काठमाडौं । बाह्र वर्षपछि यस पटक शरद ऋतुमा समेत सगरमाथा आरोहण हुने भएको छ । यस ऋतुमा पाँच जना आरोहीले सगरमाथा आरोहण गर्न लागेका हुन् ।
एक्स्पेडिशन आयोजक पायोनियर एडभेन्चर ट्रेक्सका अध्यक्ष पासाङ शेर्पाका अनुसार सगरमाथा आरोहण गर्न पोल्याण्डका दुई, चेक गणतन्त्रका दुई र दक्षिण अफ्रिकी आरोही एक जना सगरमाथा आधार शिविर पुगेका छन् ।
पोल्यान्डका स्की पर्वतारोही एन्ड्रजेज बार्जिएलले बिना अक्सिजन सगरमाथाको चुचुरोबाट स्की च्यालेन्ज गर्न लागेका अध्यक्ष शेर्पाले बताए । बार्जिएलले पहिले पहिले पनि सगरमाथा आरोहण गरेको रेकर्ड छ । सन् २०१९ मा खुम्बु आइसफलमा ठूलो सेराक झुण्डिएको जोखिमका कारण पोल्यान्डका स्की पर्वतारोही एन्ड्रजेज बार्जिएलले स्की च्यालेन्ज रद्द गरेका थिए ।
त्यही एभरेष्ट स्की च्यालेन्ज जारी राख्न यसपटक उनी प्रयास गर्दै छन् । विशेषज्ञ अल्पाइनिस्ट जानुस गोलब उनको आरोहण साझेदार रहने र बारटेक बारगेलले ड्रोनको प्रयोग गरी हिमालमा भएको गतिविधि लगायत सगरमाथाको आरोहण कार्यको रेकर्ड गर्ने अध्यक्ष शेर्पाले बताए ।
बारटेकले यसअघि पनि सन् २०१८ मा स्की पर्वतारोही एन्ड्रजेज बार्जिएलले केटु हिमालमा स्की गरेको रेकर्ड गरेका थिए । स्की पर्वतारोही एन्ड्रजेज बार्जिएल संसारमा एक मात्र व्यक्ति हुन्, जसले केटु हिमालको चुचुरोबाट आधार शिविरसम्म स्की गरेका थिए ।
सगरमाथामा पहिलो पटक स्की च्यालन्ज गर्ने पहिलो व्यक्ति स्लोभेनियाका स्कीयर दाभो कर्णिकर थिए । उनले अक्सिजनको प्रयोग गरी सगरमाथामा पहिलो पटक सन् २००० अक्टोबर ७ मा स्की च्यालन्ज गरेका थिए । उनले सगरमाथाको चुचुरोबाट एभरेष्ट बेस क्याम्पसम्म चार घण्टा ४० मिनेटमा यो च्यालेन्ज सम्पन्न गरेका थिए ।
अहिलेसम्म कसैले पनि अक्सिजन बिना सगरमाथामा स्की च्यालन्ज गरेका छैनन् । शरद ऋतृमा विश्वको सर्वोच्च शिखरमा आरोहण १२ वर्षपछि हुन लागेको हो । सगरमाथाको नयाँ उचाइपछि शरद ऋतृमा यो पहिलो आरोहण गर्न लागेका अध्यक्ष शेर्पाले बताए । यो आरोहण सफल भए इतिहास रच्ने भएकाले यो विशेष अभियान भएको उनको तर्क छ ।
शेर्पाले भने, ‘शरद ऋतुमा सगरमाथामा स्कीइङ प्रयास गर्नुको मुख्य दुई कारण छन् । वसन्त ऋतुमा सगरमाथामा भीड हुन्छ । शरदमा, स्कीइङका लागि उपयुक्त मात्रामा हिउँ हुन्छ । मानिसको भीड पनि हुँदैन् ।’
पर्यटन विभागका अनुसार शरद ऋतुमा पहिलो पटक सगरमाथाको आरोहण सन् १९७३ मा भएको थियो । दुई जापानी आरोही, यासुओ काटो र मिचियो युआसाले अक्टोबरको महिनामा सगरमाथाको चुचुरोमा पुगेका थिए । सन् १९९३ मा शरद ऋतुमा ३७ जना आरोहीले सफल आरोहण गरेका थिए । त्यस्तै अमेरिकी आरोही एरिक लार्सन हालैको इतिहासमा सन् २०१० मा शरद ऋतुमा सगरमाथा आरोहण गर्ने अन्तिम व्यक्ति थिए ।
शरद ऋतुमा सगरमाथा आराहण नहुनुको कारण:
मनसुनपछिको ताजा हिउँका कारण शरद ऋतुमा सगरमाथा आरोहण गर्न गाह्रो हुन्छ । मौसमका कारण पनि शरद ऋतुमा गाह्रो हुन्छ । विभागका निर्देशक युवराज खतिवडाले जोखिम हुँदाहुँदै पनि हिमालमा नयाँ–नयाँ साहसिक कार्य गर्ने क्रम बढेको बताउँछन् ।
यस पटक शरद ऋतुका लागि १९१ जनाले हिमाल आरोहण गर्न अनुमति लिएका छन् । यस ऋतु लागि हिमाल आरोहण अनुमति सुरु भएसँगै ६ वटा हिमाल आरोहणका लागि ३६ देशका १९१ जनाले अनुमति लिएका हुन् । उनीहरुले धौलागिरी, हिमलुङ, मनास्लु, नुप्से, सगरमाथा, सारिबुङ हिमाल चढ्न अनुमति लिएका हुन् ।
अनुमति लिनेमध्ये ३९ जना महिला र १५२ जना पुरुष छन् । उनीहरुबाट सरकारले दुई करोड ४० लाख ७८ हजार ४६७ रुपियाँ रोयल्टी पनि संकलन गरेको विभागले जनाएको छ ।