काठमाडौं । विश्वको आठौं अग्लो मनास्लु (८,१६३ मिटर) हिमालको मुख्य चुचुरोको कमर्सियल रुटको निर्माण भएको छ । मनास्लुको मुख्य शिखरमा बिहीबार राती ८ बजेर २८ मिनेटमा डोरी फिक्स गरेसँगै यो रुट तयार भएको हो । ।
एक्सपेडिसन अपरेटर्स नेपालले रोप फिक्सिङको काम गर्न एलिट एक्स्पेड कम्पनीलाई तोकेको थियो । एलिट एक्स्पेड कम्पनीको नेतृत्वमा शरद ऋतुमा मनास्लु हिमालको मुख्य चुचुरोको कमर्सियल रुटको निर्माण भएको जनाइएको छ ।
रोप फिक्सिङ टिमको संयोजकमा मिङमा डेविड (ग्याबु) शेर्पा, फिक्सिङ टिम लिडरमा पुरबहादुर गुरुङ, टिमको सदस्यमा दावा चेत्तर शेर्पा, मिङ्मार शेर्पा सन्दीप गुरुङ, पाम दोर्जी शेर्पा, पासाङ निङमा शेर्पा र कर्मा गेल्जेन शेर्पा चुचुरोमा पुगेका थिए ।
मनास्लुको मुख्य चुचुरोमा सबै लाइनहरू सेट गरेको कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेका छन् ।
गत वर्षको शरद ऋतुमा ४५ वर्षपछि पहिलो पटक मनास्लुको मुख्य चुचुरोमा इम्याजिन नेपालका प्रबन्ध निर्देशक तथा एक्स्पडिशन् लिडर विश्व कीर्तिमानी पर्वतारोही मिङ्मा ग्याल्जे शेर्पा र उनको टिमले रुट बनाएको थियो । उनले उक्त रुटको नाम ‘द रोलवालिङ डाइभर्सन’ राखेका थिए ।
मिङ्मा ग्याल्जे शेर्पाले सामाजिक सञ्जालमार्फत गत वर्ष जस्तै यस वर्ष पनि मनास्लुको मुख्य शिखरमा आरोहण गर्ने बताएका छन् । उनले लेखेका छन्, ‘मनास्लुको मुख्य चुचुरो अब छायाँमा छैन् ।
सन् १९७६ मा शरद ऋतुमा मनास्लुमा पहिलो पटक इरानी र जापानी संयुक्त आरोहण अभियान र त्यसपछि २०२१ मा इम्याजिन नेपालको टोलीले आरोहण गरेको थियो ।
शरद ऋतुका लागि हिमाल आरोहण अनुमति सुरु भएसँगै आठ वटा हिमाल आरोहणका लागि ६० देशका ४५४ जनाले अहिलेसम्म अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।
उनीहरुले हिमलुङ हिमाल (७,१२६ मिटर), सारिबुङ (६,३४६ मिटर) र मनास्लु (८,१६३ मिटर), धौलागिरी (८,१६७ मिटर), गङ्चेम्पो (६,३७८ मिटर), कुम्भकर्ण (७,७१० मिटर), नुप्टसे (७,८५५ मिटर), सगरमाथा (८,८४८.८६ मिटर) हिमाल चढ्न अनुमति लिएका हुन् ।
मनास्लु हिमालमा मात्र ३९४ जनाले अनुमति लिएका छन् । अनुमति लिनेमध्ये ११० जना महिला र ३४४ जना पुरुष छन् । उनीहरुबाट सरकारले पाँच करोड ३२ लाख २७ हजार ५९२ रुपियाँ रोयल्टी पनि संकलन गरेको छ ।