जहाज दुर्घटनापछि पोखराका सबै उडान स्थगित, घट्नास्थलबाट शबहरु निकाल्ने क्रम जारी

Advertisement

काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आइतबार हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले आज भएको दुर्घटनापछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए । यती एयरलाइन्सले पनि आज आफ्नो जहाज दुर्घटना भएको र उक्त जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार रहेको पुष्टि गरेको छ । 

Advertisement

बिहान १०ः३२ बजे पोखराका लागि उडेको जहाज अवतरण गर्ने क्रममा दुघटना भएको थियो । उक्त जहाजमा चालक दलका चार जना र यात्रु ६८ जना थिए । जहाजमा वरिष्ठ क्याप्टेन कमल केसी, अञ्जु खतिवडा र एयर होस्टेस सिर्जना होङ्गचुन, ओसीन आले मगर थिए । यात्रुहरुको नाम भने यतीले सार्वजनिक गरेको छैन् । 

यात्रुहरुमध्ये ३७ जना पुरुष, २५ जना महिला, तीन जना बच्चा र तीन जना शिशु रहेका छन् । कुल यात्रुमध्ये ५३ जना नेपाली, पाँच जना भारतीय, चार जना रसियन, दुई जना कोरियन, एक जना अर्जेटेनी, एक जना आइरिस र एक जना फ्रान्सेली नागरिक रहेको यतीले जानकारी दिएको छ । 
 
विमान अन्तिम पटक अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग १०ः५० बजे सम्पकमा रहेको जनाउँदै कम्पनीले दुर्घटना स्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल, विमानस्थल स्थित रेस्क्यू एण्ड फाइर फाइटिङ् तथा नेपाली प्रहरीको टोलीले उद्दार गरिरहेको जानकारी दिएको छ । सेती नदीको खोँचमा खसेको जहाजमा आगलागी भएको थियो । 

नागरिक उड्डयन प्राधिकरणले घट्नास्थलबाट शबहरु निकाल्ने क्रम जारी रहेको र हालसम्म २९ को मृत्यु भएको पुष्टि गरेको छ । उनीहरुमध्ये १० जना महिना, १८ जना पुरुष र एक शिशु रहेको जानकारी दिएको प्राधिकरणले जानकारी दिएको छ । 

Advertisement

Advertisement