काठमाडौं । काठमाडौंवरिपरि धेरै हाइकिङ ट्रेल छन् । चाडपर्वमा यस्ता हाइकिङ ट्रेलहरु मुख्य आकर्षण बन्ने गरेका छन् । काठमाडौंवरिपरि रहेका हाइकिङ ट्रेलहरुमा बिहान निस्केर हाइकिङ गरिसकेर बेलुका घर फर्कन सकिन्छ । कोरोना महामारीका कारण मानिसहरुमा हाइकिङ जाने, ड्राइ पिकनिक जाने क्रम बढ्दो छ । महामारीमा लामोसमय घरभित्र बस्दाको पीडा भुलाउने माध्यम बनेको छ, हाइकिङ ।
मानिसहरु शनिबार अथवा छुट्टिको दिन पारेर काठमाडौं उपत्यकावरपरका डाँडातिर जान प्रायः मन पराउँछन् । हाइकिङ स्वास्थ्यका दृष्टिकोणले समेत फाइदाजनक छ । विशेषगरी चाडपर्वमा लामो यात्रामा जान पनि नसक्ने मानिसहरुका लागि काठमाडौं वरपरका हाइकिङ ट्रेलहरुले ध्यान खिचेको छ ।
काठमाडौं वरिपरि रहेका शिवपुरी, जामाचो, नागार्जुन, गोकर्ण, सुन्दरीजल, तारेभिर, झोर, फर्पिङ, चम्पादेवी मन्दिर, चन्द्रागिरि, बुङमति, गोदावरी, फुलचोकी, लाँकुरी भन्ज्याङ, ककनी गु्र्जे भन्ज्याङ, घ्यम्पे डाँडा, इन्द्रदह, नगरकोट, हाइबुङ प्रकृति रिसोर्ट, फुलचोकी, नमोबुद्ध, साँगा, चाँगुनारायण र ककनीलगायत रुट हाइकिङका लागि लोकप्रिय छन् ।
वनजंगल, हिमाल, प्रकृति, वन्यजन्तु र चराचुरुङ्गी हेर्दै हाइकिङको मज्जा लिन केही चर्चित गन्तव्य यस्ता छन्ः
मच्छेगाँउ हुँदै चम्पादेवी मन्दिर हाइकिङ ट्रेलः
हाइकिङ दूरीः १५.६ किमि दक्षिणकाली रोड
काठमाडौं उपत्यकाको नजिकको हाइकिङ टे«ल हो, चम्पादेवी डाँडा । यो डाँडा छोटो रमाइलो पदयात्राका लागि उत्तम हाइकिङ ट्रेल हो । चम्पादेवी डाँडा चोभारको टौदहबाट हाइकिङ सुरु गरेर दक्षिणकाली मन्दिर, फर्पिङ हुँदै सोही ट्रेलबाट फर्किन सकिन्छ ।
साथै चम्पादेवीबाट विभिन्न हिमालहरु गौरीशंकर, लाङटाङ र अन्नपूर्णलगायतका हिमाल देख्न सकिन्छ ।उक्त क्षेत्रमा काठमाडौंलगायत विभिन्न ठाउँबाट मानिसहरु घुम्न, हाइकिङ गर्न आउने गरेको स्थानीय बसिन्दा बताउँछन् ।
लाँकुरी भञ्ज्याङ हाइकिङ ट्रेलः
काठमाडौं उपत्यकाबाट १५ किलोमिटर ललितपुरमा अवस्थित लाँकुरी भञ्ज्याङबाट काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै शहरको उत्कृष्ट दृश्य हेर्नको लागि उपयुक्त ठाउँ हो जहाँ सल्ला, कटुस र लालीगुराँसहरु पाइन्छ । लाँकुरी भञ्ज्याङ पिकनिक स्थल र प्याराग्लाइडिङका लागि पनि खोलिएको छ । त्यसैले साहसीहरूका लागि पनि उपयुक्त ठाउँ हो । तीनवटै शहरका मानिसहरू यस ठाउँमा पिकनिकको आनन्द लिन्छ ।
नमोबुद्ध हाइकिङ ट्रेलः
नमोबुद्ध बौद्धमार्गीहरुको प्रमुख चार धाममध्येको एक हो । काठमाडौंबाट ४० किमि दुरीमा रहेको नमोबुद्ध हाइकिङको उपयुक्त ठाउँ हो । धुलिखेलबाट धार्मिकस्थल नमोबुद्धसम्म हाइकिङ गर्न सकिन्छ ।
नमोबुद्धमा धेरै पूरानो थ्रांगु ताशी याङ्त्से गुम्बा छ जुन नेपालको सबैभन्दा महत्वपूर्ण बौद्ध तीर्थस्थलहरूमध्ये एक हो । नमोबुद्धबाट गौरीशङ्कर, लाङटाङ, दोर्जे लाक्पा, गणेश, मनास्लुलगायतका हिमालहरु देख्न सकिन्छ ।
नगरकोटः
नगरकोट पनि एक हाइकिङ गर्न सकिनेमध्ये एक ठाउँ हो । पदयात्राको लागि नगरकोट राम्रो उपयुक्त हो । नगरकोटबाट सूर्योदय, सूर्यास्त र हिमालको अवलोकन गर्न सकिन्छ । काठमाडौंबाट ३२ किमि दुरीमा रहेको नगरकोटमा हाइकिङ गर्न सकिन्छ । उक्त क्षेत्रमा हाइकिङको मज्जा लिन साँखु, सुन्दरीजल, चाँगुनारायण, भक्तपुर, बनेपा र धुलिखेलबाट यात्रा गर्न सकिन्छ ।
