विश्वकप फुटबलः समूह ‘जी’ मा  ब्राजिल शीर्षस्थानमा

Advertisement

काठमाडौं । पोर्चुगलले उरुग्वे पराजित गर्दै  फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । कतारको लुसाइल स्टेडियममा आज बिहान सम्पन्न खेलमा उरुग्वेलाई २–० गोलअन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो । पोर्चुगलले समूह ‘एच’ बाट लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान  बनाएको हो ।

पोर्चुगलको  जितमा  ब्रुनो फर्नान्डेसले नायक बने । खेलको ५४औँ मिनेटमा बु्रण्नोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा  बु्रनोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २–० को जित दिलाए ।

Advertisement

उरुग्वेका जोसे जिमिनेजले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेपछि भीएआरमा पोर्चुगलले पेनाल्टीको अवसर पाएको थियो । पोर्चुगलले २ खेलमा छ अङ्क जोडेको छ  । पराजित उरुग्वेको १ अङ्क  छ ।

त्यसैगरी कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘जी’ मा  ब्राजिल नकआउट चरणमा पुगेका छ । कतारको स्टेडियमा ९७४ मा गए राति भएको खेलमा स्वीट्जरल्याण्डलाई १–० गोलअन्तरले हराउँदै ब्राजिल नकआउट चरणमा पुगेको हो ।

ब्राजिलको जितमा कासिमिरोले निर्णायक गोल गरे । उनले खेलको ८३औँ मिनेटमा गरेको एक गोल नै निर्णायक गोल सावित भयो । यस जितसँगै ब्राजिलले लगातार दोस्रो जित निकाल्दै खेलमा छ अङ्क जोडेको छ । समूह ‘जी’ मा  ब्राजिल शीर्षस्थानमा छ । स्वीट्जरल्याण्ड दुई खेलमा तीन अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।

घाना विजयी
यसैबीच कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एच’को खेलमा घाना दक्षिण कोरियालाई पराजित गर्दै विजयी भएको छ । 

कतारको एजुकेसन सिटी स्टेडियममा गएराति भएको खेलमा घाना दक्षिण कोरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । 

खेलको २४औँ मिनेटमा मोहमद सालिसुले गोल गर्दै घानालाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ३४औँ मिनेटमा घानाका अर्का खेलाडी मोहमद कुडुसले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए । 

कोरियाका लागि चो गी सुङ्गले दुई गोल गरे । उनले खेलको ५८औँ र ६१औँ मिनेटमा दुई गोल गरे । त्यस्तै खेलको ६८औँ मिनेटमा घानाका मोहमद कुडुसले व्यक्तिगत दोस्रो गोल गरे भने आफ्नो टोलीको जितसमेत सुनिश्चित गरे । 

यस जितसँगै समूह ‘एच’ मा रहेको घानाले तीन अङ्क जोडेको छ । यता हारसँगै दक्षिण कोरिया एक अङ्कका साथ समूहको पुछारमा रहेको छ । घाना पहिलो खेलमा पोर्चुगलसँग ३–२ को अन्तरले पराजित भएको थियो । दक्षिण कोरियाले भने उरुग्वेसँग गोलरहित बराबरी खेलेको थियो ।

Advertisement

Advertisement