फेवातालको जलकुम्भी हटाउने जिम्मा महावीर पुनको आविष्कार केन्द्रले लियो

Advertisement

काठमाडौं । पर्यटकीय नगरी पोखराको फेवातालमा भएको जलकुम्भी झार हटाउन राष्ट्रिय आविष्कार केन्द्रले जिम्मा लिने भएको छ । शनिबार फेवाताल सरसफाई अभियानका क्रममा तालमा रहेको जलकुम्भी दिर्घकालिन रुपमा हटाउन केन्द्रले जिम्मा लिने निर्णय गरेको केन्द्रका अध्यक्ष महावीर पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

उनले भनेका छन्, ‘पोखराको फेवातालमा भएको जलकुम्भी झार दुई चार महिनामा एक पटक सफा गरेर मात्रै पुग्दैन ।’ जलकुम्भी झारहरु हटाउने मेशिन नबनाई हुँदैन । दिर्घकालीन रुपमा मेसिन बनाउने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रले लिनेछ र सो कार्य पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ कलेज, लामाचौर र राष्ट्रिय आविष्कार केन्द्रले सहकार्य गर्नेछन् ।’ 

Advertisement

मेसिन बनाउन सम्बन्धित विभाग र विद्यार्थीहरुलाई पुनले आव्हान समेत गर्ने बताए । सो मेसिन बनाउन चाहिने सामान जस्तैः फलाम, इन्जिन, हाइड्रोलिक आदि केन्द्रले उपलब्ध गराउने छ । 

पुनले भनेका छन्, ‘पश्चिमाञ्चल इन्जिनियरिङ कलेजले आफ्नो फ्याकल्टी र विद्यार्थीहरुको टीम बनाएर सो काम ८ महिना भित्रमा सक्नुपर्नेछ ।’ हाल फेवातालमा क्यानाडाबाट ल्याइएको एउटा मेसिन रहे पनि त्यसले राम्रोसँग काम नगरेको उनले खुलाएका छन् । 

कलेजको टिमले सोही मृसिन हेरेर त्यसैको आधारमा जलकुम्भी निकाल्ने नयाँ मेसिन बनाउने छन् । सो मेसिन पोखरामा बनाएर सञ्चालन गरे मर्मत सम्भार गर्न सजिलो हुने र विद्यार्थीहरुले पनि काम सिक्ने पुनको भनाई छ । उनले जलकुम्भी हटाउने कामको लागि केन्द्रले छुट्टै कोष खडा गरेर काम गर्ने बताएका छन् । 

Advertisement

Advertisement