काठमाडौं । कोरोना महामारी र लकडाउनको मारपछि लयमा फर्किन खोजेको पर्यटन क्षेत्रलाई गत माघ १ मा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाले धक्का लागेको भन्दै पर्यटन व्यवसायीहरुले चिन्ता प्रकट गरेका छन् ।
विशेषगरी हिमाल आरोहण, हिमाली क्षेत्रको पदयात्रा र साहसिक खेलका लागि नेपाल आउने पर्यटकको संख्या बढेको बेला ठूलो जनधनको क्षति हुने गरी भएको विमान दुर्घटनाको घट्नाले पर्यटन क्षेत्र मात्रै नभएर मुलुकलाई नै स्तब्ध बनाएको थियो । व्यवसायीहरुले नेपालको हवाई सुरक्षालाई थप सुरक्षित बनाई विश्व बजारमा नकारात्मक सन्देश प्रवाह हुन नदिन सबै सरोकारवाला पक्षले भूमिका खेल्नु जरुरी रहेको बताउँछन् ।
रमेश थापा, अध्यक्ष, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)
यती विमानको जुन अकल्पनीय दुर्घटना भयो, त्यसले पर्यटन क्षेत्र सबैभन्दा बढी चोट लागेको छ । जुन मानवीय क्षति भयो, त्यसले सबैलाई दुखित पनि बनाएको छ । यस्तो अवस्था दोहोरिन नदिन विशेष सावधानी र सुरक्षा बिधि अपनाउन जरुरी छ । यतिबेला मार्च र अप्रिलको लागि बुकिङ र इन्क्वाइरीहरु राम्रै आइरहेको सुन्नमा आएको छ । यी महिनामा पहिला घटाइएका र रोकिएका उडानहरु पुनः सुचारु गरि सञ्चालनमा ल्याइन्छ भन्नेमा हामी विश्वस्त छौं । जुन अहिले एयरलायन्स कम्पनीहरुले उडानको फ्रिक्वेन्सी कम गरिरहेको छन्, उनीहरुले बढाएर जानैपर्छ । कनेक्टिभिटि बढ्ने बित्तिकै पर्यटकहरु नेपाल आउने क्रम बढ्ने छ । अहिले नेपाल आयल निगमले पनि इन्धनको मूल्य घटाउँदै गएको अवस्था छ । यस कुराले अलिकति सकारात्मक अवस्था बनेको छ । कोरोना महामारीले लामो समयसम्म वैदेशिक यात्रामा ननिस्किएका विदेशी पर्यटक पनि निस्किने छन् । त्यो हिसावले पर्यटक आगमनमा राम्रै सुधार आउने अपेक्षा गर्न सकिन्छ । चीनले पनि मे महिनादेखि सीमाना खोल्ने सुनिएको छ । नेपाललाई उसले प्राथमिकतामा राख्ने जनाउ दिएको छ । तिब्बत पनि खोल्यो भने कैलाश जाने पर्यटकहरु पनि बढ्ने छन् । धार्मिक यात्रामा जाने पर्यटकहरुको संख्यामा वृद्धि हुनेछ । चीनले केही देशहरु मात्र घुम्नका लागि आफ्ना जनतालाई खुल्ला गरेकोमा नेपाल भने परेको थिएन् । तर अब नेपाललाई पनि प्राथमिकता राख्ने देखिएको छ । त्यो भयो भने चिनियाँहरु पनि नेपालमा आउँछन् । उनीहरु आउँदा पर्यटकको संख्या अहिलेको अनुपातमा वृद्धि हुन्छ । अर्को कुरा तिब्बत पनि खोल्ने सम्भावना छ । तिब्बत खोल्यो भने कैलाश मानसरोबार जाने धार्मिक पर्यटकहरु जुन आउँछन, त्यसले पनि नेपालको पर्यटन क्षेत्रमा थप टेवा पुग्ने छ । यी विविध कारणले गर्दा नेपालमा पर्यटकहरु बढ्छ भन्ने मलाई लाग्छ ।
सिर्जना राणा, अध्यक्ष, होटल संघ नेपाल
