मर्जरले गर्दा बोनस दर खस्किन लाग्योः जीवन बीमा कम्पनीहरु, प्राधिकरण भन्छ– व्यवसाय बढाउ

Advertisement

काठमाडौं । सरकारको दबाबपूर्ण नीतिपछि जीवन बीमा कम्पनीहरु मर्जरमा जाने क्रम बढिरहेको बेला कम्पनीहरुको बोनस दर खस्किने संकेत देखिएको छ । बोनस दर घट्ने देखिएपछि ती कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिन्तित देखिन थालेका छन् । 

मर्जरका कारण हाल कायम बोनस दर पनि घट्ने अवस्था आएको भन्दै उनीहरुले मर्जरभन्दा पनि मर्जरपछिको अवस्था आफूहरुको लागि टाउको दुखाईको विषय बनेको बताएका छन् । यता नेपाल बीमा प्राधिकरणले भने बोनस दर घट्ने कुराको चिन्ता लिनुभन्दा पनि व्यवसाय बढाउन सुझाव दिँदै व्यवसाय बढेपछि बोनस दरमा स्वतः सुधार कायम हुने बताएको छ । 

Advertisement

एक जीवन बीमा कम्पनीका सीईओले कर्पोरेट नेपालसँग भने, ‘मर्जरका लागि हामी पूर्ण रुपमा तयार भएको अवस्था हो । नियामक बीमा प्राधिकरणले पनि मर्जरमा जान जोड बल गर्दै केही सहजता बनाएको छ । प्राधिकरणले मर्जरलाई मात्रै ताकेका गरिरहेको बेला सबै जीवन बीमा कम्पनीहरुलाई बोनस दर घट्ने अवस्था आउँदा चिन्ता थपिएको छ । 

उनले जीवन बीमा उद्योगमा बोनस दर खस्कने अवस्था आएको स्वीकार गर्दै थपे, ‘बीमा कम्पनीहरुलाई मर्जर मात्रै ठूलो विषय नभई मर्जरपछिको व्यवसाय र बजारको स्थिति टाउको दुखाईको विषय बन्न थालेको छ ।’ मर्जरमा जाने कुरा एक हिसावले कारात्मक भए पनि कम्पनीहरुको नाफा घट्ने क्रम जारी रहेको बेला चुक्ता पुँजी डेढ सय प्रतिशतले बढाउँदा त्यसले बोनस दर र मुनाफा वितरणमा समेत असर परेको उनीहरुको भनाई छ । 

यता प्राधिकरणले भने बीमा कम्पनीहरुमा नयाँ व्यवसाय ल्याउने भन्दा पनि पूरानै व्यवसायको वरीपरी झुम्मिने प्रवृत्ति रहेको भन्दै एउटै रोटी धेरैले खान खोज्ने प्रवृत्ति सुधार्न सल्लाह दिँदै आएको छ । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले अहिले नै कम्पनीहरुले बोनस दर घटिहाल्छ भन्न नसकिने बताए । 

उनले भने, ‘मैले पनि व्यालेन्स सिट हेर्नुपर्छ । सीईओहरुले अनुमान गर्नु स्वाभाविक हो । तर भोलिका दिनमा बोनस दर नघटन पनि सक्छ । बोनस दर निर्धारण हुने नै कम्पनीहरुको कमाईको आधारमा हो । सीईओहरुले बोनस दर घटने बढ्ने कुरामा भन्दा पनि आफ्नो व्यवसायको आकार कसरी बढाउने ? भन्ने कुरामा ध्यान दिनुपर्छ ।’ बोनस दर घटे पनि त्यसको सबै दोष मर्जरलाई दिन नमिल्ने पौडेलको तर्क छ । 

तर, बीमा कम्पनीका सीईओहरुले पुँजी वृद्धिसँगै प्राधिकरणलाई बुझाउने नियमन शुल्कमा पनि वृद्धि हुने र बढ्दो महंगीको प्रभाव पनि बीमा क्षेत्रमा पर्ने बताउँदै देशको विषयम आर्थिक अवस्थाका बीच व्यवसाय गरिरहेका कम्पनीहरुका लागि प्राधिकरणले ‘लेवल प्लेयिङ फिल्ड’ बनाउन सहयोग गर्नुपर्ने थियो भन्छन् । प्राधिकरणले कम्पनीहरुबाट नियमन शुल्कबापत कुल कमाईको शुन्य दशकलव सात प्रतिशत रकम अशुल गर्ने गर्दछ । उक्त रकम अन्य मुलुकको तुलनामा निकै धेरै भएको कम्पनीहरुको गुनासो छ । 

ती सीईओले भने, ‘प्राधिकरणले हरेक वर्ष बीमा कम्पनीहरुको कुल कमाईको जुन नियमन शुल्क लिँदै आएको छ, उक्त रकममा अब वृद्धि हुनेछ । त्यसै त कम्पनीहरुको कमाई घटिरहेको बेलामा पुँजी वृद्धिअनुसार अझै घटेर जाने र कम्पनीहरु थप दबाबमा परेको अवस्था छ । यस्तो अवस्थामा बीमा क्षेत्रलाई अब्बल बनाउन र व्यवसाय वृद्धि गर्न नियामक निकायको समेत ठूलो हात हुन्छ ।’

बीमा व्यवसाय विस्तार सुस्त हुनुमा चेतनाको कमीलाई प्राधिकरणले प्रमुखरुपमा औंल्याउने गरे पनि कम्पनीहरु त्यतिलाई मात्रै कारण मान्दैनन् । बीमा व्यवसाय फस्टाउन नसक्नुमा प्राधिकरणले पुरानै प्रोडक्टलाई स्वीकृति दिनु, बीमा कम्पनीले दाबी भुक्तानी गर्न आनाकानी गर्नु, बीमाप्रति मानिसहरुको विकर्षण बढेर ‘सरेण्डर’ गर्नेहरुको संख्या बढ्नु, प्राधिकरणदेखि बीमा कम्पनीसम्म दक्ष जनशक्तिको कमी हुनु, पर्याप्त मात्रामा प्रविधिमैत्री हुन नसक्नु लगायतका कारण देखिन्छन् । 

Advertisement

Advertisement