काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाली मुलका अमेरिकी गायक दिवेश पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दुत नियुक्त गरेको छ ।
साँस्कृतिक कार्यक्रममा सहभागी हुन र वृत्तचित्र निर्माणका लागि
पहिलो पटक नेपाल आएका उनलाई आइतवार मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालको ग्लोवल गुडविल एम्बास्डरको रुपमा सम्मानित गरेको हो । पोखरेल अमेरिक आइडल २०२० का उपविजेता हुन् ।
कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले पोखरेलले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पर्यटनको क्षेत्रलाई प्रचारप्रसार गर्नको लागि महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले नेपालको संस्कृति, सम्पदाहरुलाई प्रचार गर्ने र पर्यटन क्षेत्रको विकास गर्ने कुरामा विश्वस्त रहेको बताए ।
श्रेष्ठले आइतबार मन्त्रिस्तरीय निर्णय गरेर गायक पोखरेललाई ग्लोवल गुडविल एम्बास्डरको रुपमा सम्मानित गरेको बताए । उनले गायक पोखरेलले कलामार्फत नेपाल र नेपालको पर्यटन क्षेत्रले ठूलो फड्को मार्ने बताए ।
गायक पोखरेलले आगामी दिनमा नेपाली संस्कृति, प्रकृति, पर्यटनलाई अघि बढाउने कुरामा प्रतिवद्ध भएर लाग्ने बताए । उनले अमेरिकन आइडलमा जाँदा नेपालीहरुको साथ सहयोग धेरै पाएको पनि स्मरण गरे ।
एक महिनाको नेपाल बसाईमा गायक पोखरेलले नेपालको सांस्कृतिक, सांगीतिक, पर्यटन क्षेत्रको प्रवद्र्धनलाई जोड दिन संगीत युनिभर्सल ल्याङ्ग्वेज गर्ने, देशका प्रमुख ७ शहरमा ९ वटा कन्सर्ट हुने, कन्सर्टकै आधारमा सांगीतिक टूर डकुमेण्ट्री बनाउने कार्यक्रम छ ।