विमान दुर्घटनाको घछ्नाले हामी सबैलाई दुृखित बनाए पनि अब यस्तो घट्ना नदोहोरियोस् भन्ने हामी सबैले कामना गरौं । पोखरामा माघ १ गते भएको जहाज दुर्घटनाले नराम्रो सन्देश गएको छ, विश्वमा । आन्तरिक उडानहरु यतिबेला आधा–आधा उडान गरिरहेका छन् । धेरै जसो आन्तरिक पर्यटकहरु जहाज चढेर नै यात्रा गर्थे । त्यो अहिले कम भएको छ । यो दुर्घटनाकै कारण हो । त्यस्तै, युक्रेन–रुस युद्धले गर्दा पनि विश्वमा समस्या देखा परेको छ । युरोपियन देशहरुमा आर्थिक संकटको स्थिति छ । यस्तो बेला पर्यटकहरु टाढाको गन्तव्यहरुमा यात्रा गर्दैनन् । नेपालमा चिनियाँ र भारतीय पर्यटक आए हामीलाई व्यवसाय गर्न पर्याप्त हुन्छ । अब चिनियाँ पर्यटकहरु आउला भनेको । त्यो पनि नआउने भइहाल्यो । भारतीय पर्यटकहरुमा जहाज दुर्घटनाले नकारात्मक सन्देश गएको छ । कोरोना महामारीको बेलामा जस्तो ठप्प चाहिं छैन् । सन् २०२३ मा के हुने हो ? २०२२ मा जस्तो राम्रो हुन्छ जस्तो लागेको छैन् । सरकारले सबैभन्दा पहिला योजना बनाउनुपर्छ । हामीले नेपालमा पर्यटकहरुलाई आउ भन्नका लागि हाम्रो तर्फबाट के छ मार्केटिङ गर्नको लागि ? एउटा योजना बनाउनु पर्यो । नेपालका गन्तव्यहरु कुन कुन हुन् ? के प्रवर्द्धन गर्ने ? विदेशबाट एक जना विशेषज्ञ ल्याएर अध्ययन गरेर नेपाललाई यसरी प्रवर्द्धन गरौं भनेर लाग्यो भने पर्यटन क्षेत्रको विकास हुनसक्छ ।
कोभिड महामारीपछि निकै प्रभावित भएको पर्यटन क्षेत्रमा नयाँ आशा र संभावनाहरु देखिन थालेका छन् । चीनको सिमाना खुल्छ कि भन्ने कुरामा हामी आशावादी छौं । थाइल्याण्डलाई पनि चिनियाँ पर्यटकहरु आफ्नो देशमा आउँछन् भन्ने आशा थियो । तर सोचेको जस्तो भएन् । जति हामीले सोचेका थियौं, चिनियाँ पर्यटकहरु नेपाल आउने र पर्यटन व्यवसाय राम्रो हुने... । तर, त्यस्तो भएन् । वसन्त ऋतु सुरु हुन लागेको छ । होटलहरुमा त्यस्तो उत्साहजनक बुकिङ छैन् । नराम्रो पनि छैन् । फाट्टफुट्ट बुकिङ आइरहेको छ । पर्यटन क्षेत्र पहिला जस्तो अवस्थामा फर्किएको छैन् । अझै पनि चुनौतीहरु धेरै छन् । नेपालमा मात्रै होइन, अरु मुलुकको पनि त्यस्तै छ समस्या । धेरै मुलुकले चिनियाँ पर्यटकहरु कुरेर बसेका थिए । त्यो चाहिं पूरा भएन् । हामीले सोचेको जस्तो आएन् । आउँदाको दिनको बुकिङ पनि त्यति राम्रो छैन् । विश्व अर्थतन्त्र अहिले एउटै हालतमा छ । त्यसैले मानिसहरु बढी पैसा खर्च गरेर टाढाको गन्तव्यमा आउने जाने प्रवृत्ति देखिँदैन् । हाम्रो सबैभन्दा महंगो हवाई टिकट नै हो । नेपालको सबै देशहरुमा सिधा उडान हुँर्दैन् । प्याकेजहरु झिक्न सक्दैनन् । त्यस कारण पर्यटकहरु आफ्नो देशका नजिकका गन्तव्यतिर बढी घुम्छन् । नेपालमा चिनियाँ व्यवसाय, युरोपियन व्यवसाय पनि छैन् । हामी अहिले निर्भर हुने भनेको नै आन्तरिक र भारतीय पर्यटकहरुमा हो । यसअघिको तथ्याङ्क हेर्दा भारतीय पर्यटक नै धेरै भित्रिएका थिए ।
जुन पूर्वपर्यटनमन्त्री जीवनराम श्रेष्ठले १० वर्षको योजना बनाउनु भएको थियो, एक वर्ष एक ठाउँमा, अर्को वर्ष अर्को ठाउँमा फोकस गरेर काम गर्ने, त्यो राम्रो योजना हो । जस्तै चितवन, लुम्बिनी लगायत विभिन्न जिल्लामा एक–एक वर्ष गरेर प्रवर्द्धन गर्न सके त्यो राम्रो हुन्छ । व्यवस्थित ढंगबाट एउटा गुरुयोजना बनाउने हो भने नेपालमा धेरै पर्यटकहरुको आगमन हुनसक्छ । चाहे मन्त्री, सचिव, नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत परिवर्तन होस्, त्यो योजना अनुसार सरकार र व्यवसायी लागिपर्यो भने नेपालको पर्यटन क्षेत्र राम्रो हुन्छ जस्तो लाग्छ । अहिले हामी छुट्टाछुट्टै काम गर्छौं । एउटै ठाउँमा बसेर यो योजना छ नेपालको लागि भनेर कहिल्यै पनि भनिएको छैन् । देशमा जे जस्तो समस्या भए पनि नेपाल राम्रो मुलुक हो । नेपालको पर्यटन क्षेत्र नै अर्थतन्त्रको मुल आधार हो । हाम्रो अर्थतन्त्रलाई टेवा दिने नै पर्यटन क्षेत्रले हो ।
