Advertisement

काठमाडौं । श्री गुरुङले आसन्न निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य पदमा काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । पर्यटन व्यवसायी गुरुङले आफ्नो नारा ‘पर्यटन नै समृद्धिको आधार, देशमा विकास र युवालाई रोजगार’ भन्ने बनाएका छन् ।  निर्वाचन आयोगबाट क्यामेरा चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका गुरुङ अहिले निकै चर्चामा पनि छन् । उनको निर्वाचन क्षेत्रमा दलका प्रतिनिधि र स्वतन्त्र गरी ३० जनाको उम्मेदवारी परेको छ । र, गुरुङ आफू विजयी हुनेमा निश्चिन्त छन् । गुरुङसँग कपोरेट नेपालकी फुर्पा शेर्पाले गरेको कुराकानीः

पर्यटन व्यवसाय गर्दा गर्दै राजनीति तिर जाने सोच कसरी आयो तपाईंलाई ? 
म पर्यटन व्यवसायी मात्रै होइन्,  पत्रकारितामा पनि पीएचडी गर्दै छु । पत्रकारितामा पनि राजनीति सम्बन्धी नै पीएचडी गर्न लागेको हो । ‘इन्फ्लूअन्स अफ ब्लग इन् पोलिटिक्स्’भने विषयमा अनुसन्धान गरिरहेको छु । मैले मास्टर र पीएचडी दुईमा राजनीतिलाई नजिकबाट हेरिरहेको थिए । पछिल्लो समय जुन राजनीतिक दलहरुप्रति वितृष्णा फैलिँदै पनि गएको छ र आशा पनि मर्दै गएको छ । पहिला सविधान बनोस्, त्यसपछि सबै कुरा राम्रो हुन्छ होला भन्ने सोचियो । त्यसरी नै आम जनताले आशा गरेका थिए । तर पाँच वर्ष पनि खेर गर्यो । संसदले हाम्रो भविष्य निर्धारण पनि गर्ने भएकाले त्यो ठाउँमा बुझेका र इमान्दार मानिसहरु जानुपर्छ भन्ने लाग्यो । यदि हामी जस्ता व्यक्तिहरुको संसदमा प्रतिनिधित्व नहुने हो भने देश आर्थिकरुपमा थप जरजर हुन्छ । हामीले जुन सुकै व्यवसाय गरे पनि देश डुब्नै लाग्यो भने त हाम्रो के नै महत्व रहयो र देशमा ? यसै कुराले गर्दा राजनीतिमा लाग्नुपर्ने स्थिति आएर उम्मेदवारी दिएको हो । 

Advertisement

तपाईं अहिले जुन व्यवसायमा हुनुहुन्छ, पर्यटन क्षेत्रमा, यसमा समस्या के के छन् ?
मैले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी दिएको नै देशको गरिबी र वेरोजगारी समस्यालाई देखेर हो । यो दुई कुरालाई समाधान गर्यों भने हाम्रो क्षेत्र पनि राम्रो हुन्छ । देश पनि विकास र जनताको जीवनस्तरमा सुधार आएको देख्न सकिन्छ । त्यस कारण मैले विकास र रोजगारीलाई प्रमुख मुद्दा बनाएर उम्मेदवारी दिएको । 

