हिमालपारी जिल्ला मुस्ताङमा पर्यटक ओइरिए, होटलहरु भरिभराउ

Advertisement

काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ । मुक्तिनाथमा घुमघामको सिजन बढेसँगै दर्शन गर्न जाने धार्मिक पर्यटक तथा ट्रेकिङ गर्ने पर्यटकमा वृद्धि भएको हो । 

मुक्तिनाथ विकास समितिका अनुसार यतिबेला मुस्ताङ घुम्ने र मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने सिजन लागेसँगै आन्तरिक तथा विदेशी पर्यटन आगमनमा वृद्धि भएको छ भने मुस्ताङ मुक्तिनाथ क्षेत्रका होटलहरुमा भरिभराउ छन् । 

Advertisement

वर्षको दुई सिजन मात्रै व्यापार गर्न पाउने मुस्ताङ मुक्तिनाथ क्षेत्रका होटल तथा अन्य व्यवसायीहरुमा सिजनको समयमा पर्यटक वृद्धिहुँदा उत्साहित भएका छन् । मुक्तिनाथ दर्शन गर्न जाने धार्मिक पर्यटक र ट्रेकिङ गर्ने पर्यटनको संख्या बढेसँगै मुस्ताङका होटलहरुमा विदेशी र आन्तरिक पर्यटनहरुको भीड देखिन थालेको मुस्ताङका स्थानीय व्यवसायीहरु बताउँछन् । 

व्यवसायीहरुले विशेष गरी मुक्तिनाथ क्षेत्रमा भारतीय पर्यटकको बढी चाप देखिएको बताए । सामान्य अवस्थाको तुलनामा दशैँ तिहारपछि मुस्ताङका होटलहरुको अकुपेन्सी दर ८० प्रतिशत भन्दामाथि पुगेको उनीहरुले बताए । 

इरिक इन होटलका सञ्चालक सुजन तुलाचनले तिहारपछि मुक्तिनाथ दर्शन गर्न जाने आन्तरिक, भारतीय र अन्य विदेशी पर्यटनहरुले मुस्ताङ मुक्तिनाथ क्षेत्रका होटलहरु भरिएको बताए । उनले नेपाली र भारतीय पर्यटकले होटलहरु फुल अकुपेन्सी चलेको बताए । तुलाचनले दुई वर्ष कोभिडको मार र यो वर्ष दशैँपछि अविरल वर्षाको कारण बाटोको समस्याको कारण अफ्ट्यारो परे पनि तिहारपछि भने पर्यटनको आगमन बढेकाले थप उत्साह थपेको बताए । 

त्यस्तै, मुस्ताङ मुक्तिनाथमा रहेको ग्राण्ड समवाला होटलका सञ्चालक सुरज गुरुङले पनि तिहारपछि मुस्ताङका सबै होटलहरुमा आन्तरिक, भारतीय र विदेशी पर्यटनहरुले कोठा भरिभराउ रहेको बताए । उनले मुस्ताङमा अक्टोबर र नोभेम्बर महिना ट्रेकिङ र मुक्तिनाथ दर्शनका लागि पर्यटक बढ्ने बताए । 

गुरुङले विगतका वर्षहरुको भन्दा अहिलेको सिजनमा होटल व्यवसायीहरुको लागि सन्तोषजनक रहेको बताए । उनले मुस्ताङको मुक्तिनाथ क्षेत्रमा धार्मिक भारतीय र आन्तरिक तथा ट्रेकिङ पर्यटनको लागि स्थानीय तथा केन्द्रिय सरकारले बाटो सहज बनाउनसके सबैखाले पर्यटक भित्रायाउन सकिने बताए । 

मुस्ताङमा पर्यटन पूर्वाधार विकास तीब्ररुपमा हुँदै जाँदा मुक्तिनाथ क्षेत्र हिन्दु र बौद्ध धर्मालम्बीहरुको धार्मिक तीर्थस्थल तथा ट्रेकिङ पर्यटकको लागि प्रमुख गन्तव्य बन्नसक्ने देखिएको छ । मुस्ताङका प्रमुख पर्यटकीय गन्तव्यहरू मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, कोरोला नाका, मार्फा गाउँ, ठिनी, धुम्बा ताल लगायतमा पर्यटक बढेका छन् । 

पछिल्लो समय नेपालका सबै पर्यटकीय क्षेत्रमा पर्यटक बढेसँगै १० महिनाको अवधिमा नेपालमा झण्डै ५ लाख विदेशी पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । अक्टोबर महिनामा कोरोना भाइरस महामारी शुरु भएयताकै सबैभन्दा बढी संख्यामा पर्यटक भित्रिएका छन् । 

Advertisement

Advertisement