काठमाडौं । हिमालय एयरलाइन्सले बिहीबारबाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान सुरु गरेको छ ।
उक्त एयरलाइन्सको जहाज १३५ जना यात्रुसहित भैरहवाबाट दिउसो अपरान्ह ३ बजे मलेसियाको क्वालालम्पुर उडेको कम्पनीका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले बताए ।
हिमालय एयरलाइन्सले भैरहवाबाट दैनिक उडान गर्ने बताएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौंमा हवाई ट्राफिक बढेको तर भैरहवा विमानस्थल भने खाली भएको भन्दै नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई उक्त विमानस्थलबाट पनि उडान भर्न तालिका बनाउन निर्देशन दिएको हो ।
सोहीअनुसार हिमालय एयरलाइन्सले आजबाट भैरहवा विमानस्थलबाट उडान सुरु गरेको हो । श्रेष्ठले एयरलाइन्सले अहिलेसम्म सरकारलाई १४ अर्ब कर तिरिसकेको पनि बताए ।