सप्तरीमा गाउँपालिका उपाध्यक्षसहितका मिटरब्याजीविरुद्ध एक सय १४ उजुरी

Advertisement

सप्तरी । जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध एक सय १४ उजुरी दर्ता भएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै एक सय १४ जनाले उजुरी दिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

मिटरब्याजीको गिरोहले सम्पत्ति हड्पेर सर्वसाधारणको उठिबास लगाइरहेको विषय बाहिरिएपछि मिटरब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदल नै गठन गरेको छ । मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेसँगै गत साउन २८ गते उजुरी आह्वान गरिएको थियो । 

Advertisement

कार्यदलका संयोजक डा भीष्मकुमार भुसालले जारी गर्नुभएको सूचनामा मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आ–आफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा यथासम्भव बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न भनिएको थियो ।

देशैभरी मिटर ब्याजको जालो फैलिएको हुनसक्ने अवस्था र आफ्नो पीडा सार्वजनिक गर्न वा कानुनी उपचारका लागि पहल गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गरी सार्वजनिक सूचना जारी गरिएको डा भुसालले बताए । सूचना जारी भएपछि मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोहबाट पीडित भएको भन्दै सर्वसाधारणबाट एक सय १४ उजुरी परेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । 

यस्तो उजुरी तिलाठी कौइलाडी गाउँपालिकाका उपाध्यक्ष फुलकुमारी साहविरुद्ध पनि परेको छ । तिलाठी कौइलाडी–६ की उपाध्यक्ष साहविरुद्ध सोही वडाकी सुनितादेवी मण्डलले आवश्यक कारबाहीको माग गर्दै उजुरी दिएका छन् । 

उजुरीकर्ताका सासू लक्ष्मीनियादेवी तथा ससुरा नैमानी मण्डलले २०६१ सालमा दुई पटक गरी लिएको रु ४० हजार ऋण ब्याजसहित फिर्ता गरे पनि ऋण लिँदा पारित गर्न लगाएको जग्गा हालसम्म फिर्ता नगरेको मण्डलले आरोप लगाएकी छिन् । 

प्राप्त भएको निवेदनमाथि प्रमाणका आधारमा जिल्ला सरकारी वकिल कार्यालयसँग समवन्य गरी जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाउने तयारी भइरहेको प्रजिअ गौतमले जानकारी दिए । प्राप्त उजुरीका बारेमा गृह मन्त्रालयलाई जानकारी गराइएको जनाउँदै प्रमुख जिल्ला अधिकारी गौतमले जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयले पनि आफ्नै तरिकाले अध्ययन गरिरहेको बताए । प्रजिअ गौतमका अनुसार कतिपयले ठाँडो निवेदन र कतिपयले प्रमाणसहित उजुरी दिएका छन् ।

“एकै जना मिटरब्याजीबाट धेरै जना सर्वसाधारण पीडित भएको उजुरी पनि परेको छ”, उनले भने, “धेरै जना मिटरब्याजीले एकै जनालाई मात्रै पनि पीडित बनाएका रहेछन् ।” ऋण लिएको पैसा ब्याजसहित तिरिसक्दा पनि जग्गा तथा सम्पत्ति फिर्ता नगरेको उजुरीसमेत परेको प्रजिअ गौतमले बताए । कतिपयले ऋण दिने नाममा सर्वसाधारणको जग्गा नै आफ्नो नाममा पारेको र पैसा पनि असुलिरहेको पाइएको उनले जानकारी दिए ।  

यसअघि प्रधानमन्त्रीको निर्देशनपछि पक्राउ परेका सप्तरीका मिटरब्याजी रामदेव साहका छोरा नन्दकिशोर र छोरी अनुराधा असार २२ गतेदेखि पूर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । 

सुनसरीको धरानबाट नन्दकिशोर पक्राउ परेको दुई दिनपछि जेठ २८ गते काठमाडौँको गौशालाबाट अनुराधा पक्राउ परेकी थिइन् । प्रधानमन्त्रीले निर्देशन दिएपछि मात्र आरोपितलाई पक्राउ गर्न नेपाल प्रहरी सक्रिय भएको थियो । ठगी तथा आपाराधिक विश्वासघात मुद्दामा इलाका प्रहरी कार्यालय कल्याणपुरबाट रामदेवसहित उनका परिवारविरुद्ध मुद्दा चलिरहेको छ ।

सरकारले उजुरीका लागि दिएको अन्तिम समय सकिएको र अब मिटरब्याजीविरुद्ध उजुरी लिने कि नलिने भन्ने निर्देशन माथिबाट आइनसकेको उनले जानकारी दिए । सप्तरीसहित देशैभरी मिटर ब्याजीपीडितहरू दिनहुँ प्रदर्शन गरिरहेका छन् । 

मोरङमा  ३७ जनाले दिए उजुरी

यसैबीच अरुलाई गरिब बनाएर आफू धनी बत्रे मिटरब्याजी मोरङमा पनि देखा परेका छन् ।  

मिटरब्याजीका कारण देशभरका पीडितको समस्यालाई सम्बोधन गर्ने हिसाबले गृह मन्त्रालयले आ–आफ्ना जिल्लामा प्रशासन कार्यालय उजुरी दर्ता गर्न सूचना जारी गरेपछि मोरङमा यही भदौ ५ गतेसम्म ३७ जनाले उजुरी गरेको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए । 

