डेनाली हिमालको सफल अरोहण गर्ने टोलीलाई अमेरिकी दूतावासद्धारा सम्मान

Advertisement

काठमाडौं । अमेरिकाको सबैभन्दा अग्लो हिमाल डेनाली (६,१९० मिटर)को सफल आरोहण गरेका नेपाल र अमेरिका आरोही समूहलाई अमेरिकी दूतावासले सम्मान गरेको छ । 

मंगलबार अमेरिकी राजदूत रेन्डी बेरीले नेपाल–अमेरिका मित्रताको झन्डा लिएर डेनाली हिमालको चुचुरोमा पुर्याउन सफल नेपालका पर्वतारोही कर्मा तेन्जिङ, मिङमा शेर्पा, छाङ दावा शेर्पा, मिङमा ग्याबु शेर्पा, जाङ्बु शेर्पा, पासाङ दावा शेर्पा र कर्मा ग्याल्जे शेर्पालाई सम्मान गरे । झण्डा डेनालीको चुचुरोमा लैजानुअघि सगरमाथाको शिखरमा पुर्याएका सेभेन समिटका निर्देशक पासाङ फुर्बा शेर्पालाई पनि सम्मान गरिएको थियो । 

Advertisement

राजदूत बेरीले नेपाल–अमेरिका मित्रताको झन्डा ग्रहण गरेका थिए । काठमाडौंस्थित अमेरिकी दूतावासले तीन हप्ता लाग्ने हिमाल तीन दिनमै आरोहण सम्पन्न गरेकोबारे पर्वतारोहीहरुले बताएको जानकारी दिएको छ । 

जेठ २५ गते बिहान ५ः३० मिनेटमा उक्त समूहले डेनाली हिमाल चढ्न सफल भएको थियो । यसअघि सगरमाथाको आरोहण गरिसकेका मार्क परेल्ला र कर्मा तेन्जिङको नेतृत्वमा विश्वका १४ अग्ला हिमालको आरोहण गर्ने प्रथम दक्षिण एशियाली आरोही मिङ्मा शेर्पा, १४ हिमालको आरोहण गरेका विश्व कीर्तिमानी आरोही छाङ दावा शेर्पा सहभागी रहेको थियो । 

त्यस्तै, व्यवसायिक पर्वतीय पथप्रदशक तथा चार पटक सगरमाथा आरोहण गरेका आरोही कर्मा ग्याल्जे शेर्पा, १७ पटक सगरमाथा आरोहण गरेका जाङ्बु शेर्पा र ९ पटक सगरमाथा आरोही पासाङ दावा शेर्पा पनि आरोहणमा सहभागी रहेका थिए ।

नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औं वार्षिकोत्सव पुगेको अवसरमा पर्वतारोहण अभियान सञ्चालन गरी डेनालीको आरोहण गरिएको हो । अमेरिका–नेपाल फ्रेण्डसिप टिम नामक पर्वतारोहण अभियानको उद्देश्य क्यान्सरविरुद्ध जनचेतना जगाउने रहेको र यसको मुख्य नारा नै ‘क्यान्सरविरुद्ध आरोहण राखिएको कर्मा तेन्जिङले बताए ।

Advertisement

Advertisement