काठमाडौं । पर्यटन व्यवसायीहरुको दबाबपछि नेपाल आएका विश्वप्रसिद्ध बियर ग्रिल्सलाई स्काई ड्राइभिङको अनुमति दिन सरकार बाध्य भएको छ । उनलाई स्काई ड्राइभिङको अनुमति नदिँदा विश्वभर नेपालको नकारात्मक सन्देश जाने र पर्यटन क्षेत्रलाई ठूलो धक्का लाग्ने भन्दै व्यवसायीहरुले दबाब दिएपछि सरकार अनुमति दिन बाध्य भएको हो ।
परिवारका १० जना सदस्यसहित आइतबार नेपाल आएका ग्रिल्स बुधबार नै स्काई ड्राइभका लागि सोलुखुम्बुस्थित स्याङबोचे जाने योजना थियो । तर सरकारले अनुमति दिन आनकानी गरेपछि उनको समय तालिका परिवर्तन भएको छ ।
एलिट एक्सिपिडसन कम्पनीको पहलमा नेपाल आएका ग्रिल्सले भर्खरै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्काई ड्राइभको लागि अनुमति पाएको पर्यटन व्यवसायीहरुले जानकारी दिएका छन् । ‘म्यान भर्सेस वाइल्ड’का प्रस्तोता तथा टेलिभिजन पर्सनालिटी ग्रिल्सले स्काई ड्राइभिङको अनुमति पाएसँगै स्याङबोचे प्रस्थान गरेका हुन् ।
उनी स्काई ड्राइभिङसँगै प्याराग्लाइडिङ, साइक्लिङ, बोटिङ गर्न नेपाल आएका हुन् । ग्रिल्सले सोलुखुम्बुस्थित स्याङबोचे र अमा दब्लम आधार शिविरमा स्काई डाइभिङ गर्ने, पोखरामा प्याराग्लाइडिङ, साइक्लिङ, बोटिङ गर्ने योजना रहेको छ । यस्ता साहसिक कार्यमा ग्रिल्स विश्व प्रसिद्ध छन् ।
ग्रिल्सले यसअघि सगरमाथा र अमा दब्लम हिमाल चढिसकेका छन् । उनी डिस्कभरी च्यानलको एड्भेन्चर शोका कारण चर्चित छन् । बेलायती नागरिक ग्रिल्स साहसिक व्यक्ति मात्रै नभएर लेखक, टेलिभिजन प्रस्तोता र व्यवसायी पनि हुन् ।