ग्रामीण क्षेत्र धनपालथान र जहदा गाउँपालिका, रङ्गेली र सुन्दरहरैचा नगरपालिका सहित विराटनगर महानगरपालिकाबाट आएका उजुरीअनुसार ऋणीले ऋण तिर्दा पनि जग्गा फिर्ता नगरेको गुनासोसहितका उजुरी परेको बताइएको छ ।

सयकडा रु तीनदेखि पाँचसम्म मासिक ब्याज लिने गरेको मिटरब्याजीका कारण धेरै मानिस घरबारविहीन बनेका छन् भने भएका सम्पत्ति पनि मिटरब्याजीले कब्जा गर्ने गरेका छन् । ऋणीहरु रु एक लाखदेखि रु पाँच लाखसम्म ऋण लिएको र लिएको ऋणभन्दा पनि बढी ब्याज बुझाई सक्दा पनि ऋणमुक्त हुन नसकेका पीडितको हकमा सरकारले ध्यान दिनुपर्ने स्थानीय अर्जुन सुवेदीले बताए । 
    
सरकारले भदौ ५ गतेसम्म उजुरी दर्ता गर्न दिएको हदम्याद पछि पनि तीन  उजुरी परेको र यी सबै उजुरीको अभिलेख राखी गृहमन्त्रालयमा पठाइसकेको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । मिटरब्याजीहरु ऋण दिनुभन्दा पहिले नै धितोमा राखिने जग्गा मालपोत कार्यालयमा राजीनामा पास गराई लिने गरेकाले समस्या भएको र यस्तो समस्या एक ठाउँको मात्र नभएर देशव्यापी देखिएकाले यसमा राज्य गम्भीर हुनुपर्ने बताएको छ ।
    
समस्यामा परेका मानिसलाई तत्काल बैंकले ऋण नदिने र समस्या समाधान गर्न मिटरब्याजीको सम्पर्कमा जाने गरेका पीडितले जति कमाए पनि सबै पैसा मिटरब्याजीलाई नै बुझाउनु परेको र तर पनि ऋणबाट मुक्त हुन नसकी आफ्ना सम्पत्ति अरुको कब्जामा गएको दुःख सहनयोग्य नभएको पीडित बताउँछन् ।

सुनसरी इनरुवा नगरपालिका वडा नं ७ चाँदबेलका दुई मिटरब्याजीहरुका कारण सयौँका सङ्ख्यामा मानिस ठगिएका छन् भने अरुलाई ठगेर धन आर्जन गर्न सफल भएको ती दुवै मिटरब्याजी गर्व गरिरहेका छन् । पहिले त यी मिटरब्याजीले पैसा छैन भन्ने र धेरै कर गरेपछि सयकडा रु तीनदेखि रु पाँच लिन्छु भन्ने कम समय भएमा सयकडा रु पाँच लिने र बढी समयमका लागि दिने ऋणमा रु पाँचसम्म लिने गरेको पाइएको छ ।

सर्लाहीमा चार सय २७ उजुरी
यता, मिटरब्याजी आरोपितविरुद्ध चार सय बढी पीडितले उजुरी दिएका छन् । सरकारले आरोपितविरुद्ध उजुरी दिन आह्वान गरेपछि जिल्लामा चार सय २७ पीडितले मिटरब्याजीविरुद्ध उजुरी दिएका हुन् ।

सरकारले गरेको आह्वानपछि जिल्लामा विभिन्न समयमा मिटरब्याजीबाट पीडित बनेका चार सय २७ जनाले उजुरी दिएका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए । उनका अनुसार सरकारले यही भदौ ५ गतेसम्म उजुरी दिन समय दिएको भए पनि कतिपयको अहिले पनि उजुरी दिइरहेको छ । भदौ ५ गतेपछि आएका उजुरीको छुट्टै लगत राखेर दर्ता गरिरहेको प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।  

जिल्लामा धेरै उजुरी गत बिहीबार परेको र पीडितले जिल्ला सदरमुकाम मलङ्वामा प्रदर्शनसमेत गरेका थिए । पीडितले गरेको प्रदर्शनमा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले समेत सहभागिता जनाएका थिए । लामो समयदेखि शुद्धखोर अभियानमा लाग्नुभएका नगर प्रमुख बुढाथोकीले प्रदर्शनमा उत्रिएका पीडितको प्रदर्शनलाई समर्थन जनाए । 

जिल्लामा मुख्यत मिटरब्याजी आरोपितमा श्यामकृष्ण साह, रामबाबु राय र सञ्जय साह रौनियारको नाम पहिलादेखि नै चर्चामा रहेको भए पनि पछिल्लो समय इन्दल राय, रामस्वरुप राय र रामचन्द्र रायलगायतका नाममा पनि उजुरी आएको जिल्ला प्रशासन कार्यालयले जनाएको  छ ।

आरोपितमध्ये ब्रह्मपुरी गाउँपालिका– २ त्रिभुवननगर निवासी सञ्जय अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् । प्रहरीले उनीविरुद्ध मिटरब्याजमा ऋण लगानी गरी ठगी गरेको आरोपमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोख्रेलले बताए । अन्य आरोपित फरार रहेका र उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । रासस

Advertisement

Advertisement