साथै नगरकोट हाइकिङ रुटबाट सगरमाथा, मनास्लु, गणेश, लाङटाङ, जुगल, रोलवालिङ र नंबरलगायतका हिमालीहरु देखिन्छन् । काठमाडौं उपत्यका सांस्कृतिक ट्रेकिङ ट्रेल सुन्दरीजलबाट सुरु हुन्छ, काठमाडौंबाट छोटो बस वा ट्याक्सी चढेर, र चिसापानी २,१५० मिटर, ५ देखि साढे ५ घन्टा र त्यसपछि नगरकोट २,१६३ मिटर, ५ देखि ७ घन्टासम्म हाइकिङ गर्न सकिन्छ ।
शिवपुरी डाँडा हाइकिङ ट्रेलः
काठमाडौंबाट नजिकको क्षेत्र शिवपुरी चर्चित हाइकिङ ट्रेल हो । शिवपुरीमा हाइकिङको लागि निकै भिड हुने गर्दछ । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको शिवपुरी डाँडामा पुग्ने तीनवटा ट्रेल छन् । बुढानीलकण्ठको पानीमुहानबाट निकुञ्ज प्रवेश गरेपछि दायाँ विष्णुद्वार (विष्णुमतीको मुहान) हुँदै डाँडामा पुगिन्छ ।
पानीको मुहानबाट सुरु गरिने हाइकिङ नागी गुम्बामा पुगिन्छ । त्यहाँ भ्यु टावर पनि रहेको छ । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पदयात्राका लागि आकर्षित छ । नगरकोट, गोसाइकुण्ड, हेलम्बु र लाङटाङ राष्ट्रिय निकुञ्ज जाने पदयात्रा मार्गहरू पनि निकुञ्जबाट जान्छन् । निकुञ्जभित्र हिन्दु र बौद्ध धर्मावलम्बीहरुको धेरै धार्मिक स्थलहरु रहेका छन् ।
फुलचोकीः
फुलचोकी उपत्यकाको सबभन्दा अग्लो डाँडो रहेको छ । फुलचोकी काठमाडौं उपत्यकाको सबैभन्दा अग्लो उचाइमा छ । सबैभन्दा सुन्दर पदयात्रा ट्रेलहरूमध्ये एक हो । फुलचोकीमा विभिन्न थरिका चराहरू देख्न सकिन्छ । जोकोही फुलचोकी हाइकिङ जान सक्दैनन् । त्यस कारण यसलाई ‘टफ ट्रेल’ मानिन्छ । एकान्त र गाह्रो हुने भएकाले तुलनात्मक रूपमा यहाँ हाइकिङ जाने कम हुन्छन् ।
यद्यपि पैदल यात्रामा जान कठिन छ । गोदावरीबाट हाइकिङ ट्रेल सुुरु हुन्छ र फर्किंदा पनि सोही रुट प्रयोग गरिन्छ । त्यहाँ विभिन्न प्रजातिका सुनाखरी र गुराँससहितको वन छ । फुलचोकी हिउँदमा हिउँ खेल्न जाने ठाउँको रूपमा पनि चर्चित छ । त्यहाँबाट अद्भुत दृश्यहरूले हाइकिङमा जानेहरूलाई प्रकृतिको आनन्द दिन्छ । ट्रेलमा सिँढीहरू मिलेर बनेको धेरै सटकट मार्गहरू छन् । जति माथि चढ्नुहुन्छ, उति राम्रो दृश्य देख्न सकिन्छ । फुलचोकी डाँडाबाट सगरमाथा, गौरीशंकर, गणेश, लाङटाङ, मनासलु तथा अन्नपूर्ण हिमालहरु देख्न सकिन्छ ।
चन्द्रागिरिः
२,४७५ मिटर अधिकतम् उचाइमा रहेको चन्द्रागिरि चर्चित हाइकिङ ट्रेलमध्येमा पर्छ । काठमाडौंबाट नजिकमा रहेको चन्द्रागिरिसम्म हाइकिङ जान कीर्तिपुरको मच्छेगाउँबाट यात्रा सुरु गरेर छापडाँडा हुँदै चन्द्रागिरि पुगिन्छ र अर्को ट्रेल थानकोटको गोदामचौरबाट पनि पुगिन्छ ।
चन्द्रागिरि हिल्स नेपालको सबैभन्दा मनपर्ने गन्तव्यमध्ये एक हो । यो नेपालको एक प्रसिद्ध पदयात्रा गन्तव्य पनि हो । चन्द्रागिरिको मुख्य गन्तव्य हिमालको चुचुरो पनि हो, जहाँबाट हिमाली हिमश्रृङ्खलाका मनोरम दृश्यहरू देख्न सकिन्छ । चन्द्रागिरिबाट सगरमाथा, मकालु, कञ्चनजंघा, मनासलुलगायत हिमालहरु देखिन्छ ।