काठमाडौँ । होटल संघ नेपाल (हान)को अर्धवार्षिक साधारणसभा असोज ८ गते सम्पन्न भएको छ ।
उक्त अवसरमा होटल संघ नेपालले प्रकाशनमा ल्याएको कफिटेबुल बुक ‘नेपालः ए जोर्नी फ्रम इस्ट टु वेस्ट’ नामक पुस्तक विमोचन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उठ्डयन मन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयले घोषण गरेको पर्यटन दशकलाई उक्त पुस्तक सहयोगी हुने बताए । मन्त्री श्रेष्ठले कोभिडपछिको पर्यटनलाई अगाडि बढाउन सरकारी तवरबाट हुन सक्ने सहयोग गर्न कुनै कसर बाँकी नराख्ने बताए ।
सो अवसरमा होटल संघ नेपालका अध्यक्ष सृजना राणाले मुलुकको अर्थतन्त्रमा पर्यटन तथा होटल उद्योगको ठूलो योगदान रहेको बताउँदै होटल उद्योगलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको रुपमा कानुनमा नै व्यवस्था हुन आग्रह गरिन् । अध्यक्ष राणाले पर्यटन तथा होटल उद्योगमा धेरै समस्याहरु रहेको हुँदा उक्त एक दिवसीय कन्क्लेभबाट निस्किएका विषयहरु नेपाल सरकार समक्ष प्रस्तुत गरिने बताइन् ।
संघका प्रथम उपाध्यक्ष विनायक शाहले पुस्तकका बारेमा संक्षिप्त जानकारी गराउँदै समग्र मुलुकको गन्तव्य, खाना, आयुर्वेद जस्ता महत्वपूर्ण विषयहरुमा प्रकाश पारे ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले कोभिडका समयमा होटल उद्योगको संरक्षणका लागि एकीकृत सम्पत्ति करमा भारी छुट दिइएको बताउँदै यस आर्थिक वर्षका लागि ४० प्रतिशत र समयसीमामा कर बुझाएमा अर्को १० प्रतिशत गरी ५० प्रतिशत सम्पत्ति कर छुट दिएको बताए ।
नेपाल पर्यटन बोर्डका कार्यवाहक प्रमुख नन्दिनी लाहे थापाले विस्तारै अघि बढ्दै गरेको पर्यटन उद्योगलाई अझ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा व्यापक प्रचारप्रसार गरी विदेशी पाहुनालाई नेपाल भित्र्याउने बताए । उनले हानद्वारा प्रकाशित पुस्तकले पर्यटकहरुलाई नेपाल घुम्न सहज हुने बताए । संघका द्वितीय उपाध्यक्ष प्रविणबहादुर पाण्डेले धन्यवाद ज्ञापन गरेका थिए ।
सोही दिन विनस्टल्क एसियासँगको सहकार्यमा आयोजना गरिएको नेपाल हस्पिटालिटी कन्क्लेभ २०२२ को समुद्घाटन गर्दै प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रष्ठले यस किसिमको कन्क्लेभले भोलिका दिनमा अगाडि बढ्न सहयोग पुग्ने बताए । उनले होटल संघ नेपालद्वारा समय समयमा प्रस्तुत हुने सुझावहरुप्रति नेपाल सरकार सकारात्मक रहेको र मुलुकको पर्यटन उद्योगलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने गृहकार्य भइरहेको बताए ।
सोही अवसरमा काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले पर्यटकको बसाई लम्बाउन विभिन्न कार्यक्रमहरु गरिने बताउँदै रैथाने खानाका बारेमा चर्चा गरिन् ।
संघका महासचिव साजन शाक्यले अहिलेकै अवस्थामा मुलुकले ५० लाख पर्यटक धान्न सक्ने बताए । उनले मुलुकमा पर्यटक आगमनलाई आँकलन गरी पर्यटन गतिविधिहरु सञ्चालन गर्न सरकारसमक्ष आग्रह गरे ।