काठमाडौं । पछिल्लो समयमा अमेरिकी एक फोटोग्राफरले खिचेको हिउँ चितुवाको तस्वीरको निकै चर्चा भइरहेको छ । तर नेपाली फोटोग्राफरले निकै कष्टका साथ पहिले नै खिचेको हिउँ चितुवाका तस्वीरहरुको चर्चामा आउन सकेको छैन् ।
अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रमा खिचेको हिउँ चितुवाको फोटो काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमा राखेपछि चर्चामा आएको हो । तर यसअघि नै नेपाली जंगली जनावरसम्वन्धी (वाइल्ड लाइफ) फोटोग्राफर चुङ्बा शेर्पाले यस्ता तस्वीर निकै खिचिसकेका छन् ।
नेपालीमा जंगली याक छैन् भन्ने भ्रम समेत तोड्दै हालै यस्ता जंगली याकको तस्वीरसमेत मन्त्रीसहित सरकारी निकायहरुमा बुझाएका उनले छ महिनाअघि नै हिमाली क्षेत्रमा लामो समय लगाएर हिउँ चितुवाका तस्वीरहरु खिचेर आफ्नो सामाजिक सञ्जालमा राखेका थिए ।
यसअघि नै नेपाली फोटोग्राफरहरुले हिउँ चितुवाको तस्वीर खिच्न सफल भएका तथ्य बाहिर आउन थालेपछि शेर्पा चर्चामा आउन लागेका छन् । नेपाली फोटोग्राफरले यसअघि हिउँ चितुवाको तस्वीर किन खिच्न सकेनन् ? भनी प्रश्न गर्नेहरुलाई यस तथ्यले जवाफ दिएको छ ।
त्यस्तै, वाइल्डलाइफ फोटोग्राफर तासिराज घलेले पनि १६ वर्षअघि हिउँ चितुवाको तस्वीर खिचेका थिए चुङ्बा शेर्पाले चार हजार छ सय मिटर उचाईमा मनाङ क्षेत्रमा १२ रात बिताएर हिउँ चितुवाका तस्वीर खिचेका थिए । दोस्रो पटक उनले अन्नपूर्ण संरक्षण क्षेत्रमा पनि यस्ता तस्वीर खिचेका थिए ।
घले र शेर्पाबाहेक वाइल्डलाइफ फोटोग्राफर स्नो मङ्कीले पनि हिउँ चितुवाको तस्वीरहरु २२ पल्ट खिचिसकेका छन् । यसबाहेक नेपालमा तासी राप्ते घले, ओम यादव, विशाल गौतम, सागर गिरी, दशरथ श्रेष्ठ, सुदीप केसी, उत्सवजंग थापा, पुरुषोत्तम पोखरेल, अगस्टसिंह लामा पनि नेपालका नाम चलेका वाइल्डलाइफ फोटोग्राफर हुन् ।