काठमाडौं । यती एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान शुरु गरेको बताएको छ । पुस १७ गतेबाट औपचारिक सञ्चालनको तयारी भइरहेको पोखरा विमानस्थलमा यतिले पनि उडानको तयारी गरेको हो ।
उडान भर्ने तयारी स्वरुप एअरलाइन्सले नयाँ विमानस्थलबाट उडान गर्न आवश्यक जनशक्ति तयारी गर्ने, तालिम दिने, भूमिस्थ उपकरण व्यवस्थापन गर्ने, विमानस्थलस्थित कार्यालय तयारी गर्ने जस्ता कामलाई तीब्रता दिएको छ ।
सोही तयारीका क्रममा भोलि (बिहीबार) बिहान पोखरा विमानस्थलमा आफ्ना प्रशिक्षक चालक दलले एटिआर– ७२ विमानमार्फत पहिलो पटक प्रदर्शन उडान गर्न लागेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिएका छन् ।
चालक दलका सदस्यहरुलाई नयाँ विमानस्थलमा अभ्यस्त गर्न र एअरलाइन्सको आन्तरिक तयारीका लागि उडान भर्न लागेको उनको भनाई छ । यसरी हुने उडानले चालक दलका सदस्यहरुलाई नयाँ विमानस्थलको वस्तुस्थितिबारे जानकारी हासिल गर्न सहज बर्तौलाको भनाई छ ।
काठमाडौंबाट पोखराका लागि यतीले दैनिक सात वटा उडान गर्दै आएको छ । अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसँगै नियमित उडानहरुको संख्या थप गर्ने र पोखराबाट अन्य विमानस्थलहरुमा क्षेत्रीय उडान गर्ने जनाइएको छ ।