काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरु बैंकको मुद्दती निक्षेपमा मात्रै केन्द्रित रहेको भन्दै लगानी निर्देशिका परिवर्तन गर्ने भएको छ । कम्पनीहरु ब्याजमा मात्रै रमाउनेभन्दा पनि आकर्षक प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्ने आवाज धेरै उठ्न थालेपछि समिति निर्देशिका परिमार्जनमा लागेको हो ।
निर्देशिका परिवर्तनले बीमा कम्पनीले गर्ने लगानीको क्षेत्र फराकिलो बनाउने समितिको विश्वास छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘बीमा कम्पनीहरु बैंकको मुद्दती निक्षेपमा मात्रै केन्द्रित भएको अवस्था छ । त्यसैले आगामी दिनमा पूर्वाधारमा समेत लगानी अनिवार्य गर्नुपर्ने किसिमले नयाँ निर्देशिका जारी गर्न लागेका हौं ।’
उनले हाल कम्पनीहरु आफ्नो पैसा बढी प्रतिफल पाइने र सुरक्षित क्षेत्रमा लगानी गर्ने भन्दा पनि बैंकमा राख्न लालयीत हुने गरेको बताउँदै कम्पनीहरुले आफ्नो ८० प्रतिशतभन्दा बढि रकम बैंकमा राखेर ब्याज खाने गरेको बताए ।
पौडेलले बीमा कम्पनीहरुले बीमितबाट अर्बौं रकम संकलन गर्ने भएकाले त्यसलाई उत्पादनशीत क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताउँदै यसले मुलुकको अर्थतन्त्रमा पनि योगदान पुग्ने र कम्पनीको आम्दानी पनि बढेर बीमित र लगानीकर्तालाई बढी सुविधा दिनसक्ने अवस्था बन्ने बताए ।
विशेषगरी निर्जीवन बीमा कम्पनीलेभन्दा पनि जीवन बीमा कम्पनीले आफ्नो लगानीमा विविधिकरण गर्नु जरुरी रहेको उनको भनाई छ । पौडेलले निर्जीवन बीमा कम्पनीहरुले एक वर्षको लागि मात्रै जोखिम बहन गर्ने तर जीवन बीमा कम्पनीले २० वर्षसम्मका जोखिम लिने भएकाले जीवन बीमा कम्पनी लगानीको मोडालिटिमा परिवर्तन गर्नु जरुरी रहेको बताए ।
उनले ‘लगानीमा विविधिकरण गर्नु’ भन्दा बीमा कम्पनीहरुले जोखिम मोल्न नचाहने गरेको बताउँदै लगानीको विविधिकरण गर्दा र जोखिम विश्लेषण गरेर सुरक्षित क्षेत्रमा लगानी गर्दा जोखिम कम हुने बताए । बीमा समितिले नयाँ क्षेत्रमा लगानी गर्न सबै बाटो खोल्दिसकेकोले कम्पनीहरु आफै नयाँ क्षेत्रमा लगानी गर्न सक्रिय हुन बाँकी रहेको पौडेलले बताए ।
स्वास्थ्य, शिक्षा तथा पूर्वाधारमा समेत बीमा कम्पनीले लगानी गर्नसक्ने गरी लगानीमा विविधिकरण गर्नुपर्ने दबाबमूलक व्यवस्था आफूहरुले गर्न लागेको पौडेलले बताए । उनले अरु मुलुकमााबीमाको लगानी विविधि क्षेत्रमा हुने गरेको र उनीहरुको आम्दानी पनि नेपालका बीमा कम्पनीहरुको भन्दा निकै धेरै हुने गरेको उदाहरण दिँदै बीमा कम्पनीहरुको प्रगति गराउनु, त्यहाँका लगानीकर्तादेखि बीमित र कर्मचारीसम्मलाई राम्रो प्रतिफल र सुविधा दिलाउन प्रयास गर्नु समितिको पनि दायित्व भएको बताए ।
बीमा कम्पनीहरुले नै लगानी निर्देशिकाको आवश्यकता महशुस गरेकाले पनि निर्देशिका परिमार्जन गर्न लागिएको पौडेलको तर्क छ । अहिले बीमा कम्पनीहरुले बैंकको मुद्दती निक्षेप, घरजग्गा, होटल व्यवसायमा लगानी गर्न पाउने व्यवस्था छ । बीमा कम्पनीहरुको समेत राय लिएर नयाँ निर्देशन तयार गर्ने भएकाले निर्देशिका बीमा कम्पनीमैत्री नै हुने पौडेलले बताए ।