विदेशी मुद्रा सञ्चिति बढाउन बङ्गलादेशद्वारा विलासिताका सामान आयातमा रोक

Advertisement

ढाका । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले विदेशी मुद्राको घट्दो सञ्चितिलाई संरक्षण गर्न विलासी वस्तुको आयातमा रोक लगाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छिन् ।  

यद्यपि उनले थप अत्यावश्यक वस्तुआयात गर्नुपर्नेमा भने जोड दिइन् । बङ्गलादेशको राजधानी ढाकामा आइतबार भएको सचिवस्तरीय बैठकमा उनले सो निर्देशन दिएकी हुन् । 

Advertisement

बैठकपछि बङ्गलादेशी मन्त्रीपरिषद्का सचिव खान्दकर अनवारुल इस्लामले प्रधानमन्त्रीको निर्देशनबारे पत्रकारलाई जानकारी गराए ।  

प्रधानमन्त्री हसिनाले देशको वाणिज्य मन्त्रालयलाई ४० वटा विलासिताका सामानको आयातलाई निरुत्साहित गर्न र विदेशी मुद्रा बजारमा डलरको तरलता सुधार गर्न आयात शुल्क बढाउन आग्रह गरेकी थिइन् ।  

बङ्गलादेशको विदेशी मुद्रा सञ्चिति नोभेम्बर २३ मा ३४.१० अर्ब अमेरिकी डलर पुगेको छ, जुन नोभेम्बर १७ मा ३४.३० अर्ब अमेरिकी डलरबाट कम भएको बङ्गलादेश बैंक (बीबी) को पछिल्लो तथ्याङ्कले देखाएको छ ।

यस पृष्ठभूमिमा, बङ्गलादेशको केन्द्रीय बैंकले अमेरिकी डलरको तुलनामा बङ्गलादेशी मुद्रा टाकाको विनिमय दर परिवर्तन गर्ने विचार गरिरहेको छ । यसको अर्थ आर्थिक वर्षको अन्त्यसम्ममा अमेरिकी डलरको कारोबार विद्यमान एक अमेरिकी डलर बराबर ९८ टाकाबाट कारोबार १०० टाकामा पुग्नेछ ।

समष्टिगत आर्थिक स्थायित्वका लागि गम्भीर खतरा उत्पन्न हुने चुनौतीको सामना गर्न बङ्गलादेश सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लगायत विश्वका ऋणदाताहरुसँग ऋणका लागि सम्पर्क गरिसकेको छ ।

आइएमएफले बहुप्रतिक्षित ४.५ अर्ब अमेरिकी डलर को ऋण सहायता जारी गर्न मार्ग प्रशस्त गर्न बङ्गलादेशसँग कर्मचारीस्तरको सम्झौता भएको पुष्टि गरेको छ । 
 
प्रधानमन्त्री हसिनाले गत महिना बङ्गलादेशमा रहेका सबैलाई सम्भावित विश्वव्यापी अनिकाल वा खाद्य सङ्कटबाट देशलाई जोगाउन खाली सबै जमिनमा खेती गर्न र थप खाद्यान्न उत्पादन गर्न एकसाथ काम गर्न आग्रह गरेकी थिइन् । रासस÷सिन्ह्वा 

Advertisement

Advertisement