देउवाले गोप्य ढंगले सरकार आलोपालो चलाउने निर्णय गरे कांग्रेसलाई मान्य हुँदैन्ः गगन

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफू सरकारमा सहभागी नहुने बताएका छन् । बुधवार संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवासँग पराजित भएपछि उनले आफ्नो प्रयास भने पार्टी संसदीय दलको नेता बन्न नै केन्द्रित हुने बताए । 

महामन्त्री थापाले पार्टीको महामन्त्री र सांसदको रुपमा आफू काम गर्ने पनि स्पष्ट पारे । उनले पार्टी संसदीय दलको नेता नयाँ पाउनुपर्छ भन्ने आफ्नो एजेण्डा रहेको र त्यसमा प्रयास जारी राख्ने बताए । 

Advertisement

थापाले संसदीय दलको निर्वाचनको परिणाम अपेक्षाकृत नरहेको उल्लेख गर्दै त्यसबाट आफू निराश नहुने पनि बताए । उनले भने, ‘म संसदीय दलको नेतामा प्रतिष्पर्धा गरेपछि पनि संसदीय दलको नेता हुनका लागि प्रयास गरिरहन्छु । त्यसकारण मेरो प्रयास त्यसकै लागि रहन्छ । सरकारका अरु साथीहरु जानुहुन्छ । नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्दै गर्दाखेरी अरु साथीहरु जानुहुन्छ, बस्नुहुन्छ । काम गर्नुहुन्छ । म महामन्त्री छु । महामन्त्रीको रुपमा म काम गर्छु । नेपाली काँग्रेसको सांसद हुँ । सांसदको रुपमा काम गर्छु ।’ 

थापाले थपे, ‘नेपाली काँग्रेसले संसदीय दलको नेता नयाँ पाउनुपर्छ भन्ने मैले ठानेको हो । ठानिराख्छु । त्यसको निम्ति प्रयत्न गरिराख्छु । त्यसबाहेक सरकारमा जाने, त्यहाँ भित्र गएर काम गर्ने भन्ने कुरा अहिलेका निम्ति मैले गर्नु हुँदैन । यसो गर्नु उपयुक्त हुँदैन । म त्यो गर्दिन । मेरा लागि यो अपेक्षाकृत परिणाम होइन । मैले यो भन्दा धेरै राम्रो हुन्छ भनेर सोचेको थिएँ । तर यसबाट म थाक्दा पनि थाक्दिन । म निराश पनि हुन्न । अरु थप मेहनत गर्छु ।’ 

उनले काँग्रेसको नेतृत्वमा सरकार गठन गर्ने बाटो खुला भएको समेत बताए । थापाले सरकारको आलापालोको कुरा र राष्ट्रपतिलगायतका पदहरुको बाँडफाँटको विषयमा पार्टी र संसदीय दलभित्र खुला छलफलका साथ निर्णय नभए आफूहरुलाई मान्य नहुने पनि स्पष्ट पारे । 

पार्टीको संसदीय दल र पार्टीको सम्बन्धित कमिटीमा निर्णय गरेर मात्रै सरकारको आलोपालो, राष्ट्रपति लगायतका पदहरुको बाँडफाँटको विषयलाई पारदर्शी ढंगले टुंग्याउनु पर्ने उल्लेख गर्दै थापाले त्यस्ता निर्णयलाई व्यक्तिगत तवरले अघि बढाए मान्न नसकिने चेतावनी दिए । 

उनले भने, ‘नेपाली काँग्रेस संसदको ठूलो पार्टी भएको र गठबन्धनको पनि पहिलो पार्टी भएको हुनाले आज संसदीय दलको निर्वाचनसँगसँगै अब हाम्रो नेतृत्वमा सरकार बनाउने कुरा औंपचारिक रुपमा प्रारम्भ हुन्छ नै । दुई वटा कुरा यस समयमा म प्रष्ट बनाउन चाहन्छु । एउटा कुरा नेपाली काँग्रेस संसदीय दलको नेताले नै यसको पहल गर्ने हो । नेपाली काँग्रेसले गर्ने कुनै पनि निर्णयहरु चाहे त्यो सरकारको आलोपालो होस्, चाहे त्यो राष्ट्रपतिको सन्दर्भमा होस् । ती कुनै पनि कुराहरु पारदर्शी भएनन् भने सम्बन्धित कमिटीहरु भित्र छलफल भएनन् भने ती निर्णयहरु व्यक्तिगत निर्णयको रुपमा दर्ज हुन्छ । त्यो कुरा म अहिले नै भनिराख्छु । नेपाली काँग्रेसले कुनै पनि अर्को पार्टीसँग सरकार चलाउने विषयको सन्दर्भमा आलापालो गर्ने भनेर कुनै पनि खालको समझदारी यदि गर्छ भने त्यो पार्टीसँग संस्थागत भएको छ भने नेपाली काँग्रेस पार्टीले त्यसलाई बोक्छ । तर होइन यो भन्दा अगाडिको समयमा जस्तै अध्यारो कोठामा आलोपालोको कुरा नेताहरु बसेर गर्नुहुन्छ भने त्यसलाई नेपाली काँग्रेसले बोक्दैन । र, भोलि नेपाली काँग्रेसले धोका दियो भनेर बोल्न पाउनुहुन्न कसैले पनि । संसदीय दलको नेताले नै निर्णय गर्ने हो । तर संसदीय दलको नेताले दलको बैठकमा प्रस्ताव गर्नु हुन्छ । हाम्रो संसदीय दल भित्र छलफल हुन्छ । पार्टीको सम्बन्धित कमिटी भित्र छलफल हुन्छ । आजको दिनमा नेपाली काँग्रेसले राष्ट्रपतिको पदलाई कसरी हेर्छ ? प्रधानमन्त्रीको विषयलाई कसरी हेर्छ ? सरकारमा आलोपालोको विषयलाई कसरी हेर्छ ? भन्ने कुराहरुलाई खुला, पारदर्शी भयो, कमिटीभित्र वैधानिक ढंगले हुनुपर्छ । मात्रै हामी त्यसमा बाँधिन्छौं । आजबाट नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन औंपचारिक रुपमा छलफल शुरु गर्नुपर्छ ।’

Advertisement

Advertisement