निलहरि बास्तोला, अध्यक्ष, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)
आउँदो वन्सत ऋतुको लागि ठिकै मात्रामा बुकिङ आइरहेको छ । सोचेको जस्तो चाहिं छैन् । हिमाल आरोहणको लागि राम्रो बुकिङ र इन्क्वाइरी आइरहेको छ । टे«किङको लागि पनि ठिकै छ । जहाजको भाडा अलि महंगो भयो । रुस–युक्रेन युद्धले गर्दा पनि होला, पहिलाको जस्तो पर्यटकहरुको बुकिङ छैन् । तर ठिकै छ । पर्यटक धेरै भित्राउन सरकारले अल्ली पहल गर्नुपर्ने हो । अन्तर्राष्ट्रिय उडानहरु बढाउन पहल गर्नुपर्ने थियो । भएको छैन् । धेरै गन्तव्यमा उडान सुरु गर्न सरकारले पहल गर्यो भने केही परिवर्तन आउँछ ।
मणिराज लामिछाने, निर्देशक, नेपाल पर्यटन बोर्ड
यतीको जहाज दुर्घटनाले गर्दा पोखरातिर जाने विशेषगरी जहाजमार्फत जानेआउने यात्रुहरुमा कमी आएको सुनिन्छ आन्तरिक उडानहरु पनि घटेको छ । त्यसलाई रिभाइभ गर्न हामीले विभिन्न खालका योजना र कार्यक्रम गर्ने सोचेका छौं । एक दिन ट्राभल मार्ट आयोजना निकट भविष्यमा भन्ने पनि छ । पोखरा सुरक्षित छ भन्ने सन्देश दिने सोचका साथ योजना बनाउँदै छौं । भर्खरको जहाज दुर्घटनाले पर्यटक आगमनमा केही असर पर्छ भन्ने चिन्ता सबैमा देखिन्छ । हामीले २०२३ मा पर्यटन क्षेत्रलाई पूरानै लयमा फर्काउन सक्छौं भन्ने आशा थियो । त्यो हिसाबले कामहरु पनि अगाडी बढाइएको थियो । बजारीकरणका काम भइरहेको थियो । तर जहाज दुर्घटनापछि अब हेरौं के हुन्छ ? पर्यटन क्षेत्र सुधार हुने आशा भने छ ।
शिव अधिकारी, नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)
अहिले त्यस्तो चाखलाग्दो बुकिङ र इन्क्वाइरीहरु आएको थिएन् । पर्यटक बढ्छन् कि भन्ने आशा छ । तर सरकारले सरोकारवालाहरुसँग समन्वय गरेर काम नगरेको देख्दा खासै पर्यटक बढ्लान भन्ने लाग्दैन् । अहिले नयाँ पर्यटनमन्त्री आउनुभएको छ । उहाँले केही नयाँ ढंगले काम गर्नुहुन्छ कि ? हेरौं । लगानीकर्ताहरुसँग मिलेर काम गर्यो भने नेपालमा पर्यटक भित्रिने क्रम बढ्छ । सरकारले पहल गरेर विभिन्न देशहरुमा सिधा उडानहरु गर्न पाए र हवाई भाडा केही कम भयो भने पर्यटकहरुको संख्या बढ्छ । अहिले हवाई भाडा कोरोना महामारीमा भन्दा पनि बढी छ । बढी पैसा तिरेर पर्यटकहरु किन नेपाल आउँछन् र ? सरकारले पर्यटनसम्वद्ध संघसंस्थाहरुलाई भन्नुपर्यो कि यति लाख पर्यटक नेपाल भित्राउनु पर्यो, के के गर्यो भने भित्राउन सक्नुहुन्छ ? के के सहयोग गर्नुपर्छ ? भनेर । नेपालमा पर्यटक भित्राउन खासै गाह्रो होइन् । सरकारले नै उचित चासो नदेखाएर हो । जस्तै पर्यटन व्यवसायीहरुले पाँच लाख खर्च गरे भने कसरी आफ्नो खर्च उठाएर १५ लाख कमाउने ? भन्ने ध्यान हुन्छ । त्यसका लागि उनीहरु काम गर्छन् । पर्यटक धेरै आउँदा सरकारलाई विदेश मुद्रा पनि आउँछ । राजश्व पनि आउँछ । रोजगारी पनि बढ्छ । विदेशमा नेपालको कनेक्शन बढाउनु भनेको देशको आर्थिक अवस्थामा सुधार ल्याउन पनि ठूलो योगदान पुग्छ ।