यदि तपाईंले चुनाव जित्नुभयो भने पर्यटन व्यवसायका लागि के–के गर्नु हुन्छ ?
निजी क्षेत्रहरुलाई र विदेशी लगालीकर्ताहरुलाई ल्याउने वातावरण सिजना गर्ने नीति निर्माण गर्न भूमिका खेल्छु । दबाब दिन्छु । उद्योग व्यवसाय सञ्चालनमा रहेको कठिनाईहरु हटाउन पहल गर्छु । पर्यटन क्षेत्रको कुरा गर्दा यस क्षेत्रको मुख्य कुरा भनेकै कसरी प्रवर्द्धन गर्ने ? र नेपाललाई विश्वको आकर्षक पर्यटकीय गन्तव्य बनाउने भन्ने हो । अहिले पर्यटन प्रवर्द्धन राम्रो तरिकाले हुन सकेको छैन् कि भने गुनासो पर्यटन व्यवसायीहरुको छ । म आफू पनि यति लामो समय अनुभव गर्दा पर्यटन प्रवर्द्धन प्रभावकारी हुन् नसकेको महशुस गरेको छु । प्राकृतिक रूपमा त हाम्रो देश जतिको धनी सायदै अरु देश होला । विश्कै अग्ला हिम श्रृंखला छन् । विश्कै प्रमुख धर्म बुद्ध धर्मका जन्मदाता यही जन्मनुभएको हो । हामीले यी दुई विषयलाई मात्र प्रवर्द्धन गर्न सक्यौ भने देश आर्थिकरूपमा समृद्ध बनाउन धेरै समय लाग्दैन । 

तपाईंले पर्यटन प्रवर्द्धनको मुद्दामा बढी जोड दिनुभएको छ । यस क्षेत्रबाट मात्रै देश विकास संभव छ र ? 
पर्यटन क्षेत्रमा मेरो लामो अनुभव छ । यो नै मेरो सबैभन्दा बलियो पक्ष हो । अर्को कुरा मेरो एजेन्डा र योजना देश र जनताको हितका लागि छ भन्ने मेरो बुझाइ हो । देशमा कति पर्यटक भित्रिंदा प्रत्यक्ष अप्रत्यक्ष रोजगारी सिर्जना कति हुन्छ ? भन्ने कुरा पनि हामीले बुझेका छौँ । पर्यटन क्षेत्रमा निकै कम लगानी गर्दा पनि प्रतिफल धेरै पाइने हाम्रो अनुभवले पनि बताएको छ । केही नीतिगत सुधार गर्ने बित्तिकै यो क्षेत्र निकै माथि पुग्छ । देशलाई यही क्षेत्रले समृद्ध बनाउन सक्छ । 

पर्यटक आगमनको संख्या दोब्बर बनाउन के गर्नु पर्ला ? के कस्ता नीति अपनाउनु पर्ला ?
नेपालमा पर्यटकहरु ल्याउनका लागि निजी क्षेत्र र अन्तर्राष्ट्रिय क्षेत्रले राम्रासँग भूमिका खेल्न अवसर जुटयो भने पर्यटक आगमन ह्वात्तै पढ्छ । निजी क्षेत्र र अन्तर्राष्ट्रिय क्षेत्रले नेपालमा पर्यटकहरु धेरैभन्दा धेरै ल्याउन सक्छ । सरकारले सहजीकरण गरिदिने मात्रै हो । सरकारले अन्तर्राष्ट्रियस्तरमा रहेका ठूला ठूला कम्पनीहरुलाई नेपालमा भित्राउने नीति ल्याउन सक्यो भने निजी क्षेत्र र अन्तर्राष्ट्रिय क्षेत्रले पर्यटकहरु ल्याइहाल्छन् । दुई–तीन मिलियन पर्यटक ल्याउन नेपाल जस्तो सम्भावना भएको देशलाई ठूलो कुरा नै होइन् । त्यस कारण पहिला नीति बनाउनुपर्यो । पर्यटकहरु नेपाल आउँदा उनीहरुको सुरक्षाको ग्यारेन्टी र सुविधाहरुको राम्रो व्यवस्था हुनुपर्यो । 

मतदाताहरुबाट के कस्तो किसिमको प्रतिक्रिया पाउनुभएको छ ? माहौला कस्तो छ ? 
देशको गरिबी र बेरोजगारी अन्त्य हुनुपर्यो, देशमा सुशासन हुनुपर्यो, विकास हुनुपर्यो, पूरानाले गरेनन्, तपाईंहरुले गर्नुपर्छ भन्ने छ । माहौला निकै राम्रो छ पछिल्लो समयमा ।   

Advertisement