका अंगहरु त शान्त देखिन्छ, तर मनले भित्र भित्रै अनेक कामना गरिहेको हुन्छ, त्यस्तो व्यक्तिको अकर्ममा पनि कर्मको भाव देखिन्छ, र त्यसप्रकार कर्म नगर्ने व्यक्ति पनि कर्मफलको खराव नतीजाको भागी बन्छ भन्ने शंकराचार्यको आशय देखिन्छ । विव्दान् व्यक्तिले अकर्म गर्दा पनि अर्थात् मनमा कुनै आशक्ति नलिई आफ्नो कर्तव्यमा वर्तिरहंदा पनि सामान्य व्यक्तिले त्यसमा कर्म देख्छ । त्यस्तै सामान्य व्यक्तिले हात, खुट्टा बाँधेर म त कर्म गर्दिन भनेर बस्ता पनि उसको मन यताउति चंचल भै डुलिरेहको र मनमा कामना उत्पन्नत भैरहेको अवस्थामा विव्दा्नहरु त्यस अकर्ममा पनि कर्मको भाव देख्छन् ।

गीतामा भगवान् भन्नुहुन्छ, मेरो केही पनि कामना छैन, मलाई कुनै कुरा पनि हासिल गर्नु छैन र मेरो कुनै कर्तव्य वा गर्नुपर्ने कार्य बाकि छैन, तर पनि म लोकव्यवहारको निम्ति कर्म गरिरहन्छु । यदि मैले कर्म नगर्ने हो भने अरु मानिसहरुले पनि त्यसको अनुशरण गर्ने छन्, जसले समाजमा अराजकता पैदा हुन्छ । कर्ममा अहंकार जोडियो भने त्यो सकाम कर्म हुन्छ तर अहंकार रहित कर्म नै सर्वोत्कष्ट कर्म हो भन्ने गीताको सन्देश मननयोग्य छ । आफ्नो लागि त सबै मानिस ज्युंछन्, पशु पनि आफ्नो लागि बांच्छ तर जो अरुको निम्ति बांच्छ, अरुको भलाईको निम्ति कर्म गर्छ वास्तवमा त्यही सच्चा मानिस हो, जो पशुत्वबाट माथि उठेको छ । गीताको कर्मयोगको यो सन्देश आजका राजनीतिज्ञ, समाजसेवी, विचारक सबैको निम्ति प्रेरणाको श्रोत बनिरहोस ।

Advertisement

Advertisement