अमा दब्लम हिमालको ‘रोप फिक्सिङ’ गरेसँगै दुई सय जनाले पाए आरोहण अनुमति

Advertisement

काठमाडौं । अमा दब्लम (६,८१४ मिटर) अग्लो हिमालमा ‘रोप फिक्सिङ’ सफल भएको छ । उक्त हिमालमा आरोहणको लागि सेभेन समिट ट्रेक्सबाट सोमबार दिउँसो ५ जना शेर्पा माउन्टेन गाइडले रोप फिक्सिङ गरेका हुन् । 

उक्त कम्पनीका अनुसार ‘रोप फिक्सिङ’ टिममा ६ जना शेर्पा माउन्टेन गाइड थिए । तर एक जना गाइड भने बेपत्ता भएको कम्पनीले जानकारी दिएको छ । उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । 

Advertisement

सिन्धुपाल्चोकको मकालु गाउँपालिकाका मिङ्मा वाङ्दी शेर्पा बेपत्ता भएको खोजी कार्य जारी रहेको कम्पनीको भनाई छ । उनी एक अनुभवी आरोही हुनुका साथै सगरमाथा सहित धेरै शिखरमा आरोहण गरेको कम्पनीले जनाएको छ । 

अमा दब्लम हिमालमा रोप फिक्सिङ भएसँगै दुई सय जनाले आरोहणको लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ । एक्सपेडिसन अपरेटर्स नेपालले रोप फिक्सिङको काम गर्न सेभेन समिट ट्रेक्स कम्पनीलाई तोकेको थियो । 

शरद ऋतुका लागि हिमाल आरोहण अनुमति ४० वटा हिमाल आरोहणका लागि ७४ देशका एक हजार ३० जनाले अहिलेसम्म अनुमति लिएको विभागले जनाएको छ । अनुमति लिनेमध्ये २३१ जना महिला र ७९९ जना पुरुष छन् । उनीहरुबाट सरकारले ७६ करोड ३४ लाख आठ हजार ९५८ रुपियाँ रोयल्टी पनि संकलन गरेको छ ।


 

Advertisement

Advertisement