काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने गरी तालिका नबनाएका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई कारवाही गरेको छ ।
प्राधिकरणले उनीहरुको त्रिभुवन विमानस्थलबाट गर्ने नियमित उडानहरू कटौती गरिदिएर कारवाही गरेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले प्राधिकरणबाट स्वीकृत तालिकाअनुसार उडान नराखेको र त्यो भन्दा बढी उडान राखेका कारण नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सको उडानहरू कटौती गरेको बताए ।
विन्टर तालिकाका अनुसार उडानहरू कटौती गरेको उनको भनाई छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि फोकस गर्नु पयो भने हिसाबले काठमाडौंका उडानहरू कटौती गरेको बताउँदै प्राधिकरणले दुवै एयरलाइन्सलाई हिजो अस्ती नै जानकारी भइसकेको कुरा अटेर गर्दै काठमाडौंबाट उडान गर्न खोजेकाले कारवाही गर्नुपरेको बताएको छ ।
निरौलाले भने, ‘जानकारी भइसकेपछि आज उडान राख्नु हुँदैन् थियो । हिमालय एयरलाइन्सले आज काठमाडौंबाट उडान तालिका राखेको थिएन् । त्यसलाई समस्या भएन । उडानको लागि जति स्वीकृत पायो त्यति मात्र उडान भरिरहेको छ । तर भैरहवाबाट उसले उडान राखेन् । नेपाल एयरलाइन्सले स्वीकृत भएको भन्दा बढी काठमाडौंबाट उडान राखेका कारण यस्तो कारवाही गर्नुपरेको हो ।’
प्राधिकरणले नेपाली अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई विन्टर सिजनको तालिकामा भैरहवाबाट पनि उडान गर्न भनेको थियो । त्रिभुवन विमानस्थलमा हवाई ट्राफिक कम गर्न दैनिक तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीले कम्तीमा एउटा उडान भैरहवा विमानस्थलबाट गर्नुपर्ने नियम बनाएको थियो ।
आइतबारदेखि हिमालय र नेपाल वायुसेवा निगमले त्रिुभवन विमानस्थलबाट गर्ने दुई–दुई वटा उडान भैरहवामा सार्नुपर्ने थियो । नोभेम्बरबाट अप्रिल महिनाको अन्तिम तिर विन्टर तालिका हुन्छ ।प्राधिकरणका अनुसार ३० अक्टोबर २०२२ (आज) देखि २५ मार्च २०२३ सम्म ६ महिनाको ‘विन्टर सिजन’को उडान तालिका तय हुन्छ ।
सो तालिकाअनुसार उडान गर्नेगरी योजना बनाउन कम्पनीहरुलाई भनिएको तर उनीहरुले अटेरी गरेका उडान रोकिएको प्राधिकरणको भनाई छ । विन्टर तालिका स्वीकृत गर्दा अहिले बढी उडानहरु काठमाडौंबाट गर्ने एयरलाइन्सहरुलाई डिसेम्बर १५ तारिखसम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न लगाउने भनेर गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले भैरहवा विमानस्थल सञ्चालनमा आएदेखि नै उक्त विमानस्थलबाट उडान गर्ने योजना बनाउन आफूहरुले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई आग्रह गरेको बताउँदै उनीहरुले गर्छु गर्छु भनेर पनि नटेर गरेको बताए ।
नेपाली एयरलाइन्सले भैरहवाबाट उडान नगर्ने हो भने विदेशी एयरलाइन्सलाई गर्नु भन्न आफूहरुलाई असहज हुने उनको भनाई छ । भुलले एक हप्ताअघि नै दुवै एयरलाइन्सलाई उडान तालिका पेश गर्न आग्रह गर्दा उनीहरुले विभिन्न बहाना बनाएर समय दिन आग्रह गर्दै आएको बताए । त्रिभुवन विमानस्थलमा धानवमार्ग र ट्याक्सवे सुधारको तालिकाको समय पनि आउन लागेकाले रात्रिकालिन उडानका अनुमति दिन पनि सक्ने अवस्था नरहेको कुरालाई मध्यनजर गरेर भैरहवाबाट उडान राख्न आग्रह गरिएको उनले बताए ।
भुलले उडान कटौती नभई ट्राजिट उडान गर्न मात्रै भनेको बताए । त्रिभुवन विमानस्थलमा मात्रै ट्राफिक बढाएर भैरहवा खाली गर्न नमिल्ने उनको भनाई छ । भुलले दैनिक तीन वटाभन्दा धेरै उडान गर्ने विदेशी एयरलाइन्सले पनि आउँदो पुस १ गतेबाट भैरहवामा पनि उडान गर्नुपर्ने बताए । उनीहरुलाई ४५ दिनको समय दिएर सुचित गरिसकेको उनले बताए ।