काठमाडौं । विश्वकै ठूलो पर्यटन मेला मानिने ‘वर्ल्ड टुरिजम मार्केट’ (डब्लुटीएम–२०२२) बेलायतमा सम्पन्न भएको छ । कोभिड—१९ को महामारीपछि आयोजना गरिएको यो मेलामा नेपालका सरकारी प्रतिनिधि र पर्यटन व्यवसायी सहभागी भए ।
नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीको नेतृत्वमा गएको टोलीमा विभिन्न २४ वटा पर्यटन कम्पनीका प्रतिनिधि सहभागी थिए । मेलामा नेपालको स्टलको उद्घाटन बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले कात्तिक २१ गते गरेका थिए ।
बोर्डका सीईओ रेग्मीले मेला उत्साहपूर्वक सम्पन्न भएको र यसले कोभिडपछिको नेपालको पर्यटन प्रर्वद्धनमा सकारात्मक भूमिका खेल्ने बताएका छन् । उनले कोभिडपछि विभिन्न खालका कार्यक्रममा नेपाल सहभागी भए पनि ‘वर्ल्ड टुरिजम मार्केट’ फरक रहेको दावी गरे ।
मेलामा विश्वभरका सबै प्रकारका पर्यटन आपूर्तिकर्ता र राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटन संगठन, पर्यटन मन्त्रालय, प्राधिकरण, ट्राभल एजेन्ट, टुर अपरेटर, होटल व्यवसायी, ट्राभल टेक कम्पनी, यातायात अपरेटर, एयरलाइन्स, साहसिक खेलकुद कम्पनी, ट्राभल इन्फ्लुएन्सर, ब्लगर, पर्यटन बजार परामर्शदाता, पर्यटन विज्ञले भाग लिएका थिए ।
मेलाका अवसरमा बेलायती पर्वतारोही क्रिस बोनिङटन र एलन हिङ्क्सले नेपालमा आफनो आरोहण तथा अनुभव स्मरण गर्दै बेलायती जनतालाई नेपाल भ्रमण गर्न आह्वान गरेका थिए ।