एक सय ११ नेपाली स्वदेश फर्किए, मलेसियामा श्रमिकका लागि घुम्ती सेवा

Advertisement

काठमाडौं । पछिल्लो चार महिनामा मलेसियाको विभिन्न अध्यागमन सेन्टरमा रहेका एक सय ११ नेपाली स्वदेश फर्किएका छन् । अवैधरुपमा मलेसियामा रहेको बेला अध्यागमनको नियन्त्रणमा पुगेका उनीहरु क्वालालम्पुरस्थित नेपाली दूतावासको सहयोगमा नेपाल फर्कन सफल भएका हुन् ।

आज मात्रै मलेसियाको विभिन्न अध्यागमन सेन्टरमा रहेका ११ नेपाली स्वदेश फर्किएका छन् । उनीहरुलाई दूतावासको सहयोगमा क्वालालम्पुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याइएको थियो । गत साउनदेखि कात्तिक मसान्तसम्म मलेसियाका विभिन्न अध्यागमन सेन्टरमा रहेका एक सय ११ नेपाली राजदूतावासको सहयोगमा उद्धार भइ स्वदेश फर्किएको मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले जानकारी दिए ।  

Advertisement

सो अवधिमा मलेसियामा अवैधानिक भई बिरामी÷अलपत्र भएका ५२ नेपाली नागरिक स्वदेश फर्केको दूतावासले जनाएको छ । उनीहरुलाई दूतावासको सहयोगमा अध्यागमनसम्बन्धी आवश्यक प्रक्रिया सम्पन्न गरी नेपाल फर्काइएको हो । मलेसियाको अध्यागमनले नियन्त्रणमा लिएका नेपालीलाई दूतावासले समन्वय गरी स्वदेश फर्काउँदै आएको छ । 

मलेसियामा श्रमिकका लागि घुम्ती सेवा
मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले मलेसियाका विभिन्न सहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । नेपाली श्रमिक कार्यरत रहेको सहरमै दूतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको मलेसियाका लागि नेपाली राजदूत पौडेलले बताए ।

बुधबार क्वालालम्पुरबाट करिब चार घण्टाको दूरीमा रहेको जोहरवारुमा राजदूत पौडेलले अस्थायी घुम्ती सेवाको उद्घाटन गरे । गैरआवासीय नेपाली सङ्घलगायत नेपाली सङ्घ संस्थासँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरिएको हो । 

एक हजारभन्दा धैरे नेपाली उपस्थित भएको कार्यक्रममा दुई सय ८० जना श्रमिकले राहदानीसम्बन्धी सेवा लिएका थिए । घुम्ती सेवामा राहदानीसम्बन्धी सेवाका साथै दूतावासबाट प्रवाह गरिने विभिन्न सेवा प्रदान गरिएको नेपाली दूतावासले जनाएको छ । घुम्ती सेवा शुभारम्भ गर्दै राजदूत पौडेलले नेपाली श्रमिक कार्यरत कम्पनीको स्थलगत निरीक्षण, सेवा सुविधाबारे श्रमिकसँग अन्तरक्रिया तथा सम्बन्धित कम्पनी व्यवस्थापनसँग छलफलसमेत गरेका थिए ।  

सुरक्षागार्ड तथा सरसफाइसम्बन्धी कम्पनीमा कार्यरत नेपाली श्रमिकको गुनासो आएपछि उनले सम्बन्धित कम्पनी व्यवस्थापनसँग छलफल गरेका हुन् । विशेषतः सुरक्षागार्ड र सरसफाइसम्बन्धी श्रमिकको समस्या समाधानका लागि दुई देशबीच भएको श्रम सम्झौता २०१८ र मलेसियाको श्रम कानूनअनुसार व्यवस्थित गर्न लागिएको राजदूत पौडेलले बताए ।  

राजदूत पौडेलले नेपाली श्रमिक कार्यरत तथा नेपाली श्रमिक माग गर्ने कम्पनीका व्यवस्थानलाई दूतावासमा बोलाएरसमेत छलफल गर्दै आउनुभएको छ । मागपत्रमा प्रस्तुत गरेअनुसार आवास सुविधा, पारिश्रमिक र कार्यसमयलाई अक्षरशः पालना गरिने उनले बताए ।  

सुरक्षागार्ड र सरसफाइसम्बन्धी मागपत्र प्रमाणीकरणमा केही ढिला भए पनि दीर्घकालमा यसबाट श्रमिकको सम्मान तथा सेवा सुविधामा सहयोग पुग्ने उनले बताए । घुम्ती सेवा उद्घाटन कार्यक्रममा श्रम काउन्सिलर दीपक ढकाल, द्वितीय सचिव प्रेमबहादुर बुढथापालगायत दूतावासका कर्मचारी उपस्थित थिए । रासस

Advertisement

Advertisement