काठमाडौं । परिवारसहित नेपाल आएका विश्व प्रसिद्ध बेयर ग्रिल्सलाई स्काई ड्राइभिङ गर्न सरकारले अनुमति दिन अस्वीकार गरेको छ । ‘म्यान भर्सेस वाइल्ड’का प्रस्तोता तथा टेलिभिजन पर्सनालिटी ग्रिल्स सपरिवार आइतबार बेलुका काठमाडौं आइपुगेका थिए ।
विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइट, एलिट एक्सिपिडसन कम्पनी सह–संस्थापक मिङ्मा डेभिड शेर्पाले परिवारका १० जना सदस्यसहित नेपाल आएका ग्रिल्सले स्काई ड्राइभिङका लागि अनुमति मागे पनि सरकारले अनुमति नदिएको गुनासो गरे ।
उनी नेपालमा स्काई डाइभिङ, प्याराग्लाइडिङ, साइकलिङ, बोटिङ गर्न नेपाल आएका हुन् । एलिट एक्सिपिडसन कम्पनीमार्फत नेपाल आएका ग्रिल्सले बुधबारबाट स्काई ड्राइभिङ सुरु गर्ने योजना थियो ।
तर सरकारले अनुमति नदिँदा प्रोजेक्ट नै सुरु गर्न नपाएको शेर्पाले गुनासो गरे । अनुमतिका लागि दौडादौड गर्दा नै ग्रिल्सको समय सक्किन लागेको बताउँदै उनले यस्तो महत्वपूर्ण अवसरलाई सरकारले बुझ्न नसकेको बताए ।
शेर्पाले भने, ‘यसरी पर्मिटकै लागि समय खेर जाने हो भने नेपालमा आउने पर्यटकहरुलाई हामीले कसरी भनेको समयमा प्रोजेक्ट चलाउन सक्छौं ?’
ग्रिल्सका लागि बुधबार र बिहीबार स्काई ड्राइभिङ, प्याराग्लाइडिङ, बोटिङ सुरु गर्नुपर्ने थियो । तर अनुमतिका लागि पर्खिंदा पर्खिंदै प्रोजेक्टको समय सक्किन लागेको भन्दै शेर्पाले अनुमति नपाए ग्रिल्ससहितको टोली फिर्ता जाने बताए । ‘यस्तो भयो भने हाम्रो पर्यटन क्षेत्रलाई कस्तो असर पर्छ ? सरकारले सोचेको छ ?’, उनले प्रश्न गरे ।
ग्रिल्सले सोलुखुम्बुस्थित स्याङबोचे र अमा दब्लम आधार शिविरमा स्काई डाइभिङ गर्ने, पोखरामा प्याराग्लाइडिङ, साइक्लिङ, बोटिङ गर्ने लगायतका योजनासहित नेपाल आएका थिए । यस्ता साहसिक कार्यमा ग्रिल्स विश्व प्रसिद्ध छन् ।
अब यसरी अनुमति कै लागि प्रोजेक्ट रोकिराख्नु पर्दा नेपाल आएका पर्यटकले नेपालको व्यवस्थापनलाई कुन नजरले हेर्छन् ? भन्दै शेर्पाले सरकारले यस कुरामा ध्यान र चासो नदिएको बताए । विश्व प्रसिद्ध व्यक्तिहरु नेपालमा आउँदा, साहसिक खेलहरु खेल्दा नेपालको पर्यटन क्षेत्रलाई ठूलो टेवा पुग्छ भन्दै उनले यदि नेपालमा पर्यटक मात्र भित्राउने तर सेवा सुविधाहरु दिन नसके पर्यटन क्षेत्र नै मारमा पर्ने बताए ।
ग्रिल्सले यसअघि सगरमाथा र अमा दब्लम हिमाल चढिसकेका छन् । उनी डिस्कभरी च्यानलको एड्भेन्चर शोका कारण चर्चित छन् । बेलायती नागरिक ग्रिल्स साहसिक व्यक्ति मात्रै नभएर लेखक, टेलिभिजन प्रस्तोता र व्यवसायी पनि हुन् ।
नवौं राष्ट्रिय खेलकुदका क्रममा पोखरामा आइतबार एक खेलाडीको प्याराग्लाइडिङ उडानका क्रममा खसेर मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरका प्याराग्लाइडिङ उडानहरु अनिश्चितकालका लागि बन्द गरेको छ । सोही कारण ग्रिल्सलाई पनि अनुमति नदिएको हुनसक्ने अनुमान गरिएको छ ।