पर्वातारोहण संघले केक काटेर ४९ बार्षिकोत्सव मनायो, स्वर्ण जयन्ती विशेषरुपमा मनाउन सुझाव

Advertisement

काठमाडौं । नेपाल पर्वातारोहण संघ (एनएमए) स्थापनाको ४९ वर्ष पुगेको छ । संघले आफ्नो कार्यालयमा मंगलबार केक काटेर आफ्नो बार्षिकोत्सव मनायो । 

कार्यक्रममा पर्यटन क्षेत्रका संघसंस्थाका प्रतिनिधि तथा व्यवसायीहरु सहभागी थिए । पाँच जना पर्यटन विज्ञ तथा व्यवसायीहरुः खड्गविक्रम शाह, छिरिङ तेन्जिङ लामा, नित्यम सिंह प्रधान, टेकचन्द्र पोखरेल र शम्भु तामाङले पर्वतीय पर्यटन प्रवर्द्धन गर्न, हिमाली वातावरण र हिमाली जनताको सांस्कृतिक सम्पदाको संरक्षण गर्न भन्दै सन् १९७३ नोभेम्बर १ मा यो संस्था स्थापना गरेका थिए । 

Advertisement

सोही दिनलाई संघले हरेक बर्ष बार्षिकोत्सवको रुपमा मनाउँदै आएको छ । संघले सरकारलाई पर्वतारोहण र उद्धारका लागि प्राविधिक शाखाको रूपमा पनि सहयोग गर्दै आएको छ । नेपालका २७ वटा चुचुराहरुको व्यवस्थापन पनि यसले गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघको पूर्ण सदस्य र यूनियन अफ एशियन अल्पाइन एशोसियशनको संस्थापक सदस्य रहेको यो संघका प्रमुख सल्लाकार आङछिरिङ शेर्पाले आजको कार्यक्रममा डा. हर्क गुरुङको योगदानको स्मरण गरे । 

नेपालको पर्यटन क्षेत्र सुरुमा दार्जिलिङबाट नियमन भए पनि संघ स्थापनापछि नेपालको पर्यटन प्रवर्द्धनका लागि काम गर्न थालिएको थियो । यसमा स्वर्गीय डा. हर्क गुरुङको ठूलो योगदान रहेको शेर्पाले बताए । 

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नीलहरि बाँस्तोलाले आगामी वर्षको स्वर्ण जयन्ती नेपालको हिमाली पर्यटनलाई पुनरुत्थान गर्ने कार्यक्रमसहित मनाउन सुझाव दिए । 

पर्यटन विभागका निर्देशक युवराज खतिवडा र पर्यटन प्रहरी नायव उपरीक्षक सुगण्डा श्रेष्ठले पनि हिमाली पर्यटनको पुनरुत्थानका लागि संघसँग सहकार्य गर्न तयार रहेको बताएका थिए । 

कार्यक्रममा संघका पूर्व अध्यक्ष सान्तवीर लामा, संघका पूर्वमहासचिव कुलबहादुर गुरुङ, सल्लाहकार डा. गणेश गुरुङ, पूर्वअध्यक्ष टासी जाङ्बु शेर्पा, सल्लाहकार विक्रम पाण्डे, नाराका अध्यक्ष शिव अधिकारीलगायतले बोलेका थिए । 

Advertisement

Advertisement